सुर्खेत : जन नमूना माध्यामिक विद्यालय, वीरेन्द्रनगर सुर्खेतका विज्ञान संकायका भौतिकशास्त्र विषयका शिक्षक गजेन्द्र पुनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् । हालै सार्वजनिक भएको कक्षा १२ को परीक्षामा जनमाविका विज्ञान संकायतर्फ भौतिकशास्त्र (फिजिक्स) विषय पढिरहेका ९६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । शिक्षक पुनको मेहनतले गर्दा १२ कक्षामा भौतिकशास्त्र विषयको परीक्षामा ९६ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको भन्दै प्रधानमन्त्री ओलीले उनलाई सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।
कक्षा १२ मा भौतिकशास्त्र अध्ययन गरिरहेका ११८ जना विद्यार्थीमध्ये ११४ जना विद्यार्थी उत्तीर्ण भएपछि शिक्षक पुनको चर्चा चुलिएको थियो । गएको वर्ष ९२ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएका भौतिकशास्त्र पढाउने शिक्षक पुनले यस वर्ष ९६ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएपछि उनको चर्चा चुलिएको हो ।
उनको मेहनत, लगाव र नयाँ रचनात्मक शैलीको पठनपाठनले विद्यार्थी भौतिकशास्त्र जस्तो कठिन विषयमा पनि उत्तीर्ण हुन सफल भएका थिए । जसको मुख्य श्रेय शिक्षक पुनलाई जान्छ । उनले जनमावि स्कूलको इतिहासमै सबैभन्दा उत्कृष्ट नतिजा निकालेपछि शिक्षक पुनको चर्चा सुर्खेतदेखि एकाएक काठमाडौँ हुँदै देशैभर चुलिएको थियो ।
पछिल्लो समय नेपालको सबैभन्दा चर्चित फेसबुक पेज रुटिन अफ नेपाल बन्दले उनको सफलताको सूचक सार्वजनिक गरेपछि पुनको चर्चा चुलिएको हो । यसैक्रममा प्रधानमन्त्री ओलीले मंगलबार आफ्नो फेसबुक पेजमा शिक्षक पुनलाई बधाई दिएका हुन् ।
विद्यार्थीले भौतिकशास्त्र जस्तो कठिन विषय पास गर्नुमा शिक्षक पुनको मेहनत झल्किएको भन्दै प्रधानमन्त्री ओलीले उनीजस्ता शिक्षकबाट प्रेरणा लिएर सरकारी स्कूलको नतिजा बदल्नुपर्ने बताएका छन् ।
‘राम्रो नतिजाका हकदार मेहनती र काम गर्ने पात्रहरू नै हुन्छन्, गजेन्द्र सर त्यस्तै प्रेरणादायी शिक्षक बन्नुभयो’ अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भ पारेर प्रधानमन्त्री ओलीले फेसबुकमा शिक्षक पुनलाई धन्यवाद दिदैँ भनेका छन्, ‘उहाँजस्ता युवाबाट धेरै शिक्षक साथीहरुले प्रेरणा लिनु पर्छ र नतिजा बदल्नु पर्छ। धन्यवाद गजेन्द्र पुन ।’
प्रधानमन्त्री ओलीले समेत बधाई दिएपछि शिक्षक पुन अहिले सबैतिरबाट प्रशंसा पाइरहेका छन् । आफ्नो मेहनतको प्रशंसा गरेर प्रेरणा दिएकोमा शिक्षक पुनले प्रधानमन्त्री ओली र जनमावि स्कूललाई धन्यवाद दिएका छन् ।
र यो पनि पढ्नुहोस्ः
कर्णालीको सरकारी स्कूलका ‘गेमचेन्जर’ गजेन्द्र सर