कर्णालीमा के-के पाइन्छ ? सजिलो उत्तर आउन सक्छ, यार्सागुम्बा । मार्सी चामल । यति मात्रै हो ? होइन । यी सबै कुरालाई बिर्साउने एउटा उत्पादन छ, जसले वर्षौदेखि कर्णालीलाई काठमाडौँसँग जोडिरहेको थियो, त्यो हो, साबर जुत्ता ।
आज पनि धेरैको बुझाईमा नेपालको आफ्नै जुत्ता ब्राण्ड ‘गोल्डस्टार’ मात्रै हो । होइन, गोल्डस्टार आउनुअघि नै दैलेखमा एउटा सार्की समुदायले वर्षौदेखि ‘सावर जुत्ता’ उत्पादन गरिरहेको थियो, छ ।
जसलाई दैलेखबाट काठमाडौँ गएर सिंहदरबार वा बालुवाटार पुगेरै देशका प्रमुख कार्यकारी अर्थात प्रधानमन्त्रीलाई उपहार दिइन्थ्यो । सावर जुत्तालाई ब्राण्ड बनाएको पनि त्यही प्रवर्द्धन उपायले हो । यद्यपी गोल्डस्टार जुत्तालाई तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वले चर्चामा ल्यायो ।
देशका प्रमुख कार्यकारी तथा भीभीआईपीले लगाउने सावर जूत्ता बनाउने दैलेखका सार्की समुदायका पछिल्लो पुस्ताका व्यक्ति हुन्, भद्रबहादुर सार्की । जसले आफ्नै बाबु बाजेको सीपलाई निरन्तरता दिँदै आधुनिक समयमा पनि कर्णालीको एक उत्कृष्ट उत्पादन बनाइरहे ।
आफ्नै हातले निर्माण गरेको सावर जुत्ताले देशका प्रधानमन्त्री, राष्ट्रपतिको गरिमा बढ्यो । खुट्टामा स्वदेशी उत्पादनको शान लाग्यो । यसैमा दैलेखी सार्की समुदायको खुशी थपिरह्यो । सावर जुत्ताको उत्पादन बढिरह्यो । सन्तुष्टि अडिरह्यो । राजतन्त्रदेखि गणतन्त्रसम्म पनि सार्की समुदायले यसलाई निरन्तरता दिइरहेको थियो ।
तर समय बित्दै जाँदा जुत्ता निर्माणका लागि आवश्यक कच्चा पदार्थ अभाव हुन थाल्यो । गाउँघरमा गाई, गोरु, भैँसी पालन घट्यो । वन जंगलमा मृग, रत्तुवा लगायत वन्यजन्तु लोपोन्मुख हुन पुगे । त्यसमाथि आधुनिक प्रविधि र विदेशी ब्राण्डको स्वदेशी आयातले धेरैजसो नेपाली रैथाने उत्पादनलाई निरुत्साहित गरिदियो । यसको असर दैलेखी सावर जुत्तामा पनि परेको हो ।
फलस्वरुप, हिजो जुन शान, दैलेखी सावर जुत्ताको थियो । त्यो रहेन । अस्तित्व बाँकी छ । इतिहास बन्न सक्ने जोखिम छ । नेपाली समाजमा जातीय विभेदको सबैभन्दा पीँधमा रहेको सार्की समुदायमा भद्र सार्की परिवारले जुन उत्पादन देशलाई दियो । जुन उत्पादनले कर्णाली र दैलेख चिनायो । त्यो अमुल्य छ ।
बाहिरका सामान ल्याएर कर्णालीमा बेचेर धेरै व्यापारीले पैँसा कमाए । घर बनाए । छोराछोरी महंगा बोर्डिङ स्कूलमा पढाए । सम्पति बढाए । तर कर्णालीको शान, कर्णालीको पहिचान त्यसले कहिल्यै दिन सकेन । अझै वर्षौवर्ष दिन सक्दैन ।
त्यसैले आज कर्णालीका हजारौँ व्यापारी तथा व्यवसायीहरुमा भद्र सार्की त्यो नाम हो, अर्थात त्यो हिरा हो, जसलाई कर्णाली प्रदेश सरकारले कहिल्यै किन्न सक्ने छैन । कहिल्यै बेच्न सक्ने छैन । कहिल्यै त्यो उत्पादन अरु कुनै व्यापारी वा करोडौँ पैँसा हालेर बनाउन सक्ने छैन ।
सावर जुत्ताको उत्पादन र व्यवसायीकरण गरेर दैलेखका भद्र सार्कीको घर, परिवार र समुदायले जुन पहिचान बनाएको छ, त्यो नाम स्वर्णिम अक्षरले लेखिन जरुरी छ । उनको इतिहास, गौरव र योगदान कर्णालीमा सुरक्षित राख्न आवश्यक छ । अरुले होइन, भोलिका दिनमा कर्णालीका हरेक पुस्ताले जुत्ता लगाइरहँदा दैलेखको सावर जुत्ताको सम्झना गर्न अतिआवश्यक छ ।