काठमाडौँ : कर्णालीमा पहिलोपटक यातायात सिण्डिकेट तोडेका व्यवसायी रमेश कुमार सापकोटाले राजनीतिक सिण्डिकेट पनि तोडेका छन् । जेन्जी आन्दोलनपश्चात भएको प्रतिनिधिसभा चुनावमा सापकोटाले कर्णालीमा पहिलोपटक कांग्रेस र एमालेको राजनीतिक सिण्डिकेट तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुनामीसहित संघीय सांसद बनेका हुन् ।
फागुन २१ गते भएको प्रतिनिधिसभा चुनावमा उनले सुर्खेत क्षेत्र नं. २ बाट ३० हजार तीन सय ७८ मत ल्याएर विजयी भए । उनले नेपाली कांग्रेसका नारायणप्रसाद कोइरालालाई हराउँदै चुनाव जितेका हुन् । कोइरालाले १६ हजार एक सय छ्यानब्बे मत मात्रै ल्याए ।
झण्डै दोब्बर मतान्तरले सापकोटा जेन्जी विशेष प्रतिनिधिसभा चुनावमा जित हासिल गर्दै पहिलोपटक सांसद् बन्न सफल भएका हुन् । उनी डेढ वर्षअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी सुर्खेतको सभापति बन्दै नयाँ जोखिम मोलेका थिए ।
लामो समय नेपाली कांग्रेसमा रहेर राजनीति तथा व्यवसाय गरेका उनी नयाँ दलको लहरसँगै रास्वपा प्रवेश गरेका थिए । चार वर्षपछि हुने चुनावको तयारीका लागि रास्वपा आएका उनी जिल्ला सभापति बन्दै नेतृत्वमा रहेका थिए ।
तर जेन्जी आन्दोलनले गर्दा २०८२ सालमै चुनाव भएपछि उनले सभापतिको हैसियतले सुर्खेत क्षेत्र नं. का लागि टिकट पाएका थिए । देशभर रास्वपाको सुनामी तथा लहरको प्रभाव सुर्खेतमा पर्दा सापकोटा विजयी बन्न सफल भए ।
पन्ध्र वर्ष पहिले उनले कर्णालीमा पहिलो मध्यपश्चिम यातायातविरुद्ध सुर्खेत काँक्रेविहार यातायात सञ्चालन गरेर यातायात सिण्डिकेट तोडेका थिए । अहिले सुर्खेतमा दशकौदेखि राज गरिरहेका कांग्रेस तथा एमालेका उम्मेद्वारलाई हराउँदै नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव जित्न सफल भएका हुन् ।
जबकी उनी डेढ वर्ष पहिले मात्रै कांग्रेस छाडेर रास्वपा प्रवेश गरेका थिए । नयाँ नयाँ जोखिम मोल्न रुचाउने उनले यसपटक राजनीतिक जोखिम मोल्दै कांग्रेस एमालेको राजनीतिक सिण्डिकेट तोड्न सफल भएका हुन् ।
संयोग भनौँ, उनीसँगै कांग्रेस क्षेत्र नं. १ बाट यातयात व्यवसायी विष्णुबहादुर खड्का विजयी भएका छन् । उनी मध्यपश्चिम यातायातका अध्यक्ष हुन् । सम्भवतः अहिले उनले यो जिम्मेवारी दोस्रो व्यक्तिलाई दिएका छन् ।
पूर्णबहादुर खड्काका आफ्नै भाई विष्णुले लामो समयदेखि सापकोटालाई कांग्रेस पार्टीभित्र र व्यवसायमा पनि निरन्तर कर्नरमा पार्दै आएका थिए । त्यही पेलनाविरुद्ध विद्रोह गरेका सापकोटाले चुनाव मात्रै होइन, वर्षौदेखि सुर्खेतमा अधिपत्य जमाउँदै आएका कांग्रेसकै किल्ला तोड्न सफल भए ।
सुर्खेत क्षेत्र नं. १ मा पूर्णबहादुर खड्का र क्षेत्र नं. २ मा लामो समयदेखि हृद्यराम थानी विजय बन्दै आइरहेका थिए । तर यसपटक कांग्रेस विशेष महाधिवेशनका कारण उनीहरुको राजनीति नै समाप्त हुने अवस्था आएपछि उनीहरुले अन्तिम समयमा चुनाव नलड्ने घोषणा गरेका थिए । यसको फाइदा उठाउँदै सापकोटाले यसपटक कांग्रेस, एमाले र माओवादीको दबदबा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट पहिलोपटक चुनाव जित्न सफल भएका हुन् ।
सापकोटा कर्णालीमा रास्वपाबाट चुनाव जित्ने एक्ला प्रतिनिधिसभा सांसद् हुन् । उनी यसअघि कर्णालीखबरको कर्णालीका १०० व्यक्तित्व विशेष ‘कर्णाली १००’ सूचिमा पनि समावेश थिए ।