काठमाडौँ : कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलको पद संकटमा परेको छ । नेपाली कांग्रेसले आलोपालो सहमतिको पालना गर्नुपर्ने भन्दै आफ्नो पार्टीबाट आगामी कार्यकालका लागि मुख्यमन्त्री पद माग गरेपछि कँडेलको पद संकटमा परेको हो ।
जेन्जी आन्दोलनलगत्तै कांग्रेसले पूर्वमाओवादीसँग मिलेर कँडेल नेतृत्वको कर्णाली प्रदेश सरकार फेर्न चाहेको थियो । तर त्यतिबेला देशैभरी युवा आन्दोलन, जेन्जीको मर्म र सत्ता फेर्दा राम्रो सन्देश जान नसक्ने भन्दै कांग्रेस हच्किएको थियो ।
तर जेन्जी आन्दोलनकै बेला विशेष महाधिवेशन गरेर कांग्रेस नेतृत्व हत्याएको सभापति गगन थापा समूहले कर्णाली प्रदेश भेला गरेर औपचारिक रुपमा कार्यकर्ताको माग सम्बोधन गर्न कर्णालीमा मुख्यमन्त्री फेर्न अगाडि सरेको हो ।
यद्यपी यस विषयमा कांग्रेसभित्रै कर्नरमा परेका र लगभग नेतृत्वबाट च्युत भएका पूर्वउपसभापति पूर्णबहादुर खड्का नेतृत्वको समूह भने स्पष्ट छैन । कर्णालीमा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही नै सत्ता फेर्न अग्रसर रहेकाले उनले पूर्णबहादुर खड्का समूहलाई विश्वासमा लिने अपेक्षा छ ।
कर्णालीमा मुख्यमन्त्री फेर्न उपसभापति विश्वप्रकाश शर्मा नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्तामा अघि बढेका छन् । उनी मंगलबार गुण्डु पुगेर एमाले अध्यक्ष ओलीसँग वार्ता गर्दै कर्णालीको सरकार फेर्न पूर्वसहमतिको कुरा उप्काएका हुन् ।
यसबारेमा उपसभापति शर्माले नै सञ्चारकर्मीलाई जानकारी दिएका छन् । जवाफमा ओलीले के भने भन्ने कुरा स्पष्ट छैन । एमालेभित्र आफ्नै पद धरापमा परेको र युवाहरुले आफ्नो राजीनामाको माग चर्काएका बेला ओली कुनै पनि प्रदेशका सरकारलाई थेग्न सक्ने अवस्थामा छैनन् ।
त्यही बेला पूर्वसहमतिअनुसार आलोपालो रुपमा सरकार चलाउने कुरा कांग्रेसबाट आएपछि उनी दबाबमा छन् । त्यसमाथि कर्णालीमा ओली र यामलाल कँडेलको सम्बन्ध सुमधुर छैन । पछिल्लो समय एमाले सचिव भएपछि मुख्यमन्त्री कँडेलले अध्यक्ष ओलीसँग सम्बन्ध केही रुपमा सुधारेका थिए ।
त्यो पनि जेन्जी आन्दोलनको चेपुरामा परेपछि कर्णालीमा यामलालको राजनीतिक भविष्य पनि संकुचित छ । यदि केन्द्रमा ओलीले राजीनामा दिनु पर्ने अवस्था आएपछि सबै प्रद्ेशमा अहिले रहेको एमाले नेतृत्व फेरिने वा नेतृत्वमा युवाहरुको दबाबमूलक हस्तक्षेप हुन सक्छ । त्यसले यामलालको राजनीति कर्णाली प्रदेशमा पनि संकुचित छ ।
कांग्रेसले सरकार फेर्न चाहे पनि मुख्यमन्त्री कसलाई बनाउने भन्ने स्पष्ट छैन । देउवा समूह पूर्ण रुपमा नेतृत्वबाट अलग भइसकेकाले जीवनबहादुर शाही फेरि मुख्यमन्त्रीको कुर्सीमा बस्न सहज छैन । सभापति गगन थापा समूहबाट कर्णालीमा मुख्यमन्त्री बन्न सक्ने पात्रको खोजी भएपनि देउवा समूहले चुनौति दिने पक्का छ ।
यस्तोमा बालेन प्रधानमन्त्री भएको देशमा कर्णालीबाट मुख्यमन्त्री बन्ने नेताले विगतबाट पाठ सिक्दै कर्णालीमा कम्तीमा कांग्रेस र कार्यकारी सरकारलाई जनतामाझ उत्तरदायी बनाउनुपर्ने चुनौति छ ।