पहिलोपटक नेपाली हिउँ, हिमाल र हिमालयको दृश्य खिचिएको चलचित्र ‘क्याराभान’ हो । सन् १९९९ मा बनेको यो चलचित्रले त्यतिबेला नेपाललाई हिमालयको देश बनाएको हो । फ्रान्सेली फोटोग्राफर तथा फिल्म मेकर इरिक भ्यालीले निर्माण तथा निर्देशन गरेको यो फिल्म धेरै विधामा ऐतिहासिक छ ।
यो नेपालमा निर्माण भएर ओस्कारमा पुगेको पहिलो नेपाली चलचित्र पनि हो । डोल्पामा खिचिएको र उपल्लो डोल्पाकै बोलिने भाषामै निर्माण भएको यो चलचित्रले कर्णालीको त्यो बेलाको हिमाली जनजीवनको कथा बोल्छ ।
एडभेन्चर फिल्मको नाम दिइएको यो चलचित्रले त्यतिबेला विश्वव्यापी चर्चा पायो । यो चलचित्र निर्माण भएको झण्डै २५ वर्षपछि कर्णालीकै शक्तिशाली चलचित्र निर्मार्ता तथा निर्देशक मीन भामले निर्माण तथा निर्देशन गरेको ‘साम्बाला’ चलचित्रले ओस्कार लगायत धेरै अन्तर्राष्ट्रिय मञ्चमा कर्णालीबाट पाइला राख्यो । क्याराभानकै शैलीमा निर्माण भएको यो चलचित्रको कथावस्तु पृथक छ । तर हिमाली जनजीवनकै कथाव्यथा छ ।
मुगुमा जन्मे हुर्केर नामी क्याम्पस तथा विश्वविद्यालयमा चलचित्र विषय पढेका भाम नेपालबाट चिनिने थोरै बौद्धिक तथा शक्तिशाली निर्देशकमा पर्छन् । उनकै पहिलो चलचित्र ‘कालोपोथी’ पनि कर्णालीमै निर्माण भएर यसअघि राम्रो व्यापार गर्न सफल भएको थियो ।
क्याराभानदेखि साम्बालासम्म आइपुग्दा कर्णालीको चलचित्र इतिहास गर्विलो बनेको छ । कर्णालीमा कथा छ । जसले विश्वलाई हसाउन र रुवाउन सक्छ । कर्णालीले मीन भामजस्ता शक्तिशाली निर्मार्ता तथा निर्देशक पनि जन्माएको छ । जसले हात हालेको चलचित्रले विश्वव्यापी चर्चा बटुल्छ । करोडौँ व्यापार गर्छ । तर दुःख भनौँ, कर्णालीमा अझै पनि पर्दामा अभिनय गर्ने उतिसाह्रो कलाकार छैनन ।
सुमिना घिमिरे एक थिइन् । जसले महानायक राजेश हमालकै युगमा उनैसँग अभिनय गरिन् । एकाध चलचित्रमा अभिनय गरेर उनी हराइन् । उनी नेपालमा कर्णालीबाट नाम चलेकी एउटा हिरोइन हुन् । अहिले त्यो अवस्था फेरि शून्यमा झरेको छ । खुला रुपमा भन्दा कर्णालीमा नाम चलेका कुनै पनि पर्दामा देखिने हिरो हिरोइन छैनन् । किनकी त्यसको जग कर्णालीमै छैन ।
पछिल्लो समय एक आशा, एक अपेक्षा र एउटा विश्वास लिएर कर्णालीमा सक्रिय भइरहेका व्यक्ति छन्, चक्र चन्द । उनी एक अभियान्ता हुन् । दैलेखबाट मुश्किलले संघर्ष गरेर बनेका अभियाान्ता । दैलेखदेखि सुर्खेत, नेपालगञ्ज हुँदै काठमाडौँसम्मको यात्रामा उनले बनाएको एउटै परिचय अभियान्ताको हो । हाम्रै वरपरको वातावरण सफा राख्ने र सामाजिक चेतना फैलाउने उनको अभियान अहिले कर्णालीको चलचित्र क्षेत्र विकासमा केन्द्रित छ ।
यसका लागि उनले ‘कर्णाली इन्टरनेश्नल फिल्म फेस्टिभल’ प्लार्टफर्म निर्माण गरेका छन् । यही प्लार्टफर्मबाट उनले नेपाली चलचित्रका दिग्गज व्यक्तिलाई कर्णालीसँग जोडिरहेका छन् । चलचित्र विकास बोर्डका वर्तमान अध्यक्ष दिनेश डिसीदेखि नायक प्रदीप खड्का लगायत दिग्गज व्यक्तित्वलाई कर्णालीसँग जोडिरहँदा कर्णालीमा फस्टाउँदो चलचित्र पर्यटन उकास्न उनले हदैसम्मको मेहनत गरिरहेका छन् ।
यसैको जगमा उनले कर्णालीमा चलचित्र मात्रै होइन अब पर्दामा देखिने ‘हिरो हिरोइन’ जन्माउने फाउण्डेसन पनि बनाइरहेका छन् । कर्णालीमा चलचित्र क्षेत्र विकास भइरहँदा साहित्य, संस्कृति र पर्यटनले धेरै ठूलो फड्को मार्ने सम्भावना छ ।
यसका लागि उनले चलाइरहेको अभियान, कर्णालीमा बसालिरहेको चलचित्रको जग र देखिएको सम्भावना असिमित छ । यसका लागि कम्तीमा अझै दुई चार वर्षदेखि दश वर्षसम्म लाग्न सक्छ । तर त्यसपछि कर्णालीमा जुन पर्यापर्यटनसँगै चलचित्र पर्यटनले विकास लिनेछ, त्यस पछाडिको विशाल नामका रुपमा चक्र चन्द उभिन सक्छन् । यसअघि पनि थुप्रै व्यक्तिले कर्णालीमा चलचित्र निर्माण, निर्देशनदेखिको जग बसाउन नखोजेका होइनन्, तर धैर्यता र लगानी नपुग्दा हराउन पुगे ।
बदलिदो समय, राजनीतिक व्यवस्था र खुल्ला अर्थतन्त्रले चक्रको यो अभियानले सार्थकता पाउँला, तर कर्णाली भनेपछि धैर्यताको बाँध बलियो गरि बाध्न जरुरी छ । अनि मात्रै कर्णालीको भावी पुसताले नेपाली चलचित्र क्षेत्रमा चम्किने अवसर पाउनेछन् । अनि मात्रै यस पछाडिको सबैभन्दा ठूलो श्रेय पनि उनलाई जानेछ ।