नाम : रमानन्द आचार्य
पेशा : शिक्षण, अध्येता तथा संरक्षक
कर्णाली व्यक्तित्व नं. : ३
अहिलेका नयाँ पुस्तालाई थाहा नहुन सक्छ, कर्णालीमा बोलिने खस भाषापछि अहिलेको नेपाली भाषा बोल्न थालिएको हो । यो एक सत्य इतिहास सुरक्षित छ । जसको खोजीमा जुम्लाका रमानन्द आचार्यले झण्डै तीन दशक गुजारेका छन् ।
अहिलेको नयाँ पुस्ता नेपालीभन्दा अंग्रेजी बोल्न अब्बल छ । अंग्रेजीसँगै कोरियन, चाइनिज र जापानीज भाषा सिक्न पनि नयाँ पुस्ताका युवाहरु सहर बजारका कन्सल्टेन्सी कक्षा धाइरहेका छन् । तर कर्णाली तथा सुदूरपश्चिममा बोलिने खस भाषा नै नेपाली भाषाको मातृ भाषा थियो । जुन नेपाल एकिकरणपछि खस भाषालाई पन्छाएर राजा पृथ्वीनारायण शाहले नेपाली भाषालाई राष्ट्रियकरण गरे ।
उसो त राजाहरु पनि खस भाषा नै बोल्थे । खस भाषालाई सुधार गर्दै नेपाली भाषा बनाइएको हो । नेपाली भाषा राष्ट्रिय भाषा र बोलिचालीको भाषा भएपछि क्षेत्रीय र धेरै मातृ भाषाहरु लोप भएर गए । त्यसमध्येको एउटा सबैभन्दा महत्वपूर्ण भाषा हो, खस भाषा । संस्कृतिको सबैभन्दा महत्वपूर्ण कुरा भाषा, रहनसहन तथा चालचलन हो । त्यसकारण अहिले नेपाली भाषा नेपालभन्दा बढी विदेशमा रहेका नेपालीहरु बचाउ तथा संरक्षण अभियानमा लागिरहेका छन् ।

तर नेपाली भाषाको पनि मातृ भाषा खस भाषाको संरक्षणमा भने एकजना पात्र मात्रै दशकौदेखि लागिरहेका छन्, जसको नाम हो, रमानन्द आचार्य । जुम्ला सिँजाका आचार्य पेशाले शिक्षक हुन् । शिक्षक हुनुअघि उनले त्यो जमानामै पत्रकारिता गरेका थिए । जुन समयमा मुश्किलले कागज बन्थ्यो । अर्थात मूलधारको पत्रकारितासँगसँगै उनले जुम्लामा आफ्नै सम्पादकीय नेतृत्वमा पत्रिका प्रकाशन गरेका थिए । जसको विस्तृत अध्ययन तथा खोज मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक युवराज शर्माले गरिरहेका छन् ।
नेपाली खस भाषाका लिपीहरुको खोजी तथा खस भाषाको आफ्नै शब्दकोष निकाल्न लागिपरेका आचार्य कर्णाली प्रदेशको अस्तिवत्व जोगाउन लागिरहेका छन् । पुरै कर्णाली प्रदेश सरकारले समेत ध्यान दिन नसकेको र जहिले उपेक्षा गरिरहेको खस भाषाको शब्दकोषका लागि लिपी खोज्ने, शब्दहरुको संयोजन गर्ने र त्योबेलादेखि खस भाषाको उत्पति र प्रचलित शब्दावलीहरुको प्रयोगबारे उनले विस्तृतमा किताब नै निकालेर प्रकाशन गर्ने बताइरहेका छन् ।
उनले यसो भनेकै झण्डै आधा दशक बितिसकेको छ । तर पनि आर्थिक अभावका कारण त्यो पूरा हुन नपाएको गुनासो उनको देखिन्छ । तर पनि काठमाडौँमै सुविधासम्पन्न घरमा बसिरहेका उनी जीवनको उत्तरार्धमा कर्णालीकै सेवा र कर्णालीको अस्तित्व संरक्षण तथा बचाउमा लागिपरेका छन् । आज उनले गरिरहेको खोज, अध्ययन तथा संकलन धेरैका लागि बेवास्ताको विषय भएपनि एकदिन कर्णाली र त्यो बेलाको समयमा सबैभन्दा शक्तिशाली सिँजा राज्यको इतिहास उनले प्रकाशन गर्ने खस भाषाको शब्दकोषमा निर्भर रहन सक्छ । त्यसैले उनी कर्णालीका खास सम्पति, संरक्षक र आजीवन सल्लाहकार व्यक्तित्व हुन् ।