हुम्ला। हुम्ला–बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको सीमा विवाद तथा दोहोरो झडपबारे बुझ्न गृह मन्त्रालयद्वारा गठित जाँचबुझ समितिको टोली यहाँ पुगेको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विमलराज पौडेल नेतृत्वको टोली आइतबार सिमकोट पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर खड्काले जानकारी दिए ।
उनका अनुसार दुई जिल्लाबीच भएको घटनाको स्थलगत यथार्थता बुझ्न यहाँ आएको टोली घटना भएको क्षेत्र लामपाटा, च्याचौर क्षेत्र पुगेर सिमकोट पुगेको हो ।
टोलीले सिमकोट बसाइँका क्रममा सीमा क्षेत्रका नागरिक, घटनामा संलग्न व्यक्ति र सीमा जोडिएका क्षेत्रका जनप्रतिनिधि, राजनीतिक दलका नेता र नागरिक अगुवासँग घटनाका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ ।
यसअघि, गत २–४ जेठसम्म सीमाको विषयलाई लिएर हुम्ला र बाजुराका नागरिकबीच भएको झडपले उग्रहरूप लिएपछि गृह मन्त्रालयले टोली गठन गरेको थियो ।
चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेर उक्त क्षेत्रमा प्रहरी चौकी निर्माण सुरु गरेपछि विवाद भएको हो । सीमा विवादले उग्ररूप लिँदा लाम्पाटामा दुई जिल्लाका स्थानीयबीच झडप हुँदा बाजुराका चार जना घाइते भएका थिए । घाइते चारै जनाको हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।
सोही विवाद समाधान गर्न यही ११ जेठमा नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोलको संयोजकत्वमा अध्ययन टोली र नेपाल प्रहरीका एसएसपी विमलराज पौडेलको संयोजकत्वमा छुट्टाछुट्टै समिति गठन गरिएको छ ।