डर थियो । कहर थियो । तर अहिले पनि रहर छैन । यो आम नेपाली विद्यार्थीको बाध्यता हो । जसलाई आमाबुवाले डर देखाए । कहर गरेर स्कूल पठाइरहेका छन् । उनीहरुको रहर मारेर आमाबुवा हरेक सन्तानलाई स्कूल पठाइरहेका छन् ।
स्कूल जान नमान्ने सन्तानलाई घरमा आमाबुवाले पिट्छन् । स्कूल गएर पनि नपढ्ने र घोक्न नसक्नेलाई शिक्षकले पिट्छन् । विद्यार्थीलाई किताबको भारी मात्रै बोकाइएको छैन, जबर्जस्ती डर र कहरको बाध्यता पनि भिराइएको छैन ।
यदि स्कूल नजाने, जान नमान्ने र उच्च शिक्षा पढ्ने जाँगर नचलाउने विद्यार्थीलाई घरमा आमाबुवा हुन् वा स्कूलमा शिक्षक मुखै फोरेर भनिदिन्छन्, ‘राम्रोसँग नपढे जीन्दगी हलो जोत्नुपर्ला ।’ नेपालको सबैभन्दा ठूलो आम्दानी र जिविकोपार्जनको पेशा भनेकै कृषि थियो । तर शिक्षा भनौँ वा शिक्षककै कारण कृषि पेशा अपहेलनाको विषयवस्तु बन्यो । जसकारण आज हजारौँ युवा र विद्यार्थी गाउँघर होइन, देशै छाडेर विदेशिएका छन् ।
युवा र विद्यार्थीको सबैभन्दा ऊर्जावान समय घर, परिवार र स्कूलमा डरै देखाएर खेर फाल्न लगाइएको छ । तर सुर्खेत बड्डीचौरका शिक्षक नारायण सिग्देलले भने यस्ता सबै किसीमका डर, त्रास र समस्या विद्यार्थीको मनबाटै हटाउँदै गएका छन् ।
कृषिप्रति आकर्षण बढाएका छन् । स्कूलमै तरकारी फलाउने, धान रोप्ने, विरुवा सार्नेदेखि पशुपालन गर्न सिकाएका छन् । इच्छाशक्ति भएकालाई सीप दिएका छन् । शिक्षामा रोजगारी मिसाएका छन् । विद्यार्थीलाई डर होइन, रहर थपेका छन् । किनकी आजको दिनमा सबै विद्यार्थी र अभिभावकको घरमा पैँसाको महत्व र आवश्यकता बढ्दो छ । पैँसा अनिवार्य बनेको छ ।
हो, त्यही कुरा उनले विद्यार्थीलाई सिकाएका छन् । पढाएका छन् । सक्नेलाई प्रोत्साहन गरेका छन्, नसक्नेलाई स्कूलबाटै सीप, शिक्षा र आवश्यक रकम जोहो गरेर पनि आत्मनिर्भर बनाएका छन् ।
उनले आफ्नै स्कूल जनज्योति माविबाट सुरु गरेको यो कार्यक्रम अहिले देशैभर फैलिएको छन । ‘पढ्दै कमाउँदै’ कार्यक्रम लोकप्रिय बनेको छ । सरकारले अपनत्व लिएको छ । तर अझै प्रभावकारी बन्न बाँकी छ ।
कर्णालीलाई गरिबीको चंगुलबाट निकाल्न सक्ने ल्याकत छ, नारायण सरसँग । सरकारका मन्त्रीहरुलाई गफ होइन, काम र कर्म सिकाउने क्षमता छ, नारायण सरसँग । कर्णालीको असली क्षमता र त्यसको कार्यान्वयन पक्षबारे जानकार छन्, उनी । तर पनि कर्णाली प्रदेश सरकारको बेवास्ता छन् ।
त्यही भएर उनले सिंहदरबार धाई धाई संघीय सरकारबाटै ‘पढ्दै कमाउँदै’ कार्यक्रम देशभर लागू गराउन सफल भएका छन् । उनी यसअघि विभिन्न सरकारी सम्मान र वर्ष व्यक्ति पुरस्कारबाट सम्मानित भइसकेका छन् ।
उनलाई अहिले पनि सम्मानको कमी छैन, तर उनको सीप, क्षमता, नेतृत्व शैली र खास कर्णालीको नक्सा र आधुनिक सीपयुक्त कर्णाली बनाउने सपनासँग ठूलो चिन्ता छ । किनकी यसबारे स्थानीय सरकारहरु सचेत भएपनि प्रदेश र संघीय सरकार भने बेपर्वाह छन् ।
यदि उनको योजना सुन्ने, उनको सोचाईअनुसार काम गर्ने हो भने कुनै पनि सरकारलाई देश विकास गर्न ठूलो रकम र पुँजीको आवश्यकता पर्दैन । केवल इच्छाशक्ति र भएको स्रोतसाधनको प्रयोग गरे हुन्छ । तर त्यसका लागि हाम्रा सरकार र जनताका प्रतिनिधि कहिले तयार होलान् ? चिन्ताका विषय छ । यद्यपी उनको चाँसो, चिन्ता, जनचाँसो र रचनात्मक गतिविधि भने सँधै सक्रिय भइरहेकै छ ।
सम्भवतः उनलाई सुन्ने, चिन्ने र पढ्ने हरेक विद्यार्थीले उनको मात्रै होइन, नेपालकै एक अनिवार्य काम अर्थात स्कूलबाट आत्मनिर्भर बन्ने सपनालाई यतार्थमा परिणत गरिरहेकै छ । जुन दिन विद्यार्थी स्कूलबाट निस्केर काम खोज्ने होइन कि स्कूलबाटै आत्मनिर्भर बनेर घर फर्किने वातावरण बनिसक्दैन, त्यहाँसम्म देश विकास हुने कल्पना केवल कल्पनामै सीमित हुन्छ ।
त्यसैले नारायण सर, आज हरेक विद्यार्थी, हरेक अभिभावक र देशका हरेक नागरिकका लागि एक अनिवार्य शिक्षक र स्कूलबाटै आत्मनिर्भर बनाउन सक्ने सबैभन्दा ठूला शिक्षक हुन् । प्रेरणा हुन् ।
[सम्पादकीय नोट : शिक्षक नारायण सिग्देल दोभान मल्टिमिडियाद्धारा सञ्चालित कर्णालीखबरले पहिलोपटक प्रकाशित गरेको ‘कर्णाली १००’ सूचिबाट उत्कृष्ट १० जनाको सूचि ‘कर्णाली हिरो’मा मनोनित व्यक्तित्व हुन् । कर्णाली हिरोका अन्य मनोनित व्यक्तित्व हामी बिस्तारै प्रकाशित गर्दै जानेछौँ । कर्णालीका विभिन्न क्षेत्र तथा संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको भोटिङ प्रमाणीमार्फत एक जना कर्णाली हिरो विजेता घोषणा गर्नेछौँ । आगामी असोज १९ गते घोषणा हुने विजेताले एक लाख रुपैयाँ पुरस्कार र सम्मानपत्र प्राप्त गर्नेछन् ।]