नाम : गोविन्द रिजाल
पेशा : कर्मचारी
कर्णाली व्यक्तित्व नं. : ५८
नेपाल एकिकरणका क्रममा गोरखाका राजाहरुले काठमाडाँै कब्जा गरे । काठमाडौँ कब्जा गरेपछि उनीहरुले त्यतिबेलाको राजधानीमा रजाई गरे । अनि सुरु भयो, पश्चिमतिरको लडाई । जहाँ सिँजा राज्य सबैभन्दा शक्तिशाली थियो । बिस्तारै लड्दै, जित्दै, नेपालमा गाभ्दै उनीहरु सिँजा पुगे । सिँजा त्यही ठाउँ हो, जहाँबाट नेपाली भाषाको उत्पति भएको थियो ।
अझ भनौँ, खस भाषाबाट रुपान्तरित भएर नेपाली भाषाको प्रचलन सुरु भएको हो । खस भाषाको उद्गम बिन्दुमा लडाई गरेर गोरखाली राजाहरुले जितको झण्डा गाडेपछि कर्णालीका दूरदिन सुरु भए । खस भाषालाई पन्छाउँदै नेपाली भाषालाई राष्ट्रिय भाषा बनाइयो । अनि आफैँमा धनी, प्राकृतिक रुपले भरिपूर्ण र खाद्यान्नमा पनि आत्मनिर्भर कर्णालीलाई काठमाडौँबाट सँधै पछौटे र विकटताको नाम दिइयो । जसको मुख्य कारण हरुवा राज्यलाई सेवा र सुविधा दिन बञ्चित गरियो ।
त्यसपछि पाँच विकास क्षेत्रको वर्गीकरण गरिँदा मध्यपश्चिमका रुपमा कर्णाली सबैभन्दा गरिब रह्यो । अरु ठाउँबाट त्यतिबेलाका ठूला मान्छेहरु नेपाल राज्य अर्थात काठमाडौँसम्म पहुँच बनाएर आफ्नो क्षेत्रको विकासमा लागे । तर कर्णालीका ठूला मान्छे विकटताले गर्दा काठमाडौँसम्म पुग्नै सकेनन्, अनि पुगेपनि खस भाषाकै कारण विभेद भोेगेर फर्किए ।
कर्णालीलाई सँधै सौतेनी व्यवहार गर्ने काठमाडौँमा राजनीतिक रुपमा नेता होस् वा प्रशासनिक रुपमा कर्मचारीतन्त । सबैले कर्णालीले विकट बनाइरहे । किनकी काठमाडौँको मुटुमा कर्णालीको मान्छेहरुको उपस्थिती थिएन । उपस्थिती भएपनि निर्णय गर्ने अधिकार र केन्द्रबिन्दुसम्म पुग्ने आँट भएन ।
तर यतिका लामो इतिहासलाई पल्टाउँदै दैलेखका गोविन्द रिजाल कर्मचारीतन्त्रबाट त्यही काठमाडौँको पहिलो प्रमुख जिल्ला अधिकारी बने । विश्वव्यापी महामारी कोरोना भाइरस अर्थात कोडिभ-१९ को कठिन समय पार गरेर दोस्रो लहर फैलिदै गर्दा रिजाल कर्णालीबाट काठमाडौँको पहिलो सीडिओ बनेका थिए ।

उनी सीडिओ भन्दा त्यतिबेलाको सिँजा राज्यका एक प्रतिनिधि काठमाडौँको मुटुमा रजाई गर्न पुगेको चर्चा भएको थियो । सबैले सम्मान तथा प्रोत्साहन गरेका थिए । त्यो किन पनि महत्वपूर्ण थियो भने नेपाल एकिकरणपछि गोरखाको राजतन्त्र, राणातन्त्र, प्रजातन्त्र, लोकतन्त्रपछि आएको गणतन्त्र र संघीयतापछि मात्रै काठमाडौँमा कर्णालीका एक मामुली नागरिकको प्रशाससनिक यात्रामार्फत जिल्लागत नेतृत्व सम्भव भयो ।
यतिका वर्ष कर्णाली काठमाडौँबाट कति धेरै अपहेलित थियो, कति धेरै पछौटे थियो, कति धेरै पिछडिएको थियो भन्ने एक उदाहरण हुन सक्छ । तर जब गोविन्द रिजालले काठमाडौँ प्रमुख जिल्ला अधिकारीको कुर्सीमा बस्न सफल भए, त्यसपछि कर्णालीका ब्युरोक्र्याटहरुले काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा आफ्नो रुचि र प्रतिष्ठाको विषय बनाउन थाले ।
रिजालपछि दैलेखकै घनश्याम उपाध्याय पनि काठमाडौँको प्रमुख जिल्ला अधिकारी बने । सायद उनीपछि अर्को कोही काठमाडौँको सीडिओ बन्दा पनि त्यही महसुस हुने । अहिले त प्रमुख जिल्ला अधिकारी मात्रै होइन, नेपालको कर्मचारीतन्त्रमा स्याङ्जा, झापापछि दैलेख धेरै लोकसेवा आयोगमार्फत नेपाल सरकारको कर्मचारी बन्ने सूचिको तेस्रो स्थानमा देखिन्छ ।