काठमाडौँ : ‘कर्णाली हिरो’ विजेता भोलि घोषणा गरिने भएको छ । दोभान मल्टिमिडियाद्धारा सञ्चालित कर्णालीखबरले ‘सेलेक्टिभ सोसियो लिडरशिप भोटिङ’मार्फत कर्णाली हिरो विजेता घोषणा गर्न लागेको हो ।
यसअघि असोज १९ गते गर्ने भनिएको विजेताको घोषणा देशमा उत्पन्न जेनजी आन्दोलन तथा प्राकृतिक विपद्ले पारेको असरका कारण दुई हप्ता पर सारिएको थियो । विजेता घोषणाका लागि सबै तयारी सम्पन्न भएपछि असोज ३१ गते पहिलोपटक कर्णाली हिरो विजेता घोषणा गर्न लागिएको हो ।
भोटिङमा कर्णाली प्रदेशका पत्रकार, व्यवसायी, सामाजिक अभियान्ता, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, शिक्षाकर्मी, स्वास्थ्यकर्मी, विद्यार्थी, स्थानीय सरकार प्रमुख, विभिन्न क्षेत्रका प्रतिनिधिमूलक नागरिक, लेखक, साहित्यकार र कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने विदेशमा बस्ने नेपालीहरु सहभागी छन् ।
गोपनियतालाई प्रमुख प्राथमिकता दिएर संकलन गरिएको भोटमा कर्णाली प्रदेशका सबै क्षेत्रमा सक्रिय व्यक्तित्वहरुलाई समेटिएको छ । कर्णाली प्रदेशसभा, कर्णाली प्रदेश सरकार र संघीय संसद्मा प्रतिनिधित्व गर्ने व्यक्तित्व पनि भोटिङमा सहभागी गराइएको थियो ।
भोट संकलन गर्ने क्रममा हामीले ‘तपाई कर्णाली हिरोमा मनोनित १० जनामध्ये कसलाई कर्णाली हिरो विजेता बनेको देख्न चाहनुहुन्छ र किन’ भन्ने प्रश्न सोधेका थियौँ । उनीहरुले आफ्नो मतसँगै विचार पनि हामीसँग बाँडेका छन् ।
उनीहरुको लिखित मत, कारणसहितको विचार र विजेता छान्नुको मुख्य कारण सुरक्षित राखिएको छ । पहिलोपटक छनौट गरिएको कर्णाली १०० सूचिबाट आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान दिइरहेका हिक्मत वादी, सुरज पण्डित, नारायण सिग्देल, सुनमाया बुढा, डा.नवराज केसी, गोविन्दबहादुर सिंह, सिर्जना सिज्जु, भद्र सार्की, पवित्रा शाही र चक्र चन्द कर्णाली हिरोका लागि मनोनित भएका थिए ।
कर्णाली हिरोको विजेताको घोषणा अफिसियल पेज कर्णाली हिरोमार्फत सार्वजनिक गरिनेछ । विजेतालाई एक लाख रुपैयाँ नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिनेछ ।