अक्सर उनलाई चिन्नेहरु त्यस्तो वास्ता गर्दैनन् । भेट्नेहरु औपचारिकता पूरा गर्न बाहेक सम्मान दर्शाउँदैनन् । महिला र बालबालिकाका मुद्दामा लडिरहेका सहकर्मी, साथीहरु र संघ संस्थाका प्रमुख तथा प्रतिनिधिबाहेक अरुले खासै रुचाउँदैनन् ।
किनकी उनको नजिक जान मान्छेहरु डराउँछन् । बोल्नैपर्ने विषयबाहेक बोल्न नपरे हुन्थ्यो भन्ठान्छन् । सरकारी हुन् वा सामाजिक प्रतिनिधि, विषयवस्तुबाहेक कुराहरु कोट्याउन चाहँदैनन् । यदि कुनै मै हुँ भन्ने मान्छेले पनि महिला र बालबालिकाका विषयमा अनावश्यक र आत्सम्मानकै ख्याल नगरि टिप्पणी गरिहाले भने आएकै अनुहार लिएर फर्किन सक्दैनन् । फर्किहाले भनेपनि फेरि मुख देखाउन सक्दैनन् ।
उनलाई धेरै कुरा मन पर्दैनन् । कुरा मात्रै होइनन, मान्छेहरु पनि मन पर्दैनन् । जसको पहिलो नम्बरमा छन्, महिलामाथि हिंसा गर्ने पुरुषहरु । जो कर्णालीका हरेक घरमा छन् । अचेल प्राय मानिसहरु आफ्ना निजी वा मनोमानी कुराहरु युट्युबर, मिडियासम्म नपुगोस् भन्छन् ।
त्यतिबेला कर्णालीका धेरैजसो पुरुषहरु आफ्नो घरभित्रको झगडा, समस्या वा श्रीमान्–श्रीमतिको लडाइ ‘आवाज’ संस्थासम्म नपुगोस् भन्ने कामना गर्थे । पुगिहाले पनि मुख्य हाकिम पवित्रा शाहीसम्म पुग्न वा उनको झाँको खान नपाए हुन्थ्यो भनेर मनमनै कामना गर्थे ।
किनकी उनी आगो हुन्, आगो । अन्यायविरुद्धको आगो । महिला र बालबालिकामाथि हुने हरेक हिंसाको आगो । जसले एकपटक छोयो वा भेट्यो भने मान्छेलाई पुरानै स्वरुपमा फर्किन असम्भव हुन्छ । कर्णालीमा पवित्रा शाही त्यो आगो हो, जसले हरेक महिला र बालबालिकामाथि हिंसा र अन्याय गर्ने पुरुषहरुमाथि बल्थ्यो, जल्थ्यो र सखाप पाथ्र्यो ।
नेपालमा मात्रै होइन, विश्वमै महिलाहरुमाथि सदियौँदेखि अन्याय भइरहेको छ । नेपालमा त्यसको स्वरुप यति भयानक छ, कि शब्दमा उतार्न कठिन हुन्छ । श्रीमानबाट मारिएका, कुटपिटमा परेका, एसिड छ्यापिएका र सामूहिक बलात्कारमा परेका महिलाहरुको अवस्था केवल प्रतिनिधिमूलक घटना मात्रै हुन् ।
किनकी महिलाहरुका लागि सबै पुरुष जीवनसाथी हुन सकिरहेका हुँदैनन् । कोही त सुन्दर जीवनको सपना देखाएर मृत्यु अंगालिरहेका हुन्छन् । अति नै भएपछि मात्रै महिलाहरु घरबाट बाहिर निस्कन्छन् । न्यायका लागि हारगुहार गर्छन् । तर पनि न्याय पाउन सकिरहेका हुँदैनन् ।
हो, त्यस्ता महिलाका लागि पवित्रा शाही आगो निभाउने पानी हुन् । घाउ निको पार्ने मल्हम हुन् । अन्धकारमा धकेलिएको जीवनमा उज्यालो दिने प्रकाश हुन् । श्रीमान वा घरपरिवारबाट पाएको पीडाले छटपटाएकी महिलाका लागि सबथोक सकियो भन्नेका लागि आशा हुन् । भरोसा हुन् ।
धेरैथोक गुमाउँदा बचेको जीवनका लागि साहस हुन् । ऊर्जा हुन् । अपेक्षा हुन् । मन कमजोर भएकाहरुका लागि आड हुन् । ढाडस हुन् । माथि भनिएझैँ उनलाई त्यही भएर धेरै कुरा मन पर्दैनन् । पुरुषभित्रको हिंसा र पितृसत्तात्मक सोच झनै मन पर्दैन ।
तर उनलाई महिला साथीहरु मन पर्छन् । पीडामा परेका महिलाहरु झन् मन पर्छ । घर परिवारबाट बहिष्कारमा परेका महिलाहरुका लागि उनी सबथोक बन्छिन् । आशा, भरोसा र नयाँ संसार । कर्णालीमा वर्षौदेखि वर्षौसम्म पनि पीडा, हिंसा र अन्यायमा परेका महिलाहरुका लागि जीवन थामिदिने भरोसा हुन्, पवित्रा शाही ।
आवाज संस्था स्थापना भएदेखि अहिलेसम्म पनि उनले महिलाहरुको शक्तिशाली आवाज बनेर अन्यायविरुद्ध आगो ओकल्ने महिला अभियान्ताका रुपमा आफ्नो परिचय बनाएकी छन् । मिठो शब्द नबोले पनि हुन्छ, तर महिलाहरुमाथि कहिल्यै नमिठो व्यवहार हुनुहुन्न भन्ने भावना बोकेकी अभियान्ता हुन् ।
दैलेखको भुर्ती गाउँमा २०२८ सालमा जन्मेर कर्णालीमा संघर्ष, सपना र महिलाहरुको न्यायका लागि आफ्नो जीवन समर्पित गरेकी पवित्रा शाही सुर्खेतमा स्थापित आवाज संस्थाकी कार्यकारी निर्देशक हुन् । जसले महिला र बालबालिकाको अधिकारका लागि लडाई लडेको २५ औँ वर्ष पार गरेको छ ।
उनले कर्णालीमा महिलामाथि हुने अन्याय, अत्याचार, असमानताविरुद्ध जुन लडाइ लडेकी छन्, त्यसले कुन दिन जित पाउँछ, थाहा छैन । तर अहिलेसम्म जति महिलाहरुका लागि लडेर न्याय दिलाएकी छन्, त्यसले उनलाई कहिल्यै हराएको छैन । सम्भवतः महिलाहरुका लागि सबैभन्दा ठूलो आवाज, आभास र आँट हुन् पवित्रा शाही । जसको उचाई छुन, कर्णालीमा अन्य महिला तथा अभियान्ताका लागि अबको विश्वयुद्ध पनि कमजोर लाग्न सक्छ ।
उनको यो आवाजको कथा, विरताको कथा, विद्रोह र बेहिसाबको कथा जसरी लेखिएको छ, त्यो कर्णालीमा महिलाहरुको विगत, वर्तमान र भविष्यको सुन्दर दस्तावेज हो । जसलाई सरकारले सजाउन त सकेको छैन, तर कम्तीमा कर्णालीले बचाउन जरुरी छ ।