जसलाई आफ्नो चिन्ता छैन । आजको चिन्ता छैन । अहिले बाँचिरहेका मानिसहरुको चिन्ता छैन । उनलाई उतिसारो आफ्नै घर परिवारको पनि चिन्ता छैन । किनकी उनलाई त्यतातिर ध्यान नै छैन ।
उनी घरमा कम बस्छन् । गाउँमा कम भेटिन्छन् । किनकी धेरैजसो वन, जंगल र माथि माथि पाटनतिर भेटिन्छन् । जहाँ उनी असङ्ख्य लोपोन्मुख वन्जयन्तु, चराचुरुंगी र जडिबुटी तथा वनस्पति भेट्छन् ।
उनीहरुबारे सोधखोज गर्छन् । फोटो खिच्छन् । कति उपलब्ध छन् । कति लोपोन्मुख छन् । कति कस्तो अवस्थामा छन् ? त्यसको पनि जाँच गर्छन् । थाहा पाएका विरुवा, वन्यजन्तुबारे तुरुन्तै जानकारी गराउँछन् । थाहा नपाएकाबारे थप अध्ययन गर्छन् । सोधखोज गर्छन् । फेरि फेसबुकतिर हाल्छन् । केही नयाँ बोट, विरुवा र वन्यजन्तु देखे भने तुरुन्तै माथिल्लो निकाय र विज्ञहरुसँग सल्लाह गर्छन् ।
हामीले उनलाई ‘कर्णाली हिरो’ सूचिमा समावेश गर्न लागेको कुरा सुनाउन खोजेका थियौँ । हामीले उनको अनुमति चाहेका थियौँ । उनीसँग सल्लाह लिन खोजेका थियौँ । तर भेटेनौँ । सम्पर्क गर्न प्रयास गर्यौ । सफल हुन सकेनौँ । उनको मोबाइल नम्बरदेखि उनी उपलब्ध सामाजिक सञ्जालमा पनि दर्जनौँ म्यासेजहरु पठायौँ । तर जवाफ पाएनौँ ।
उनका नजिकका साथीभाईसँग सम्पर्क गरेर उनीसम्म यो कुरा भनिदिन आग्रह बिसायौँ । त्यसपछि उनी मुश्किलले सम्पर्कमा आएँ । हप्तौपछि उनले जवाफ फर्काए, ‘म त माथि पाटनतिर छु । मोबाइल फोनको टावर छैन । सम्पर्क हुँदैन । गाउँ फर्केपछि कुरा गरौँला ।’
कर्णालीमा कोही एक जना छन्, जसले पुरै कर्णालीको वातावरण, वन विज्ञान र पर्यापर्यटनको मुद्दा आफ्नो काँधमा बोकेर हिँडेका छन् । संरक्षणमा संघीय, प्रदेश र स्थानीय सरकारले करोडौँ बजेट छुट्याएका छन् । तर उनले बजेटको कुनै हिस्सा पाएका छैनन । कोही कसैबाट उतिसाह्रो प्रोत्साहन पाएका छैनन । उनलाई काठमाडौँले सम्मान गरेको छ । काठमाडौँका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाबाट सम्मान र पुरस्कार थापेका छन् । तर आफ्नै कर्णाली सरकारको बेवास्तामा परेका छन् ।
तर पनि उनलाई चिन्ता छैन । कुनै गुनासो छैन । कसैको भनसुन छैन । कहिलेकाँही केही नजिकका राजनीतिक दलका नेता कार्यकर्ता सुनाउँछन् । ‘यति राम्रो काम गरेर पनि केही पाउनु भएको छैन । हाम्रो पार्टीमा आउनुस् । पैँसा र पुरस्कारको कमी हुँदैन ।’
उनी सुन्छन् । फिस्स हाँस्छन् । लामो सुस्केरा हाल्छन् । कस्तो जमाना आयो ? प्रकृति संरक्षण गरेको कामको जस पाउन पनि पार्टी सदस्यता लिनुपर्ने ? उनी फेरि आफ्नै मनलाई सम्झाउँछन् । भागवत गीताको सार सम्झन्छन्, ‘कर्म गर, फलको आशा नगर ।’
कसैले राम्रो भनोस् वा नराम्रो । उनलाई कसैको केही सुन्नु छैन । केवल आफ्नो कर्म गर्नुछ । अवोध वन्यजन्तु र बोटविरुवाको संरक्षण गर्नुछ । उनीहरुको अवस्था जान्नुछ । गाह्रो साह्रो परेकालाई उद्धार गर्नुछ । नयाँ जीवन दिनुछ । यही कुरा आफूसँग डिजिटल माध्यममा जोडिएकालाई जानकारी दिनुछ । अनि फेरि वनतिर । जंगलतिर । माथि माथि पाटनतिर जानुछ । गाउँ फर्किनुछ ।
बस उनले वर्षौदेखि यही कर्म गरिरहेका छन् । यही कर्म गरेबापत प्रकृतिका साथी नामक संस्थाबाट संरक्षण पुरस्कार पाएका छन् । बर्ड लाइफ इन्टरनेसनल संस्थाबाट ‘बर्ड नेचर हिरो पुरस्कार’ले सम्मानित भएका छन् । उनी अझै निरन्तर लागिरहेका छन् । उनी अरुका लागि होइन । आफ्ना लागि काम गरिरहेका छन् । आफ्नो रोजाईमा काम गरिरहेका छन् । आफ्नो स्वेच्छा र सन्तुष्टिले काम गरिरहेका छन् ।
जाजरकोटको बारेकोट गाउँपालिकाका स्थायी बासिन्दा गोविन्द सिंह कर्णालीका यस्ता प्रतिभा हुन्, जसको कर्म राष्ट्रले देखेको छ । अन्तर्राष्ट्रिय क्षेत्रका संघ संस्थाले मुक्तकण्ठले प्रशंसा गरेका छन् । आशा छ, उनले एकदिन जाजरकोटबाट सुरु गरेको प्रकृति र पर्यावरण संरक्षणको अभियान विश्वका ठूला मञ्चहरुमा कर्णाली प्रदेश र नेपालकै नाम स्वर्णअक्षरले फैलाउनेछन् ।