काठमाडौँ : नेपाल पत्रकार महासंघमा चुनावको माहोल तात्दै गएको छ । अध्यक्षदेखि सदस्यसम्म प्यानल नै बनाएर पत्रकारहरु चुनावी मैदानमा छन् । महासंघको लेखा समिति संयोजकमा पत्रकार लक्ष्मण कार्की चुनावी मैदानमा छन् ।
मकालुखबर डटकमका सम्पादक समेत रहेका कार्कीसँग झण्डै दुई दशकको पत्रकारिताको अनुभव छ । विगतमा केन्द्रीय सदस्य भएको अनुभवले उनी यसपटक महासंघको लेखा समिति संयोजकमा उम्मेद्वार बनेका हुन् ।
दुवै प्यानलबाट भन्दा स्वतन्त्र रुपमा महासंघको लेखा समिति पदमा उम्मेद्वारी दिएका हुन् । आखिर लक्ष्मण कार्की को हुन् ? संरक्षिप्त विवरण यसप्रकार छ ।
को हुन् लक्ष्मण कार्की ?
२०६० सालमा तेह्रथुमबाट प्रकाशित हुने तेह्रथुम साप्ताहिकमा समाचार लेख्ने र हकरको कामबाट लक्ष्मण कार्की पत्रकारितामा जोडिएका हुन् ।
पत्रकारितामा तातेताते गर्ने क्रममा उनी हिमालय टाइम्स राष्ट्रिय दैनिक र ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिकमा जिल्ला संबाददाता बने । त्यसपछि रेडियो सगरमाथा, कान्तिपुर एफएम, उज्यालो रेडियो नेटवर्क, शिक्षापत्र अनलाइन हुँदै अहिले मकालुखबर डट कमको सम्पादकका रुपमा सक्रिय पत्रकारितामा छन् ।
लक्ष्मण कार्की नेपाल पत्रकार महासंघको वर्तमान कार्यसमितिमा खुलातर्फको केन्द्रीय सदस्य छन् । उनको झण्डै २ दशकको पत्रकारितायात्रा पत्रकारिताको व्यावसायिक धर्म, मूल्यमान्यता र सिद्धान्तलाई मियो मानेर अघि बढिरहेको छ । एक हक्की, निडर, पेशाप्रति प्रतिवद्ध र निष्ठावान पत्रकारका रुपमा आफूलाई चिनाएका लक्ष्मण कार्की पत्रकार र पत्रकारिताका लागि लागिरहेका र लागिरहने पात्रका रुपमा परिचित र चर्चित छन् ।
२०६२/०६३ सालको आन्दोलन तथा प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको आन्दोलनमा सहभागी हुने क्रममा उनी सात पटक पक्राउ परे । काठमाडौंका ठाउँठाउँमा हुने आन्दोलनमा सहभागी हुँदा दिनहुँजसो धरपकड, लाठीचार्ज, पक्राउ र हिरासतमा पुगे पनि उनी निरन्तर आन्दोलनमा लागिरहे । प्रहरीका लाठी, बुट र पानीका फोहरा खेपेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उनले उठाएको आवाज नेपाली पत्रकारिताको संकटको घडी र त्यसबाट मुक्त बनाउने आन्दोलनमा समेटिएको छ ।
नेपाल प्रेस इन्टिच्य्ुटको एक बर्षे डिप्लोमाइन जर्नजिल्ममा सर्वोत्कृष्ट प्रशिक्षार्थी बनेपछि २०६४ सालमा रेडियो सगरमाथामा प्रशिक्षार्थी पत्रकारका रुपमा आवद्ध भएका लक्ष्मण कार्की त्यहि वर्ष संवाददाताका रुपमा रेडियो कान्तिपुरमा आवद्ध भए । करिब ४ बर्षपछि उनको नयाँ गन्तब्य बन्यो, उज्यालो रेडियो नेटवर्क। उनी उज्यालोमा बरिष्ठ डेस्क सम्पादक बने र साढे ८ बर्ष बिताए ।
उज्यालोको स्थायी जागिर छाडेर श्रमजिवीको पक्षमा
रेडियोमा एक कुशल समाचार प्रस्तोता र कार्यक्रम सञ्चालकका रुपमा चिनिएका लक्ष्मण कार्की सुशासन, समाज र विकाशका पक्षमा कलम चलाउन मन पराउँछन् । सुशासनप्रतिको लगावकै कारण विद्यार्थी छँदादेखि नै असल शासनको अभियानमा पनि आवद्ध रहँदै आएका छन् ।
कोभिड १९ ले सञ्चार क्षेत्रलाई पारेको प्रभावका क्रममा लक्ष्मण कार्की कामविहीन बन्न पुगेका पत्रकारको पक्षमा आवाज बुलन्द बनाउँदै सडकको मोर्चामा पनि अग्रभागमा रहे । उनी स्वयम् पनि कोभिड कहरकै शिकार बने र केही समय कामविहीन बन्न पुगे । लक्ष्मण कार्की श्रमजीवी पत्रकारका हकहितका पक्षमा बलियो र स्पष्ट गरि आवाज उठाउने पत्रकारमध्येका एक हुन् । उनी अहिले पनि सक्रिय पत्रकारिताका साथै पत्रकार र पत्रकारिताको हितको पक्षमा लागिरहेका छन्, बोलिरहेका छन्, लेखिरहेका छन् ।
नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यका रुपमा विताएको एक कार्यकालमा उनले महासंघलाई पत्रकारको आस्था र पत्रकारिताको आशाको थलो बनाउने कुरालाई सँधै उठाइरहे । सदस्यता शुद्धिकरणको विषय होस् वा पारदर्शिता र जवाफदेहीताको सन्दर्भ महासंघका हरेक बैठकमा उनको प्राथमिकतामा परे ।
चैत २५ गते हुन गइरहेको नेपाल पत्रकार महासंघको चुनावमा उनी लेखा समिति संयोजकमा उम्मेदवार बनेका हुन् ।