काठमाडौँ : डा.नवराज केसी पहिलो ‘कर्णाली हिरो’ विजेता बनेका छन् । दोभान मल्टिमिडियाद्धारा सञ्चालित कर्णालीखबर डटकमले मनोनित गरेका १० जना कर्णाली हिरोमध्ये डा.केसीले सर्वाधिक मत ल्याएर विजेता बनेका हुन् । विजेता बनेसँगै डा.केसीले एक लाख रुपैयाँ पुरस्कार पनि जितेका छन् ।
कर्णाली हिरो विजेताका लागि कर्णालीका ‘सेलेक्टिभ सोसियो लिडरशीप भोटिङ’मा १०० जनाले मत दिएका थिए । जसमा विजेता बनेका डा.केसीले सर्वाधिक २६ मत ल्याएका छन् । दोस्रो बनेकी सिर्जना सिज्जुले १८ मत ल्याइन् भने तेस्रो बनेकी सुनमाया बुढाले १३ मत पाएकी छन् ।
यस्तै चौथो बनेका गोविन्द सिंहले १० मत पाए भने सुरज पण्डितले पनि समान रुपमा १० मत नै ल्याउन सफल भए । छैटोँमा रहेकी पवित्रा शाहीले ७, सातौँमा रहेका हिक्मत वादीले ६, आठौँमा रहेका नारायण सिग्देलले ५ मत ल्याएका छन् ।
यस्तै नवौँ बनेका चक्र चन्दले ४ र दशौँ स्थानमा सुरक्षित रहेका भद्र सार्कीले एक मत ल्याएका छन् । भोटिङमा कर्णाली प्रदेशका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिलाई सहभागी गराइएको थियो ।
जसमा कर्णाली प्रदेशका नेपाल पत्रकार महासंघका प्रतिनिधि तथा मूलधारका मिडियामा कार्यरत पत्रकार थिए । यस्तै कर्णालीका उद्योग वाणिज्य संघका प्रतिनिधि, मध्यपश्चिम विश्वविद्यालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रतिनिधि पनि सहभागी गराइएको थियो ।
उनीहरु धेरैको रोजाईमा डा.केसी परेका थिए । कर्णालीका नागरिकको स्वास्थ्य सेवामा दिलोज्यान दिएर लागेका डा.केसीले अगाडि बढाएको सफा तथा हरियाली कर्णाली अभियानलाई धेरै ‘सेलेक्टिभ भोटर’ले प्रोत्साहित मत दिएका थिए ।
बाल स्वास्थ्य विशेषज्ञसमेत रहेका डा.केसीले बिरामीसँग कुरा गर्ने शैली, उनीहरुको समस्या बुझ्ने र समाधान खोज्न अपनाउने विधि धेरैका लागि प्रशसंनीय रहेको मत दिएका छन् । कर्णालीका विभिन्न ठाउँमा उनले चलाएका स्वास्थ्य शिविर, त्यसबाट लाभान्वित भएका सेवाग्राहीप्रति भोटिङमा सहभागी भएका सामाजिक सरोकारवाला तथा अभियान्ता धेरै हदसम्म उत्साहित देखिएका छन् ।
कर्णालीको घाउमा मल्हम लगाउन डा.केसीले आफूले धेरै हदसम्म त्याग गरेर समर्पण देखाएको मतदाताको भनाई छ । डा.केसीले चलाएका अभियान र अरुप्रति देखाएका सहयोगी भावनाले कर्णालीलाई एकतामा बाँधेको पनि उनीहरुको बुझाई छ ।
‘शिक्षा र स्वास्थ्य कर्णालीको प्रमुख सुधार तथा विकासको मुद्दा हो’ एक जना सेलेक्टिभ भोटरले डा.केसीलाई विजेता बनाउनुपर्ने विचारलाई जोड दिँदै भनेका छन्, ‘यो मुद्दामा अहिले कर्णालीमा कोही सबैभन्दा अगाडि छन् भने त्यो नाम डा.नवराज केसी हो ।’
डा.केसीपछि सिर्जना सिज्जुको साहस र सुनमाया बुढाको दौडलाई धेरैले कर्णाली हिरोको नाम दिएका छन् । कर्णालीसँगै देशैभरका युवाहरुलाई प्रोत्साहन गर्न सिज्जु र सुनमायाले धेरै मेहनत गरेको उनीहरुको भनाई छ । रुकुम पश्चिम र जुम्लामा धेरै संघर्ष गरेर बाल्यकाल गुजारेका उनीहरुले अहिले कर्णाली मात्रै नभई नेपालकै चम्किला तारा बनेकामा खुशी व्यक्त गरेका छन् ।
कर्णाली प्रदेशबाट नेपाली डायस्पोरामा रहेका धेरैजसोले सिज्जुलाई प्रोत्साहित भोट दिएका छन् । यस्तै सुनमाया बुढाले उचालेको कर्णालीको शिर र अल्ट्रा दौडमा हासिल गरेको उपलब्धी असाधारण भएको भन्दै दुवै साहसी युवालाई ‘लिडर अफ द लेडी’को संज्ञा दिएका छन् ।

कर्णालीको पर्यावरण संरक्षणमा अतुलनीय भूमिका खेलेका गोविन्द सिंह र गायक सुरज पण्डितले पनि सेलेक्टिभ भोटरको सम्मानजक मत पाएका छन् ।
भोटिङमा कर्णालीका प्रदेश प्रमुख, पर्यटनमन्त्री, सामाजिक विकासमन्त्री, प्रदेश सांसद, पूर्व संघीय सांसद लगायतलाई सहभागी गराइएको थियो । यस्तै कर्णालीका १० वटै जिल्लाका पत्रकार, व्यवसायी, अभियान्ता, सामाजिक सरोकारवाला, पालिका प्रमुख र नागरिकहरुको पनि मत लिइएको थियो ।
विजेता बनेका डा.केसीसँगै कर्णाली हिरोमा मनोनित सबै १० जनालाई आगामी मंसिर महिनामा काठमाडौँमा आयोजना हुने विशेष कार्यक्रममा पुरस्कार, सम्मानपत्र तथा प्रोत्साहनपत्र प्रदान गरिनेछ ।