हालै उनले हङकङमा एक सय किलोमीटरको अल्ट्रा म्याराथनको उपाधि जितिन् । सय किलोमीटरको दूरी पूरा गर्न उनले ११ घण्टा ११ मिनेट खर्चिइन् । जुम्लामा जन्मेकी सुनमाया बुढाले उपाधि जित्दा स्लोभाकीयाकी भेरोनिका लेङ र भियतनामकी हाथी हाउलाई पछाडि पारिन् ।
स्लोभाकियाकी भेरोनिकालाई हराउँदा उनले केवल १४ मिनेटको अन्तर निकालेकी थिइन् । विश्वप्रसिद्ध अल्ट्रा म्याराथनको दौड जित्न उनले वर्षौदेखि संघर्ष गरेकी थिइन् । मेहनत गरेकी थिइन् । कहिल्यै नथाकी डाँडापाखा, भीर, चट्टानहरुमा दौडिएकी थिइन् । भियतनामकी हाउलाई एक सय किलोमीटर दौड पूरा गर्न पूरा १२ घण्टा लागेको थियो ।
सुनमायाको नाम त्यसै सुनौलो बनेको होइन् । उनले यसअगाडि १४ वर्षको उमेरमा राष्ट्रपति रनिङ शिल्ड जितेकी थिइन् । २०७८ सालमा थाइल्यान्डको चाङ माईमा भएको ‘थाइल्यान्ड बाई युटिएमबी’ अल्ट्रा दौडमा सुनमाया प्रथम भएकी थिइन् । उनी महिलातर्फ यो प्रतियोगितामा प्रथम भएकी हुन् । तर पुरुषसहितको समग्र प्रतियोगितामा भने उनले तेस्रो स्थान हासिल गरिन् ।
यो प्रतियोगितामा सुनमायाले नेपालकी पहिलो र विश्वचर्चित अल्ट्रा धावक मीरा राईलाई पछाडि पारेकी थिइन् । १ सय १० किलोमिटर अल्ट्रा दौडमा पुरुष तथा महिला गरि समग्रमा सुनमाया तेस्रो हुँदा मीरा दौडेर पनि शीर्ष स्थानमा आउन सकिनन् ।
भोजपुरमा जन्मेर अल्ट्रा धावकमा विश्व मञ्चमा चर्चित बनेकी मीरा राईलाई समेत पछाडि पर्दै सुनमायाले उपाधि जितेपछि उनको नाम ‘सुनौला अक्षरले’ लेखिन थालेको हो । जुम्लामा जन्मेकी सुनमायाले थुप्रै अभाव, गरिबी र चुनौति चिर्दै प्रतिभाशाली विश्व चर्चित धाविकाहरुलाई पछाडि पार्दै उपाधि जित्न थालेपछि उनी ‘गोल्डेन गर्ल’ अर्थात प्रथम स्थान हासिल गरेर स्वर्ण पदक जित्ने युवतकी रुपमा चर्चित बनेकी हुन् ।
त्यो उपाधिपछि सुनमायाले फ्रान्समा भएको विश्वकै चर्चित अल्ट्रा दौड युटिएफबी विश्व च्याम्पियनसिपको १०० किलोमिटर दौडमा रजत जितेकी थिइन् । २०७९ भदौ ११ गते फ्रान्समा भएको थियो एक सय किलोमिटरको अल्ट्रा दौड सुनमायाले ११ घन्टा ४५ मिनेट ४४ सेकेन्डमा पूरा गरेर दोस्रो स्थान हासिल गरेकी थिइन् ।
२०७८, २०७९ र २०८१ गरेर पछिल्ला चार वर्ष विश्वका चर्चित र लामा अल्ट्रा म्याराथन दौडमा प्रथम तथा दोस्रो स्थान हासिल गर्दै विश्वमञ्चमा दबदबा कायम गरेपछि सुनमायाको नाम नेपालबाट विश्वभर फैलिएको हो । कर्णालीबाट अल्ट्रा दौडमा विश्वका ठूला प्रतियोगितामा भाग लिएर उपाधि जित्ने सुनमाया पहिलो र एक्ली महिला हुन् ।
त्यसअघि भोजपुरकी मीरा राईको दबदबा थियो । उनले मीराको बर्चश्व तोड्दै अहिले नेपालबाट विश्वका ठूला अल्ट्रा म्याराथन दौडमा आफ्नो नाम सुनौला अक्षरले लेखिरहेकी छन् ।
जुम्लाको पातारासीमा जन्मेकी सुनमाया बुढा निकै ठूलो संघर्ष गरेकी जन्मेकी हुन् । निकै कष्टकर जीवन जिएर हुर्केकी हुन् । कर्णाली गरिबी नेपालमै सबैभन्दा डरलाग्दो मानिन्छ । त्यही गरिबीमा घरकी पाँचौ छोरीका रुपमा जन्मिदा सुनमायाले कुपोषणको आक्रमण झेल्नु परेको थियो ।
विश्वमञ्चमा आफ्नो नाम सुनौलो अक्षरले लेख्न बलियो भाग्य र अटुट साहस लिएर जन्मेकी सुनमायाले कहिल्यै हार खाइनन् । कर्णालीको पितृसत्तात्मक समाजको घेरा तोड्दै उनले कर्णालीका लिजेन्ड विश्व कीर्तिमानी अल्ट्रा धावक हरिबहादुर रोकायाको छत्रछाया पाइन् ।
रोकायाको छत्रछाया पाउनुअघि सुनमायाले स्कूल र गाउँका सबै प्रतियोगिता जितेकी थिइन् । ती साना दौडले उनलाई ठूलो साहस दिएपछि गाउँबाट एसएलसी पूरा गरेर उनलाई जुम्ला सदरमुकाम खलंगा आइपुग्न ठूलो सहयोग पुग्यो ।
खलंगामा रोकायाले आफैले खोलेको ‘कर्णाली स्पोट्स क्लब’ राखेर सुनमायालाई प्रशिक्षण दिए । जसकारण उनले अल्ट्रा दौड, म्याराथन दौड र लामो दूरीका अल्ट्रा म्याराथन दौडबारे धेरै कुरा थाहा पाइन् । अनि विश्वचर्चित अल्ट्रा म्याराथन दौडबारे पनि थाहा पाएपछि उनले त्यहीअनुसार प्रशिक्षण गरिन् । आफ्नो ‘माइन्डसेट’ त्यहीअनुसार ‘ट्रेन्ड’ गरिन् । नेपालका चर्चित तथा लिजेन्ड अल्ट्राधावकको साथ, सहयोग र प्रशिक्षण पाएपछि सुनमायाले आफ्नो इतिहास कोर्न थालेकी हुन् ।
आफ्नो साहसिक संघर्ष, अथक मेहनत र विश्वका चर्चित अल्ट्रा म्याराथन दौड प्रतियोगिता जितेर सुनौलो नाम बनाउँदै कर्णाली हिरो सूचिमा परेको जानकारी पाएपछि सुनमायाले भनिन्, ‘धेरै खुशी लाग्यो । यो जानकारी पाउँदा मलाई नयाँ ऊर्जा थपिएको छ । कर्णालीमा जन्मेर कर्णालीको गौरवशाली नाममा समेट्नुभएकोमा धेरै धेरै धन्यवाद ।’
सुनमाया कर्णाली मात्रै होइन, नेपालकै पछिल्लो समयकी चर्चित अल्ट्रा धाविका हुन् । उनी यसअघिदेखि नै राष्ट्रियस्तरका सबै मिडियामा चाँसो र चर्चाका हिसाबले निरन्तर छाइरहेकी छन् । नेपालका सफल र विश्वमञ्चमा पुगेर उपाधि जित्दै नेपाली झण्डा फहराउने साहसिक महिलाका रुपमा सुनमायाले आफ्नो इतिहास सुनौला अक्षरले निरन्तर लेखिरहेकी छन् । यो कर्णालीका लागि धेरै ठूलो गौरव हो ।
[सम्पादकीय नोट : अल्ट्रा धावक सुनमाया बुढा दोभान मल्टिमिडियाद्धारा सञ्चालित कर्णालीखबरले पहिलोपटक प्रकाशित गरेको ‘कर्णाली १००’ सूचिबाट उत्कृष्ट १० जनाको सूचि ‘कर्णाली हिरो’मा मनोनित व्यक्तित्व हुन् । कर्णाली हिरोका अन्य मनोनित व्यक्तित्व हामी बिस्तारै प्रकाशित गर्दै जानेछौँ । कर्णालीका विभिन्न क्षेत्र तथा संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको भोटिङ प्रमाणीमार्फत एक जना कर्णाली हिरो विजेता घोषणा गर्नेछौँ । आगामी असोज १९ गते घोषणा हुने विजेताले एक लाख रुपैयाँ पुरस्कार र सम्मानपत्र प्राप्त गर्नेछन् ।]