काठमाडौँ : दोभान मल्टिमिडियाद्धारा सञ्चालित कर्णालीखबरले कर्णाली प्रदेशका संघर्षशील १० जनाको ‘कर्णाली हिरो’ सूचि सार्वजनिक गरेको छ । असोज ३ गते अर्थात संविधान दिवसको अवसर पारेर कर्णालीखबरले कर्णालीका संघर्षशील र प्रेरणादायी १० जना ‘कर्णाली हिरो’को नाम सार्वजनिक गरेको हो । उनीहरुलाई यसअघि गणतन्त्र दिवसको अवसर पारेर सार्वजनिक गरिएको ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिबाट छनौट गरिएको हो ।
गणतन्त्र दिवसका दिन सार्वजनिक गरिएका कर्णाली १०० बाट कर्णाली प्रदेश स्थापनाको अवसर पारेर गएको भदौँ ४ गतेदेखि कर्णाली हिरोका लागि छनौट तथा मनोनित गरिएका व्यक्तिको नाम सार्वजनिक गर्न थालिएको थियो । जसमध्ये भदौ अन्तिमसम्म १० जना कर्णाली हिरोको नाम सार्वजनिक गरिएको हो ।
कर्णाली प्रदेशमा अतुलनीय रुपमा योगदान दिएका, उदाहरणीय व्यक्तित्व बनेका, सामाजिक परिवर्तनका लागि जीवन समर्पण गरेका र शून्यदेखि सुरुवात गरेर कर्णाली प्रदेश तथा केन्द्रसम्म आफ्नो नाम गर्विलो बनाएका व्यक्तित्व कर्णाली हिरो छनौटमा परेका हुन् ।
आफ्नो काम, कर्तव्य, योगदान र जिम्मेवारीले कुनै न कुनै क्षेत्रबाट कर्णाली प्रदेशको गौरवका रुपमा उनीहरु परिचित छन् । जसलाई कर्णाली प्रदेश मात्रै होइन, सिंगो देशका युवा तथा मानिसहरुले उदाहरणीय व्यक्तित्वको रुपमा प्रस्तुत गर्ने गरेका छन् ।
कर्णाली प्रदेशलाई प्रतिनिधित्व गरेर देश तथा विदेशमा चिनिएका, आफ्नो कर्ममा रमाएका र संघर्ष गर्दै सफलताको चुचुरो टेक्दै गरेका संघर्षशील व्यक्तित्वलाई पहिलो कर्णाली हिरो छनौटमा राखिएको दोभान मल्टिमिडियाले जनाएको छ । धेरै लामो समयदेखि विश्वव्यापी प्रचलन भएपनि नेपालमा पहिलोपटक कर्णाली प्रदेशमा दोभान मल्टिमिडियाले २०७९ सालदेखि ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिमा परेका व्यक्तित्वको नाम सार्वजनिक गर्न सुरु गरेको थियो ।
जसको पूरा सूचि गएको जेठ १५ गते सार्वजनिक गरिएको थियो । यसपटक कर्णाली हिरोको सूचि सार्वजनिक गर्दा झण्डै तीन वर्षदेखि पछिल्लो तीन महिना सुक्ष्म रुपमा छनोटमा परेका व्यक्तिहरुको व्यक्तिगत र सामाजिक प्रोफाइलहरु अध्ययन तथा मूल्यांकन गरिएको थियो । कर्णालीका १०० व्यक्तित्वमा परेका १०० जनामध्येबाट २५ जनालाई ‘सर्टलिस्ट’ गरेर अध्ययन अगाडि बढाइएको थियो ।
जसमध्येबाट छनौट गरिएका १० जनामध्ये दुई जनाले सूचिमा समेटिन अरुचि देखाएका थिए । त्यसपछि वैकल्पिक पाँच जनाको सूचिबाट दुई जनालाई समावेश गरेर १० जनासहितको कर्णाली सूचि सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएका १० जना ‘कर्णाली हिरो’मा समेटिएका व्यक्तित्वको व्यक्तिगत र सामाजिक योगदानको बारेमा पछिल्लो दश वर्षसम्मको उनीहरुको काम, कर्तव्य, जिम्मेवारी, अनुभव र सामाजिक योगदानका बारेमा विभिन्न क्षेत्रका विज्ञ तथा प्रतिनिधिहरुको धारणा लिइएको थियो । जसबाट धेरै सकारात्मक विचार, मत र सामान्य अवस्थाबाट सुरु गरेर असाधारण उपलब्धी पाएका तथा व्यक्तित्व निर्माण गरेका व्यक्तिहरुलाई ‘कर्णाली हिरो’मा छनौट गरिएको पनि दोभान मल्टिमिडियाले जनाएको छ ।
पहिलोपटक ‘कर्णालीका १०० व्यक्तित्व’ र ‘कर्णाली हिरो’ छनौट गर्दा सुक्ष्म अध्ययन, फराकिलो सोच र खुला धारणाहरु आत्मसात गरिएको थियो । तर अति राजनीतिक सोच, सम्बद्धता र भ्रष्ट शैली तथा समस्याका कारण कर्णाली हिरोमा राजनीतिक विधालाई समावेश गरिएन ।
पहिलोपटक कर्णाली हिरो छनौट गर्दा सामाजिक योगदान र युवा सशक्तिकरणलाई मुख्य प्राथमिकता दिइएको थियो । जसबाट झण्डै ६० प्रतिशत युवाहरु कर्णाली हिरोमा समावेश छन् । यसले कर्णालीका नयाँ पुस्ता र युवाहरुलाई आफ्नो जिम्मेवारीमा असाधारण प्रेरणादायी बनाउने कर्णालीखबरको विश्वास छ ।
अधिकतम १० वटा विधामा छनौट गरिएका ‘कर्णाली हिरो’का व्यक्तिहरु शिक्षा, स्वास्थ्य, पर्यटन, वातावरण संरक्षण, नेतृत्वशैली, व्यवसाय, सामाजिक परिवर्तन, गीतसंगीत, खेलकुद र चलचित्र तथा सिनेमा क्षेत्रबाट प्रतिनिधित्व गर्छन् । १० जना ‘कर्णाली हिरो’बाट विजेताका लागि विभिन्न क्षेत्रका न्युनतम एक सय जनाको मत तथा भोट लिएर विजेता घोषणा गरिनेछ ।
कर्णालीखबरको पाँचौ वार्षिकोत्सवका अवसरमा असोज १९ गते घोषणा गरिने ‘कर्णाली हिरो’ विजेताले एक लाख रुपैयाँ नगद पुरस्कार र सम्मानपत्र पाउने दोभान मल्टिमिडियाले जनाएको छ ।
१० जना ‘कर्णाली हिरो’ व्यक्तित्व यसप्रकार छन्ः
१. हिक्मत वादी : ‘सीएनएन हिरो’का बलिया दाबेदार

२. सुरज पण्डित : कर्णालीका ‘सिग्नेचर सिंगर’

३. नारायण सिग्देल : स्कूलबाटै आत्मनिर्भर बनाउने सर

४. सुनमाया बुढा : कर्णालीको सुनौलो नाम

५. डा.नवराज केसी : कर्णालीका रोलमोडल डाक्टर

६. गोविन्द सिंह : संरक्षणमा समर्पित स्वर्णिम नाम

७. सिर्जना सिज्जु : साहसिक ‘सोलो लेडी ट्राभलर’

८. भद्र सार्की : कर्णालीका रैथाने व्यवसायी

९. पवित्रा शाही : अन्यायविरुद्ध आगो ओकल्ने ‘आवाज’

१०. चक्र चन्द : कर्णालीमा फिल्मी हिरो जन्माउने जग

[सम्पादकीय नोट : १० जना ‘कर्णाली हिरो’ सार्वजनिक गरेसँगै विगत तीन वर्षदेखि कर्णालीमा सकारात्मक सोचले प्रेरित भएर आफ्नो क्षेत्रमा उत्कृष्ट काम गरेकाहरुलाई प्रोत्साहन गर्ने कर्णालीखबर र दोभान मल्टिमिडियाको जिम्मेवारी उत्कर्षमा छ । कर्णालीप्रति राखिने सोच र शैली बदल्न थोरै भए पनि हामी आफ्नो क्षेत्रबाट लागिरहँदा कम्तीमा कर्णाली चिनाउने उत्कृष्टमध्येका पनि उत्कृष्ट व्यक्तित्वलाई हामीले ‘कर्णाली हिरो’को सम्मान दिँदै पहिलोपटक सूचि प्रकाशन गरेका छौँ । ‘कणाली हिरो’ विजेताका लागि हामीले विभिन्न क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरुको मत तथा भोट लिन पनि सुरु गरेका छौँ । कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने, कर्णाली प्रदेशमा नागरिकको नेतृत्व गर्ने र विभिन्न क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरुसहित कम्तीमा १०० जना निर्णायक व्यक्तिहरुको भोट लिएर हामी आगामी असोज १९ गते कर्णाली हिरो विजेता घोषणा गर्नेछौँ । स्मरण रहोस्, हामी यो प्रक्रियामा कुनै पनि व्यक्तिलाई जिताउने खालका ‘भोटिङ अभियान’ पूर्ण रुपमा अस्वीकार गर्दछौँ । भोट माग्ने र दिने सामान्य प्रचलनभन्दा माथि उठेर आफ्नो क्षेत्रबाट कर्णालीप्रति समर्पित व्यक्तिहरुको सम्मानमा हामी कर्णाली चिनाइरहेका, कर्णाली बनाइरहेका र कर्णालीको शैक्षिक, आर्थिक, सामाजिक, राजनीतिक, बौद्धिक, साहित्यिक क्षेत्रका व्यक्तिहरुको सुन्दर मत लिएर कर्णाली हिरो विजेताको नाम टुंग्याउनेछौँ । हाम्रा लागि १० जना नै कर्णाली हिरो भएकाले उनीहरुलाई मत दिने सबै व्यक्तिहरुको भोट गोप्य रहनेछ । यदि यो सामान्य परिधि तोडेर भोट माग्ने, अभियान चलाउने तथा नेतृत्वमा रहेका व्यक्तिहरुलाई दबाब दिएर आफूले नै जित्नुपर्ने भ्रम सिर्जना गर्ने व्यक्तित्वलाई हामी कर्णाली हिरो सूचिबाट हटाउन बाध्य हुनेछौँ । साथै मत संकलन प्रक्रियामा छनौट भएका व्यक्तिले पनि आफूले मत दिएका व्यक्तित्वलाई मात्रै प्रोत्साहन गरेर सामाजिक सञ्जाल तथा भेटघाटहरुमा प्रचारवाजी गर्ने व्यक्तिहरुको भोट हामी रद्द गर्नेछौँ ।]