नाम : पार्वती बिसुन्के
पद : पूर्व सांसद, प्रतिनिधिसभा सदस्य
कर्णाली व्यक्तित्व नं. : २२
नेपालको राजनीतिबारे धेरैलाई थाहा छ । तर कमैलाई थाहा होला, कांग्रेस सभापति शेरबहादुर देउवा पाँचपटक प्रधानमन्त्री बनेपछि बल्ल उनकी पत्नी आरजु देउवा राणा परराष्ट्रमन्त्री बनिन् । २०५९ सालमै प्रधानमन्त्री पहिलोपटक बनेका देउवा पछिल्लोपटक २०७९ सालमा पनि प्रधानमन्त्री थिए ।
तर उनकी पत्नी राणालाई परराष्ट्रमन्त्री बन्न २०८२ साल कुर्नुपर्यो । नेपालको राजनीतिमा आफ्ना मान्छे माथिल्लो पदमा भएपछि परिवारवाद र नातावादका कुनै पनि मान्छे जुन पद पनि पाउन सक्छन् ।
तर त्यसका लागि पनि कम्तीमा २० देखि ३० वर्ष लाग्छ । उदाहरण आरजु राणा देउवा हुन् । यसलाई पुष्टि गर्ने अर्को आधार हुन्, प्रचण्ड । जनयुद्ध लडेर नेपालमा गणतन्त्र, संघीयता र नयाँ संविधान स्थापित गरेका प्रचण्डले पत्नी सीतालाई त मन्त्री बनाएनन् । उनको चाहना थिएन । केही पछि स्वास्थ्य अवस्था पनि जटिल बन्यो । अन्ततः उनले प्राण त्यागिन ।
तर प्रचण्डले धीत मर्नेगरी बुहारी बिना मगर र छोरी रेणु दाहाललाई अघाउन्जेल मन्त्री र मेयर बनाए । छोरीलाई जिताउनैका लागि प्रचण्डले चितवनको कांग्रेस राजनीति नै सिध्याएका थिए । उनको पार्टीभित्र र बाहिर चर्को आलोचना भएपनि उनले बुहारीलाई मन्त्री, छोरीलाई, अर्की छोरीलाई स्वकीय सचिव, भाईलाई राष्ट्रियसभा अध्यक्ष बनाई छाडे ।
नेपाली राजनीतिमा यस्ता कैयौँ उदाहरण छन्, जसले आफ्ना वरिपरीका र नातावादलाई मात्रै राजनीति र अवसरमा स्थान दिन्छन् । उनीहरुको नजरमा समाजमा अपहेलित, विचलित, विभेदले दबिएका मान्छे सित्तिमित्ती पर्दैनन् ।
यति जटिल राजनीति सजिलो गरि नेताहरुले बुझाउँछन् भने एउटा दलितभित्र पनि असाध्यै विभेद र मारमा परेको सार्की समुदायबाट कर्णालीका चेली नेपालको केन्द्रीय राजनीतिको हिस्सा कसरी बन्न सकिन होला ? उनी जसरी जुन दिन नेपालको सार्वभौम संसद, प्रतिनिधिसभाको समानुपातिक सांसद बनिन्, त्यही दिन उनले दैलेखबाट नेपालको इतिहासमा आफ्नो नाम लेखेकी हुन् । जसको नाम हो, पार्वती विसुन्के ।
दैलेखबाट विद्यार्थी, युवा र महिला राजनीति गर्दै नेकपा एमालेको छत्रछायामा हुर्किएकी विसुन्के दलित महिला हुन् । जसले करिब ३० वर्ष नेकपा एमालेको राजनीतिमा संघर्ष गरिन् । पैँसा, पावर, आफन्त, नातावाद, कृपावाद र सबैभन्दा बढी पैँसावादले काम गर्ने नेपालको राजनीतिमा पार्वतीसँग यी कुनै पनि कुरा थिएनन् । उनले जन्मिदा नै घरबाटै विभेदको मार खेप्न सुरु गरेकी थिइन् ।
दलित परिवारमा छोरी भएर जन्मिनु जति सजिलो छ, त्यति गाह्रो छ, छोरीकै रुपमा यो समाजमा आफ्नो परिचय आफैँ बनाउन र इतिहास लेख्न । एक नारी तथा महिलाका रुपमा यी सबै कुरा पार्वतीले लेखेरै छाडिन् ।

झण्डै २० वर्ष एमालेको राजनीतिमा बिताएकी उनले घरदेखि समाज र दैलेखदेखि काठमाडौँसम्म गरेको संघर्षको लामो कथा छ । जुन कथा यो छोटो परिचयमा समेट्न मुश्किल छ । तर उनले घर, समाज, गाउँ, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म दलित भएकै कारण खाने गासदेखि बस्ने कोठा अर्थात बाससम्म विभेद खेपेको दिन थिएन ।
तर पनि उनले २०७४ सालको चुनावमा एमालेबाटै समानुपातिक सांसदका रुपमा प्रतिनिधिसभामा प्रवेश पाइन् । सानैदेखि बोल्न नडराउने उनको त्यही शक्तिले राष्ट्रिय राजनीतिमा थोरै भएपनि हिस्सा पायो । र, आफ्नो नाम तथा इतिहास बनायो । उनी संसद, सडक र सरकारमा संघर्ष गर्दै थिइन् । पार्टी विभाजन भयो । उनले पार्टी हुकुमभन्दा विद्रोह रोजिन् । आफ्नो जीवन नै विद्रोहमा समर्पण गरेकी उनी अहिले एमालेबाट विद्रोह गरेर बनेको एकिकृत समाजवादी पार्टीमा आबद्ध छिन् ।
चार वर्ष प्रतिनिधिसभामा उनले दलित, महिला, समानुपातिक व्यवस्था र कर्णालीबारे अनेक आवाज उठाइन् । कति सुनिए, कति सुनिएनन् । तर घरको भुईदेखि काठमाडौँको चिल्लो सडकसम्म संघर्ष गरेर उनले बनाएको इतिहास सानो र कमको छैन । जसले आज कर्णालीको आवाज संसद्मा एक समय बुलन्द पारिन्, र, आफ्नै परिचय संसारभर फिजाइन् । सायद, कर्णालीका धेरै महिला तथा दलित समुदायमा उनको संघर्ष, मेहनत र सफलता प्रेरणा बनिरहेको छ ।
उनी सांसद भएबेलाको पीढि मात्रै होइन, आउने सयौँ पुस्ताले पनि कम्तीमा उनको संघर्षलाई सलाम गर्नेछ । किनकी चुल्हो छोइएकी नाममा, अन्तरजातीय विवाह गरेकै नाममा दलितहरु मारिएको जिल्ला तथा प्रदेशबाट उनले त्यस्तो संघर्ष गरिन्, जसले नेपालको राजनीतिमा आफ्नो नाम स्वर्णिम अक्षरले लेख्ने इतिहास राखिन् ।