उनी सेवाका सारथी हुन् । त्यसमाथि चिकित्सक । तर अपरेसन थियटरमा सेतो एप्रोनधारी डाक्टर मात्रै होइनन् । उनी अस्पतालमा भेटिन्छन् । त्यो भन्दा बढी कर्णालीका हरेक समाजमा भेटिन्छन् । युवाको समाजमा । बालबालिकाको समाजमा । अभिभावकको समाजमा । केही नयाँ र फरक अभियानमा । कहिलेकाँही घुमघामको समाजमा ।
उनी डाक्टर हुन् । बिरामीको उपचार गर्ने डाक्टर । तर उनी कर्णालीमा बिरामीको मात्रै जटिल समस्या छ भन्ने ठानिरहेका छैनन् । किनकी उनले जसरी पछिल्लो दश वर्षमा कर्णालीको समाज, समस्या र त्यसको समाधानको उपाय खोजिरहेका छन्, त्यो भिन्न छ ।
उनले बालबालिकालाई बिरामी पार्ने वातावरणीय समस्या बुझेका छन्, र त्यसको समाधान खोजिरहेका छन् । सहरदेखि गाउँसम्म जसरी प्लाष्टिकको हदैसम्मको समस्या देखिरहेका छन्, त्यसको स्थिती फरक भेटिरहेका छन् । प्लाष्टिक व्यवस्थापनदेखि बालबालिकाको फोक्सो र मुटुलाई नै ‘कोल्याप्स’ पार्ने प्रदूषित हावाको जटिल अवस्थाबारे सामाजिक चेतना फैलएका छन् ।
उनले वातावरण हरियाली बनाउन वृक्षारोपण अभियान चलाएका छन् । सहरलाई अब स्वच्छ राख्न कम्तीमा जाने, बुझेकै मानिसहरुले प्रदूषण निकाल्ने गाडीभन्दा साइकल चढ्नुपर्छ भन्ने अभियान चलाएका छन् । बेला बेला बालबालिकामा बढिरहेका समस्या र त्यसले ल्याउन सक्ने जटिलताबारे बुझेरै पहिल्यै सचेतना अभियान चलाएका छन् ।
उनी डाक्टरहरुका पनि डाक्टर हुन् । समाजका डाक्टर हुन् । सोचका डाक्टर हुन् । जीवनशैलीका डाक्टर हुन् । समाजमा रहेका बालबालिका, युवा र वृद्धका लागि साच्चिकै डाक्टर हुन् । नयाँ नयाँ अभियान र विश्व परिदृश्यका बारेमा सही तथ्य आम मानिसलाई बुझाउने डाक्टर हुन् । आफूले देखिरहेका भोगिरहेका कुरा अरुले भोग्नु नपरोस भनेर सचेतना फैलाउने चेतनशिल डाक्टर हुन् ।
नेपाली समाजको प्रतिष्ठित पेशा भएको कारण ‘गजक्क’ पारेर बस्ने डाक्टर उनी होइनन्, उनी त डाक्टरी पेशा भनेकै समाजको सबैभन्दा चेतनशिल र समाजसेवी पेशा हो भनेर प्रमाणित गरेका छन् । त्यसैले समाजसँग जोडिन उनी डाक्टरभन्दा बढी समाजका सबै तप्कासँगका मानिसहरुका साथी हुन् । सारथी हुन् । उनी युवाका साथी हुन् । अभियान्ताका साथी हुन् । पत्रकारका साथी हुन् । समाजमा योगदान गरिरहेका राजनीतिक, आर्थिक, शैक्षिक, सामाजिक क्षेत्रका सबैका सबैभन्दा मिल्ने डाक्टर साथी हुन् ।
उनी प्रकृतिप्रेमी डाक्टर हुन् । प्रकृतिका हरेक विरुवाको प्राण बचाउनुपर्ने अभियानका सबैभन्दा शक्तिशाली सोचका अभियान्ता हुन् । प्रकृतिको सुन्दरता खिचेर उनी सामाजिक सञ्जालमा साझा गर्छन् । मानिसहरुलाई दैनिक जीवनदेखि केही पर गएर प्रकृतिसँग घुलमिल हुन प्रेरित गर्छन् । उनी अरुजस्ता डाक्टर होइनन । घरमै बस्ने । सकेसम्म सहरमै बस्ने । अस्पताल बिरामी जाच्न मात्रै जाने ।
उनी गाउँ जान्छन् । दूरदराजका गाउँ पुगेर त्यहाँका मानिसका सुखदुःख बुझ्छन् । निःशुल्क जाँच गर्छन् । केही जटिल प्रकृतिका बिरामी भेटे तुरुन्तै उपचार गर्न सल्लाह दिन्छन् । सकेसम्म आफै सुर्खेत बोलाउँछन् । सकेको सहयोग गरेर उनीहरुलाई निको पार्छन् ।
उनी डाक्टर हुन् । गाडी चढ्न सक्छन् । तर मोटरसाइकल चढेरै गाउँ पुग्छन् । घुम्न निस्कन्छन् । सहरमा छँदा साइकल चढ्छन् । अरुलाई पनि साइकल चढ्न प्रेरित गर्छन् । पछिल्लो समय उनले डाक्टरी पेशासँगै अर्को बलियो परिचय बनाएका छन्, त्यो हो लेखक । उनी लेख्छन् । पहिले पहिले सामाजिक सञ्जालमा लेख्थे । कहिलेकाँही मूलधारका पत्रिकाहरुमा पनि लेख्थे । कहिले विचार लेख्थे ।
कहिले आफ्नो भोगाई लेख्थे । कहिले देखेको कुरा लेख्थे । कहिले नदेखेको तर आफ्नै दिमागले सोचेको कुरा लेख्थे । त्यो पनि समाजका लागि । युवाका लागि । प्रेरणाका लागि । तर अचेल लेखेर छरपस्ट गर्नेभन्दा एकत्रित गर्नुपर्छ भन्ने सोचका साथ किताब लेख्छन् । मिठा मिठा शब्दहरु बुन्छन् । साहित्यिक रस मिसाउँछन् । डाक्टरी पेशाका जटिल शब्दहरुलाई सजिलो बनाएर बिरामी र आम मानिसले बुझ्ने गरि लेख्छन् ।
उनले लेखेको पहिलो कृति ‘शुन्यको समय’ले नेपाली बजारमा राम्रै प्रभाव पार्यो । जतिले पढे, सबैले पढ्नेपर्ने पूस्तकका रुपमा प्रतिक्रिया दिए । त्यसले डाक्टरलाई थप ऊर्जा दियो । उनले कर्णालीका कथा, व्यथा र अवस्था लेखेका छन् । जसलाई उनले ‘कर्णालीको सास, साहस र स्नेहको कथा’ भनेका छन् । उनका बारेमा यति लेख्दै गर्दा छेउकै टेबलमा ‘शून्यको समय’ पूस्तक छ ।
जसले नेपालदेखि विदेशसम्म कर्णालीको संघीय गणतान्त्रिक अनुहार स्पष्ट पारेको छ । ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिमा पर्दा डाक्टरको पहिलो कृति बजारमा आउँदै थियो । यो सूचिमा समेट्दै गर्दा डाक्टरको पहिलो कृतिले बजारमा गहिरो छाप छाडेर दोस्रो कृति ‘स्वस्पर्श’ प्रकाशित भएर पाठकका हातमा परिसकेको छ ।
सुर्खेत हिलेखालीमा जन्मिएर विश्वका विभिन्न विकसित देशमा डाक्टरी पढेर कर्णालीकै सेवामा होमिएका डा.नवराज केसी कर्णालीका यस्ता रोलमोडल डाक्टर हुन्, जो एक व्यक्ति भएर अनेक आयाममा कर्णाली सुधार गर्न, बलियो बनाउन र नयाँ सोचका साथ काम गर्न सबैभन्दा अग्रपंक्तिमा छन् ।