एक समय सारा संसारलाई घरभित्रै थुनिदिएको कोरोनााकालमा हामीले कर्णालीको आँखीझ्यालका रुपमा एउटा सपना देखेका थियौँ । जहाँ केही गर्नेहरुले प्रोत्साहन पाउन्, अनि गर्नुपर्ने उत्तरदायित्व भएर पनि कुर्सीमा निदाएकाहरुलाई प्रश्न गरेर ब्युझाउन सकियोस् भन्ने सामान्य उद्धेश्य थियो ।
गाउँदेखि सहरसम्म, सुर्खेतदेखि काठमाडौँसम्मको पत्रकारिताका अनेक आयामलाई हामीले कर्णालीमा ‘अप्लाई’ गनेै सोचका साथ कर्णालीखबरको सुरुवात गरेका थियौँ । फगत एउटा मिडियाका रुपमा मात्रै नभई सरकार र नागरिकको दूरी घटाउन आवश्यक गतिविधि र क्रियाकलापलाई पनि जोड दिने हाम्रो उद्धेश्य थियो ।
त्यसमध्ये केही गतिविधिका रुपमा हामीले केही कार्यक्रम अगाडि बढायौँ । तर फितलो व्यवस्थापन र कर्णालीको कर्मचारी प्रशासनको जटिलताका कारण हामी योजनाअनुसार अगाडि बढ्न सकेनौँ । तर पनि वैकल्पिक रुपमा कर्णालीमा केही गर्ने हामीजस्तै सपना बुनेकाहरुको सारथी बनिरहने हाम्रो प्रण थियो ।
त्यसका लागि केहीलाई भेट्यौँ । केहीलाई उनीहरुको संघर्ष र सफलताको यात्राबारे सोध्यौँ । केहीलाई नभेटेपनि, नदेखेपनि डिजिटल माध्यमका कारण निरन्तर हेरिरह्यौँ । जहाँ उनीहरु एकपछि अर्को पाइला सार्दै केही नयाँ र फरक गर्ने निरन्तर कोसिस गरिरहेका थिए ।
कर्णाली समस्या र चुनौतिहरुको कठिन पहाड मात्रै होइन, सम्भावना र सामर्थ्यहरुको खानी पनि हो । जहाँ बलियो इच्छाशक्ति र मनैदेखिको मेहनत लगाउने हो भने सुन फलाउन सकिन्छ भनेर प्रमाणित गरेका पात्रहरुको कथा हो, ‘कर्णाली १००’।
ती पात्र कोही राजनीतिमा छन् । कोही समाजसेवामा छन् । कोही साहित्यमा छन् । कोही सिर्जनशील श्रव्यदृश्य क्षेत्रमा छन् । तर जो जहाँ छन्, उनीहरुले पुरै नेपालमा आफ्नो बलियो प्रभाव छाडेका छन् । र, धेरैका लागि उदाहरणीय पात्र बनेका छन् । हामी ती पात्रहरुप्रति आभारी मात्रै छैनोँ, कर्णालीलाई सँधै गौरवान्वित गराउने उनीहरुप्रति धन्य पनि छौँ ।
हामीले पहिलोपटक कर्णालीको समाजमा क्रियाशील धेरै क्षेत्रका मानिसहरुलाई एउटा मालामा उन्ने प्रयास मात्रै गरेका छौँ । जसको व्यक्तिगत उद्धेश्य, सामाजिक उत्तरदायित्व र पदीय हैसियत तथा जिम्मेवारी फरक फरक छ । समय, उमेर र सक्रियताका हिसाबले कोही धेरै पाका होलान्, कोही भर्खरकै काचै देखिएलान्, तर हामीले उनीहरुका सत्प्रयासलाई एकै ठाउँमा उभ्याउने कोसिस मात्रै गरेका छौँ ।
नेपाली समाजमा नेपालीलाई हेर्ने ऐना र दृष्टिकोण धेरै फरक छ । केही दृष्टिकोण फराकिला र केही दृष्टिकोण असाध्यै साँघुरा छन् । यो नेपाली समाजको विविधताभित्रको एउटा जटिलता पनि हो । तर हामीले मिडिया तथा पत्रकारिताको अन्तर्राष्ट्रिय मान्यताअनुसार उनीहरुको योगदानलाई कर्णालीकै हितमा समाहित गर्न यो ‘फ्रेमवर्क’ तयार पारेका हौँ । जहाँ कसैले जिरोबाट सुरु गरेर हिरो हुने अवसर सिर्जना गरेर उपलब्धी हासिल गरेको छ ।
तर कोही सबथोक भएर पनि केही नभएकोजस्तो अवस्थामा अरुमाथि दोष थोपरेर बसिरहेका छन् । त्यसलाई गिजोल्न होइन, सुक्ष्म रुपमा नियालेर उनीहरुलाई एउटै फ्रेमवर्कमा राखेर हामीले पाठकमाझमा एउटा निश्चित संख्यासम्मका पात्रहरुलाई उभ्याएका छौँ ।
जहाँ अहिले कर्णालीमा क्रियाशील प्रभावशाली पात्रहरुको मूल्यांकन गर्ने जिम्मा पाठकहरुकै सम्झेका छौँ । कर्णाली चिन्ने, चिनाउने, बन्ने, बनाउने र सपना देख्ने अनि देखाउनेहरुको भीडमा पहिलोपटक हामीले नयाँ प्रयासको थालनी गर्दा सबैलाई समेट्ने प्रयास गर्दा धेरै राजनीतिक व्यक्तित्वहरु पनि समेटिएका छन् ।

नेपाली समाज मात्रै होइन, विश्व बजार सँधै राजनीतिबाट प्रभावित हुन्छ नै । त्यसैले हामीले पहिलो प्रयासमा कर्णालीको समाजमा देखिएका राजनीतिक र सामाजिक व्यक्तित्वलाई एकसाथ उभ्याउने कोसिस गरेका छौँ । जहाँ, सबैको एउटै उद्धेश्य अन्ततः समाजको विकास र समृद्धि नै हो भन्नेमा हामी दृढ छौँ ।
यद्यपी हाम्रा आगामी प्रयास सामाजिक रुपमा विभिन्न योगदान गरेका व्यक्तित्वहरु समेट्दा राजनीतिबाट केही पर रहेर गहिरो अध्ययन तथा सुक्ष्म विश्लेषणमा गम्भीर हुनेछौँ । त्यसैले पनि यो हाम्रो पहिलो प्रयास, केवल उनीहरको प्रोत्साहन मात्रै होइन, उनीहरुको योगदानलाई सम्मान गर्न पनि खोजेका हौँ । यसर्थ यसलाई एउटा प्रक्रियाका रुपमा बुझिदिन पनि हामी अपील गर्दछौँ ।
हामीले मुख्यगरी दुई चरणमा कर्णाली १०० को सुरुवात र समापन गरेका छौँ । पहिलो हामी आजभन्दा दुई वर्ष अगाडि नै नेपालमा पहिलोपटक कर्णालीका १०० व्यक्तित्वको सूचि सार्वजनिक गर्ने तीव्र तयारी थियो । तर केही प्राविधिक, केही आर्थिक र केही व्यवस्थापकीय जिम्मेवारी तथा हाम्रो प्राथमिकताका कार्यक्रम अरु पनि भएका कारण हामीले त्यसबेला ३५ जना व्यक्तित्वको सूचि मात्रै सार्वजनिक गर्न सक्यौँ ।
अन्ततः हामीले दुई वर्षपछि जहाँ रोकिएका थियौँ, त्यहीबाट सुरु गरे अर्थात बाँकी ६५ जना व्यक्तित्वको संक्षिप्त परिचयसहित कर्णालीका १०० व्यक्तित्वको सूची सार्वजनिक गर्न सफल भएका हौँ । त्यसैले पाठकहरुले ६६ देखि १०० सम्म नम्बर दिइएका व्यक्तित्वको संक्षिप्त विवरण पढ्दा केही पुरानो जानकारी लाग्नु स्वभाविक हुन सक्छ । उनीहरुको अहिले समय फेरिएको छ । पद फेरिएको छ । कोही जिम्मेवारीबाट बाहिरिसकेका पनि छन् । कृपया, उनीहरुलाई त्यो समयका पात्र र व्यक्तित्वका रुपमा बुझिदिन आग्रह गर्दछौँ । हाम्रो आग्रहका पछाडि हामी त्यसलाई सम्पादन गरेर पाठकलाई दोहोरो जानकारी दिएर भ्रमित पार्न चाहदैनौँ ।
र, हामीले यो सूचि तीन वर्ष अगाडि नै तयार पारेका थियौँ । त्यही सूचिलाई नै हामीले अहिले करिब १० प्रतिशत मात्रै अपडेट गरेर सार्वजनिक गरेका हौँ । त्यसैले कतिपय चर्चित र समेट्नै पर्ने व्यक्तित्व छुटेको महसुस हामीलाई भइरहेकै छ । र, केही हामीले समेटेका व्यक्तित्वलाई हामीले उनीहरुकै समय र अवस्थाअनुसार सूचिबाट बाहिर राख्न पनि बाध्य भएका छौँ । यो मिडियाको आधारभूत धर्मका रुपमा बुझिदिन आग्रह गर्दछौँ ।
बाँकी, केही राम्रो र धेरै सकारात्मक काम गरिरहेका हरेक व्यक्तित्व हाम्रा लागि आदर्श हुन् । कर्णालीका लागि धेरै ठूला सम्पति हुन् । उनीहरुको संरक्षण र प्रवद्र्धन गर्नु हाम्रो पहिलो दायित्व हो । त्यसमा हामी सँधै इमान्दार भएर लागिरहनेछौँ ।
अन्त्यमा, यहाँ समेटिएका व्यक्तित्वहरुको योगदान हिजो आज मात्रै देखिएको होइन, उनीहरु दशकौदेखि सुरुवात र संघर्षमा थिए । कोही अहिले चर्चाको विषय बने । कोही चर्चामा आउनै समय लगाए । हामी आगामी श्रृङ्खलामा यीभन्दा भिन्न, पृथक र हामीले खोज्नैपर्ने पात्रलाई कर्णाली १०० मा समेट्नेछौँ । त्यसका लागि तपाईहरुको पनि साथ सहयोग रहने अपेक्षा लिएका छौँ ।