नाम : शुशिल थापा
पद : पूर्व सांसद, कर्णाली प्रदेश सभा
कर्णाली व्यक्तित्व नं. : १४
‘तपाईँहरुसँग बैठक बसिरहेको सांसद निलम्बन गरिसकिएको छ । उहाँको कुरा सुन्नेभन्दा कोरोना भाइरसबाट जोगिनुहोला सीडिओज्यू’ तत्कालीन दैलेखका प्रमुख जिल्ला अधिकारीलाई भन्दै शुशिल थापालाई होम क्वारेन्टाइनमा बस्न कर्णालीका प्रदेश सभामुख राजबहादुर शाहीको आदेश आयो ।
जेठ महिनाको चर्को घाममा भारतबाट फर्केका हजारौँ नागरिक स्थानीय स्कूलमा भेडा बाख्रा जसरी हुलिएका थिए । न स्वास्थ्य मापदण्ड थियो । न कोरोनाबाट जोगिने बलियो आत्मबल नै ।
भारतमा काम छाडेर नाकामा पनि सुरक्षाकर्मी छलेर मुश्किलले गाउँघर आइपुगेका नागरिक त्यतिबेला राज्यको अभिभावकत्व पाउनुपर्नेमा अपराधीजस्तो गरि निशानामा परेका थिए । आफ्ना नागरिकको यो हरिबिजोग भइरहेको सुनिसकेपछि ३१ वर्षको उमेरमा प्रदेश सांसद बनेका सुशिल थापाको मन सुर्खेतमा अडिएन ।
उनले लकडाउन भएको लगभग दुई महिनापछि आफ्नो निर्वाचन क्षेत्र दैलेख जाने निर्णय लिए । यसका लागि सभामुखसँग अनुमति लिनुपथ्र्यो । सभामुख आफ्नै जिल्लाबासी थिए । तर उनलाई सभामुखले अनुमति दिएनन् । सभामुखले आदेश र अनुमति नदिएपनि उनी एक जनप्रतिनिधि र नागरिकको अभिभावकका रुपमा दैलेख हिँडे ।
स्मरण रहोस्, त्यतिबेला कर्णालीमा पहिलोपटक कोरोना भाइरसबाट संक्रमित व्यक्ति पनि दैलेख जिल्लाकै थिए । उनी तीन महिनापछि दैलेख जान लाग्दा सुर्खेत काटेर दैलेखको सीमा गुँरासे उक्लिनै लाग्दा कोरोना भाइरसबाट संक्रमित भएर मृत्यु हुनेमा पनि दैलेख दुल्लुकै थिए ।
उनको मनमा डर पस्यो । कोरोनाले आफ्नो क्षेत्रका नागरिकको मृत्यु नै भइसकेपछि पनि राज्यको उपस्थिती छैन । स्वास्थ्य सजगकता छैन । महामारीमा औषधि आउने कुरै भएन । उनले गाडीको रफ्तार बढाए । सिटामोल, ग्लोभ्स, माक्स लगायत केही सामान थिए ।
छिटो संक्रमितलाई पु¥याउन पाए हुन्थ्यो भन्ने लाग्यो । बाटोमै दैलेखका प्रमुख जिल्ला अधिकारी, समन्वय प्रमुख, पालिका प्रमुख, स्वास्थ्य क्षेत्रका कर्मचारी प्रमुखलाई सीडिओ कार्यालयमा बैठकका लागि आह्वान गरिसकेका थिए ।
सदरमुकाम पुग्नेबित्तिकै सीडीओको अध्यक्षतामा बैठक बसाले । जे–जे भयो भयो । अब के के गर्नुपर्ने हो ? त्यो गरौँ । उनको पहिलो प्रस्ताव थियो । अनि तत्कालीन मन्त्रिपरिषद् बैठक (संघीय र प्रदेश)ले संक्रमित राख्नका लागि व्यवस्थित क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको थियो । बजेट कार्यान्वयन नहुने भएकाले सबै बजेट स्वास्थ्य क्षेत्रमा लगाउने निर्णय गरेको थियो ।
बैठकमा छलफल चल्दै थियो । सरकारले भनेअनुसार नै तीव्र गतिमा क्वारेन्टाइन निर्माण गर्ने र स्वास्थ्य मापदण्ड अपनाएर संक्रमितलाई सुरक्षित रुपमा राख्ने सरकारी नीति थियो । त्यही नीतिलाई सहयोग गर्न जनप्रतिनिधिका हैसियतमा युवा सांसद थापा आफ्नो निर्वाचन क्षेत्र दैलेख पुगेका थिए । त्यही बेला फोन आयो । सांसद थापालाई होइन । बैठकको अध्यक्षता गरिरहेका प्रमुख जिल्ला अधिकारीलाई । सभामुखकै फोन आएपछि उनी बैठकस्थलबाट बाहिर निस्किए । केही मिनेट कुराकानी गरे ।
अनि अनुहार अध्यारो पारेर पुनः बैठकस्थलमा प्रवेश गरेर सीडिओको कुर्सीमा बसे । सबैको मुखमा मास्क थियो । कोरोनाले जताततै निराशा थियो । जताततै अन्यौल थियो । महामारीमा अरुको भन्दा आफ्नै ज्यान जोगाउन हम्मे हम्मे थियो ।
त्यस्तो बेला कोही थियो, जसले हौसला थप्दै थियो । हिम्मत बढाएको थियो । के गर्ने ? के नगर्ने ? कसरी गर्ने ? कसले गर्ने ? यस्तो महामारीमा आफ्नै ज्यान दाउमा राखेर किन गर्ने ? भन्ने अन्यौलको भुमरीमा शुशिल थापा सांसदका रुपमा सीडीओ, पालिका प्रमुख, कर्मचारीका हाकिम लगायत सबैलाई हौसला थपिरहेका थिए ।
तर उनैलाई गाउँमा भाइरस फैलिइरहेका बेला सुरक्षित स्थान छाडेर संक्रमितको साथमा गएको नाममा आफ्नै जिल्लाका सभामुखले थाहै नदिई निलम्बन गरिएको आदेश सीडिओको कानमा दिएका थिए । र थापालाई होम क्वारेनटाइनमा बस्न भनियो ।
सीडीओले यो खबर उनलाई दिन सकेनन् । बैठक सकियो । बैठकअनुसार अब काम गर्ने निर्णय भयो । उनी बैठक सकिएपछि आफ्नो निर्वाचन क्षेत्रका स्कुल स्कुल पुगेर संक्रमितलाई हौसला दिन गाउँतिर लागे । राती राती पनि स्कुल पुगेर संक्रमितसँग हात मिलाएर हौसला दिन लागे ।
आफ्नै सरकार त धेरै टाढाको भयो । गाउँको सिंहदरबार पनि कार्यालयमै थन्कियो । तर एक युवा सांसदका जोशका साथ आएर हात मिलाउँदै ‘केही हुँदैन । मनोबल बलियो पारियो भने कोरोना भाइरसलाई जितेर बाँच्न सकिन्छ’ भन्दै थियो ।
संक्रमितमा आशा थपियो । रगतमा राहतको सञ्चार भयो । थोरै भए पनि हिम्मत बढ्यो । यो कुरा सरकारी क्वार्टरमा चर्को गर्मीमा चिसो एसीको हावा खाइरहेका सभामुख, प्रदेश सरकारका मन्त्री र मुख्यमन्त्रीले बुझ्नै कुरै भएन ।
उनी समयले भ्याएसम्म संक्रमित बसेका स्कुल स्कुलमा गएर हौसला दिएर आफ्नो घर फर्के । जहाँ श्रीमतीसँग तीन महिनापछि भेट भएको थियो । कारण, लकडाउन । गर्भवती श्रीमतिको साथ थोरै भएपनि समय बिताएर स्नेह बाड्न चाहन्थे । कोरोनाले आफ्नै घर परिवारमा अलग्गिएर क्वारेन्टाइन बनाएर सुत्ने तरखरमा थिए । त्यही बेला आइपुग्यो, प्रहरी र सशस्त्र प्रहरीको गाडी ।
दुई गाडीमा दर्जन बढी प्रहरी आएपछि उनी आत्तिए । त्यतिबेलासम्म कर्णाली प्रदेशसभाका सभामुखले कोरोना भाइरसको बेला आफ्नो निर्वाचन क्षेत्रका नागरिकको अवस्था बुझ्न गएका सांसद निलम्बन गरेको खबर आगोजसरी फैलिसकेको थियो ।
नागरिक र मिडियाकर्मीको ध्यान त्यो समाचारमा तानियो । सञ्चारमाध्यममा भाइरल त्यो समाचारले क्वारेन्टाइन बसिरहेका संक्रमित र युवाहरुको पनि ध्यान तान्यो । सुविधासम्पन्न क्वार्टरमा बस्ने सरकार प्रमुख र प्रतिनिधिभन्दा उनी एक कदम अगाडि बढेको कुराले बहस जन्मायो ।

तर संसदबाट निलम्बन गरेर उनलाई सरकारले अपराध नै गरेको जस्तो व्यवहार गरिरहेको थियो । मुश्किलले घर पुगेका उनलाई सभामुखकै निलम्बन पत्र र सरकारको आदेशमा राती ३ बजे सुर्खेत फर्काइयो ।
आमाबुवा र आफन्तले निकै कर गरेपछि उनी आफ्नै घर परिवार बसेको घरमा क्वारेन्टाइन बसे । बिहान मुख्यमन्त्रीको फोन आयो । उनी मुख्यमन्त्रीसँगै रिसाए । जनताको सेवा गर्न जाँदा निलम्बन गर्ने ? अपराध नै गरेजसरी व्यवहार गर्ने ? यही हो हाम्रो सरकारको रवैया ? उनले मुख्यमन्त्रीमाथि नै एकपछि अर्को प्रश्न गरे । मुख्यमन्त्रीले सम्झाए । सभामुखलाई निलम्बन फिर्ता लिन आग्रह गरे । आम नागरिक र मिडियाकर्मीको समर्थन पनि उनलाई थियो ।
त्यही बेला उनले स्थानीय सञ्चारमाध्यममा भनिदिएका थिए, ‘नागरिकलाई भइरहेको संक्रमण मलाई होस् । कोरोना मलाई लागोस । मलाई लागेपछि मैले बुझ्नेछु यसको पीडा । अनि मैले अरु सांसदलाई पनि सार्नेछु । किनकी म प्रदेशसभाका बैठकमा बसिरहेको छु । मपछि मन्त्री, मुख्यमन्त्री र सभामुखलाई पनि कोरोना संक्रमण हुनेछ । अनि सरकारका प्रमुख र प्रतिनिधलाई संक्रमण भएपछि बल्ल थाहा पाउनेछन्, यसको पीडा । छटपटी । आत सुक्ने ज्वरो । अनि घरपरिवार, गाउँ र राज्यबाटै अपहेलित भएर स्कूलका क्वारेन्टाइनमा ज्यान फाल्नुपर्ने बाध्यताको सन्नाटा । त्यसैले कोरोना पहिले मलाई लागोस् ।’
उनले यसरी सरकार र सरकार प्रमुखको ध्यानाकर्षण गराएका थिए । तर त्यो सन्देश बुझ्नुको साटो आफ्नै जिल्लाबासीका सभामुखले निवलम्बन गरिदिए । तर पनि उनले आफ्नो धर्म छाडेनन् । आफू सांसद हुनुको मर्म र जिम्मेवारी छाडेनन् । अन्ततः उनी तातेपछि पुरै प्रदेश सरकार थोरै भएपनि तात्न थाल्यो । उनको कदमले सरकारलाई जिम्मेवार बनायो ।
एक तातो रगत भएको युवा सांसद हुनुका नाताले उनले गरेको कर्म थियो । एक सामान्य कर्म । सायद, यसैकारण हुन सक्छन्, उनी कर्णालीमा रोलमोडल युवा नेता हुन् । दैलेखको कालभैरवमा जन्मिएका उनी सुर्खेतमा क्याम्पस पढ्दा चिनिएका युवा नेता हुन् ।
सुर्खेतको शिक्षा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सचिव भएपछि युवा नेताको परिचय बनाएका उनले त्यही धरातलबाट उभिएर युवा नेतृत्वको पहिचान दिँदै दैलेख क्षेत्र नं. २ बाट २०७४ सालमा नयाँ संविधान र संघीयता आएपछि भएको पहिलो चुनाव जितेर प्रदेश सांसद बने ।
प्रदेश सांसद बनेपछि उनले आफ्नो बोली बुलन्द पार्ने हदप्रयास गरे । मन्त्री र मुख्यमन्त्रीहरुको निर्वाचन क्षेत्रमा मात्रै बजेट हाल्ने सिण्डिकेटविरुद्ध प्रदेश सभामा एक्लो चट्टानी अडान बोकेर प्रतिवाद गर्दै बजेट वितरणलाई समावेशी र समान बनाउन भूमिका खेले ।
‘उमेरले मात्रै होइन, युवा विचारले पनि परिपक्व हुनुपर्छ’ भन्ने सिद्धान्त बोकेर राजनीतिमा हिँडिरहेका शुशिल थापा कर्णाली कस्तो बनाउने ? भन्ने भिजन र मिसन बोकेर आगो ओकल्ने युवा नेता हुन् ।
उनीसँग आफ्नो मात्रै होइन, सिगो कर्णाली विकास गर्ने मोडालिटी छ । तर उनको त्यो भिजन र मिसन बुझन्े माथिल्लो तहका नेता र काम गर्न वातावरण बनाइदिने सरकारी संयन्त्रको आवश्यकता छ ।
‘अबको युग उत्पादन गरेर मात्रै उपभोग गर्नुपर्छ’ भन्ने आवश्यकतालाई प्राथमिकतामा राखेर विकासको काम अगाडि बढाउनुपर्छ भन्ने सोच राखेका उनीजस्ता युवा नेताले सायद कर्णालीको सर्वाङगीण विकासमा ठूलो योगदान दिन सक्छन् । तर त्यसका लागि कति समय कुनुपर्ने हो र कहिले पालो आउने रु कर्णालीका हजारौ युवाहरुको प्रश्न मात्रै होइन, अन्यौलपूर्ण समयको प्रतिक्षा व्यग्र बनेको छ ।