नाम : टीकाराम गौतम, यामबहादुर बिसी, गोपालसिंह रजवार र हरिबहादुर कुँवर
योगदान : कर्णाली प्रदेश निर्माणका लागि रगत बगाएकाहरु
कर्णाली व्यक्तित्व नं. : १
उनीहरु एक सामान्य मानिस थिए । नागरिक थिए । अरुप्रति ठूलो आशा थिएन । आफैँप्रति ठूलो भरोसा थियो । परिवारको जिम्मेवारी काँधमा थियो । आफ्नै सपना थियो । भविष्य थियो । परिवारको आशाको त्यान्द्रो थियो ।
त्यही बेला वर्षौ लडेर ल्याएको नयाँ संविधान, गणतन्त्र र संघीयता ल्याएका नेताहरुले देश भागबण्डामा लगाए । नेताहरुको भागबण्डामा प्रदेश बाँडियो । ठूला नेताहरुको ठूलो भागमा प्रदेश पारियो । ठूलो नेता नभएको ठाउँलाई प्रदेश दिइएन । दिनैपर्ने प्रदेश पनि लुम्बिनी र सुदूरपश्चिमको जिम्मा लगाइयो ।
आफूलाई ठूलो नेताहरु भन्नेहरु खासमा नेता थिएनन्, नेताहरुका दास थिए । कार्यकर्ताका नाममा पञ्चायतकालजस्तै आदेशपालक थिए । राज्य पुनर्सरंचनाका क्रममा ठूला नेताहरुको दास भएका कार्यकर्ताले आफ्नो भूगोललाई छुट्टै प्रदेश भन्न सकेनन् । त्यो प्रदेश माग्न सकेनन् । त्यो प्रदेशका लागि अडान राख्न सकेनन् । खासमा नेताहरु त्यतिबेला नेता थिएनन्, आफ्नै नेताहरुको दास थिए ।
किनकी उनीहरुलाई नेता बनाउनेदेखि राज्यव्यवस्था फेरेर नै सत्ताको नेतृत्वमा पुगाउने जनता थिए । उनीहरुले आफ्नै रगतको बलि चढाएर नेताहरुलाई परिवर्तनको नायक बनाएका थिए । रगतको बलिदान दिनेहरु हिजो राणाशासन फाल्ने बेलाका जनता थिए । जसले पहिलोपटक राणाको अन्यायविरुद्ध विद्रोह गरे । बदलामा उनीहरुलाई झुण्ड्याएर मारियो । अमर शहिद भए ।
राजाले निरंकुश शासन लाद्ने बेला पनि जनता सडकमा आए । गोली खाए । नेताहरु हौँसिए । राजा डराए । जनताको रगत बगेपछि डराएका राजाले लोकतन्त्र फिर्ता दिए । राजा र राजतन्त्र फाल्नैका लागि परिवर्तनको बिगूल बज्यो । जनताले बलिदान दिए । नेताहरु जोगिए । हजारौ जनता मरे । हजारौँ जनताले ल्याएको नयाँ संविधान, गणतन्त्र र संघीयतामा पनि कर्णाली अटेन ।
नेताका दासहरुले कर्णालीको अस्तित्व मेटिदा पनि सित्तिमित्ति बोल्न सकेनन् । त्यतिबेला आफ्नो भूमि अरु कसैको प्रदेशको भूमिमा समाहित हुँदा मर्माहत भएका पत्रकारुले प्रश्न सोध्दा आफूलाई ठूला नेता भन्ने नेताका दासहरुले ‘म अहिले बोल्दिन भनेका थिए ।’ सारमा उनीहरु जनताको अगाडि सत्य बोल्न डराउँथे । नेताको दासत्व स्वीकार थियो । तर प्रदेश र भूगोलको रक्षाका लागि आँट थिएन ।
आफू टेकेको भूमि नाँसिन लाग्दा, अस्तित्व मेटिन लाग्दा जनता फेरि सडकमा आए । ती अरु थिएनन् । कर्णालीका जनता थिए । एक समय देशकै सबैभन्दा शक्तिशाली सिँजा राज्यका नागरिक थिए । उनीहरुले यतिबेला नेताहरुको बोली सुनेनन् । हजारौँ जनताले रगत बगाएर ल्याएको गणतन्त्र, नयाँ संविधान र संघीयतामा मात्रै चित्त बुझाएनन् ।
फेरि एकपटक बलिदान दिनुपर्ने आवश्यकता सम्झिए । सडकमा आए । कर्णाली प्रदेश माग गरे । नारा लगाए । आवाज उठाए । त्यतिबेला सत्तामा कुनै राजा थिएनन् । कसैको राजतन्त्र थिएन । नेताका दासहरु नै सत्ताको कुर्सीमा थिए । जनताले आफ्नो भूगोलको नामाकरण माग गरेका थिए । जहाँ उनीहरु वर्षौदेखि राज्यबाट पीडित थिए । पछौटे व्यवहार भोगिरहेका थिए ।
अन्याय सहिरहेका थिए । यतिबेला आफैले भोट हालेर दुईदुईपटक पठाएका जनप्रतिनिधिले घात गरेका थिए । तर पनि उनीहरुले गुनासो गरेनन् । सडकमा आफ्नै भूगोलको रक्षाका लागि । अस्तित्त्वका लागि । अधिकारका लागि २०७२ साउन २३ गतेको वर्षे झरीमा आन्दोलनको ज्वारभाटा उठ्यो । हजारौँ हजार कर्णालीका जनताहरु सडकमा आए ।
सदरमुकाम सुर्खेत रणभूमि बन्यो । जुम्लामा पनि आन्दोलनको आगो सल्कियो । राज्यसत्तामा बसेकाहरुले आन्दोलन दबाउन प्रहरीलाई गोली चलाउन आदेश दिए । अधिकार दिनुभन्दा पहिले नै गोली दागे । आफ्नै नागरिकमाथि अन्धाधुन्दा गोली र बन्दुकको नालले प्रहार गरेर चार जनाको प्राण्पखेरु उडाए ।
जो नेता थिएनन् । कुनै दलका कार्यकर्ता थिएनन् । कुनै सिद्धान्त र विचारमा आस्था राख्थे होलान् । तर पनि कुनै पार्टीको झोला बोकेका थिएनन् । आफ्नै भुगोलको नामका लागि आन्दोलनको आगोमा मिसिएर राज्य सत्ताा बसेकाहरुको होस् ह्वास उडाएका थिए ।
सरकारमा बसेका नेता र राज्यसत्ताको बन्दुकले उनीहरुको बाच्ने अधिकार खोसिदियो । नेताहरु चुपचाप लागे । टाउको लुकाउने ठाउँ खोजेर भागे । जनता आन्दोलित भए । आफुस्ँगैका साथीहरु सडकमै ढलेपछि नेताका घर घर पुगेर आन्दोलनको आँधीबेहरी ल्याइदिए ।

कर्णालीका जनताहरुको शक्ति र सामथ्र्य देखेर नेता डराए । नेताका दासहरु पनि डराए । अन्ततः जनताले मागेको प्रदेश दिनैपर्ने निष्कर्षमा पुगे । आफ्नो भूगोलको रक्षाका लागि छातीमा गोली लाग्दा पनि जनता डराएनन् ।
राज्यसँग । सरकारसँग । राज्यको बन्दुकसँग । बन्दुकले दागेको गोलीसँग नडराएका जनताले फेरि एकपटक बलिदान दिए । उनीहरुले आफ्नै शरीरको रगत चढाए । आफ्नो भूगोलको रक्षाका लागि हिजो अंग्रेजसँग लड्दा नेपाली हारेका थिएनन् । राणासँग लड्दा नेपाली हारेका थिएनन् । २४० वर्ष शासन गरेका राजासँग पनि जनता हारेनन् । अनि आफेँले बनाएका नेता र नेताका दासहरुसँग जनता हार्ने अवस्था थिएन् ।
अन्ततः १३ दिन लामो आन्दोलनको बलमा तत्कालीन सरकार र शीर्ष दलका नेताहरु बाध्य भएर कर्णालीबासीलाई ‘कर्णाली प्रदेश’ दिन तयार भए । भदौँ ४ गते कर्णाली प्रदेश जन्मियो । आन्दोलन सकियो । १० जिल्ला एउटै भूगोलमा समेटियो । आन्दोलनमा रगतको बली चढाउनेहरु अमर शहिद भए । जसको रगतले कर्णाली प्रदेश जन्मियो । कर्णालीबासीको भूगोल र अस्तित्व जोगियो ।
उनीहरुको नाम थियो, ‘टीकाराम गौतम, यामबहादुर बिसी, गोपालसिंह रजवार र हरिबहादुर कुँवर ।’
टीकाराम, यामबहादुर र गोपालसिंह सुर्खेतका हुन् । हरिबहादुर भने जुम्लाका हुन् । उनीहरु प्रहरीको गोली लागेर सडकमै ढलेपछि उनीहरुको घरको दियो निभ्यो । आशा टुट्यो । सपना उड्यो । भरोसा हरायो । मनमा अनेक पीडा छ । तर आफ्नो घरको मूल खाँबो प्रदेश जन्माउन भाँचिदा वा मारिदा उनीहरु सगौरव गर्व गर्छन् ।
त्यसपछि नेताका दासहरुको फेरि अर्को ताण्डव सुरु भयो । कर्णालीमा सरकार बन्यो । कार्यकर्ताको रजाई चल्यो । उनीहरुले आफू बस्ने मन्त्रालय र कुर्सीका भित्ताहरुमा शहिदका फोटोहरु टाले । तर उनीहरुको घरको निभेको दियो र टुटेको आशाको बत्ती बाल्न सकेनन् । अनेक सपना देखाइयो । तर एउटै पूरा गर्न सकेनन् । केही पैँसाको बिटोमा उनीहरुको सपना, बलिदान र भरोसा टाल्न खोजियो । तर त्यसले उनीहरुको मनको पीडा कम भएको छैन । बरु झन् बढी आक्रोश बढेको छ ।
त्यसैले सिंगो कर्णाली प्रदेश जन्माउने चार जना महान शहिदहरुको रगत कसैसँग तुलना हुन सक्दैन् । उनीहरुको योगदानको बलिदान कर्णालीमा कसैले कहिल्यै भूल्न सक्दैन । त्यसैले हामीले पहिलोपटक कर्णाली चिन्ने र चिनाउने, बन्ने र बनाउने, सपना देख्ने र देखाउनेहरुको भीडमा ‘कर्णालीका १०० व्यक्तित्व’ छनौट गर्दा एक नम्बरको शीर्ष स्थान कर्णाली प्रदेश जन्माउने चार जना महान शहिदहरुलाई दिएका छौँ । जो हामीमाझ छैनन्, तर उनीहरुको रगतले सिञ्चिएको प्रदेशका नागरिक भनेर देश विदेशमा गर्व गरिरहेका छौँ ।
उनीहरुप्रति सदैव शीर झुकाएर सम्मान । उनीहरुका आफन्तहरुप्रति सदैव सलाम । उनीहरुको सपना र बलिदानप्रति सदैव ध्यानाकर्षण हुँदै हामीले पहिलो ‘कर्णाली १००’ को सुरुवात र शीर्ष स्थान दिएर सूचि सार्वजनिक गरेका छौँ ।
अहिले कर्णाली प्रदेश सरकार र सरोकारवालाहरुको जुनसूकै नेतृत्वले पनि उनीहरुको रगत र योगदानको बलिदान शब्दमा होइन, व्यवहार र सम्मानमा गरोस् भनी कामना गर्न चाहन्छौँ ।
यो पनि पढ्नुहोस्ः
आज कर्णाली प्रदेश स्थापना दिवस
‘कर्णालीका १०० व्यक्तित्व’को पूरा सूचि सार्वजनिक
सपना देख्नेहरुको सूचि ‘कर्णाली १००’