काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड बिमल घर्तीमगरले आफ्नो फुटबल यात्रा टुंग्याएको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत भावुक सन्देश लेख्दै फुटबलबाट सन्न्यास लिएको बताएका हुन्।
बिमलले आफ्नो फुटबल यात्रा बुटवलबाट सुरु भएको थियोर त्यहाँबाट काठमाडौं हुँदै राष्ट्रिय टोलीसम्म पुगेको थियो। देशका लागि खेल्दा सधैं मनैदेखि खेलेको र आफ्नो सबै कुरा फुटबललाई दिएको उनले बताएका छन्।
‘आज यो निर्णय लिँदा म निकै भावुक भएको छु,’ उनले लेखेका छन्। फुटबलकै कारण आफूले समर्थक, शुभचिन्तक र प्रशंसकबाट माया तथा साथ पाएको उल्लेख गर्दै बिमलले सबैप्रति आभार व्यक्त गरेका छन्। उनले सबैलाई एकमुष्ट धन्यवाद दिँदै आफ्नो फुटबल यात्रा यहीँ टुंग्याएको बताएका छन्।
नवलपरासीको भुताहामा जन्मिएका बिमलले सानै उमेरमा नेपाली फुटबलमा आफ्नो पहिचान बनाएका थिए। बुटवलस्थित एन्फा एकेडेमीमा आबद्ध भएपछि उनको फुटबल यात्राले गति लिएको थियो।
१४ वर्षको उमेरमा उनले २० सेप्टेम्बर २०१२ मा दशरथ रंगशालामा बंगलादेशविरुद्ध खेल्दै नेपाली राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय फुटबलमा पदार्पण गरेका थिए। उनी त्यसबेला राष्ट्रिय टोलीबाट खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका थिए।
युवा उमेरमै उत्कृष्ट प्रदर्शन गरेपछि बिमलले युरोपका विभिन्न क्लबका युवा टोलीमा प्रशिक्षण तथा परीक्षणको अवसर पाएका थिए। बेल्जियमको एन्डरलेख्टको यू–१९ टोलीसँग पनि उनले सम्झौता गरेका थिए। यद्यपि, अन्तर्राष्ट्रिय खेलाडी स्थानान्तरणसम्बन्धी नियमका कारण त्यहाँको यात्रा लामो समय अघि बढ्न सकेन।
नेपालका लागि उमेर समूहदेखि सिनियर राष्ट्रिय टोलीसम्म खेलेका बिमलले विभिन्न घरेलु तथा विदेशी क्लबबाट पनि व्यावसायिक फुटबल खेले। उनले थ्री स्टार क्लब, मनाङ मर्स्याङ्दी क्लबलगायत टोलीबाट खेलेका थिए। भारतको मोहन बगान र माल्दिभ्सको टीसी स्पोर्ट्स क्लबबाट समेत उनले व्यावसायिक फुटबल खेले।
राष्ट्रिय टोलीबाट खेल्दा बिमलले दक्षिण एसियाली फुटबलमा नेपालका लागि महत्वपूर्ण गोल गरेका थिए। सन् २०१५ को साफ च्याम्पियनसिपमा भारतविरुद्ध गोल गरेका उनले सन् २०१६ को बंगबन्धु कप जित्दा पनि नेपालको सफलतामा योगदान दिएका थिए।' Source : Khelpati.com