सुर्खेत : कहिलेकाँही मान्छेको जीवनले अनेकौ मोड लिन्छ । एउटा जीवन भयानक मृत्युको करिब नजिकै भएर गुज्रन्छ । एकपछि अनेक समस्या, घटना, दुर्घटना र द्धिविधाले चल्छ । कतिबेला के समस्या आउँछ, त्यो स्वयंम मान्छेकै नियन्त्रणमा हुँदैन ।
चौकुने गाउँपालिकाको घाटगाउँमा यस्तै एउटा घटना भएको छ । जसले धेरैको ध्यान तानेको छ । घटना केही समय अघिको हो ।
घाटगाउँका युवा तथा कुशल ड्राइभर नरेन्द्रबहादुर बिष्ट सर्पको डसाईबाट गम्भीर बिरामी परे । घरमा सुतिरहेका बेला रातीको समयमा उनलाई सर्पले डसेको थियो । सर्पले डसेपछि उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लैजान एम्बुलेन्स बोलाइयो ।
उनी आफैँ एम्बुलेन्स चालक हुन् । चौकुने गाउँपालिकाको एम्बुलेन्स उनैले सञ्चालन गर्ने गर्थे । त्यसअघि उनी कर्णाली प्रदेशका पूर्व एक पर्यटनमन्त्रीको प्रमुख चालक थिए । उनको पद सकिएपछि उनले आफ्नै गाउँपालिकामा एम्बुलेन्स चालकको जागिर पाएका थिए ।
तर सर्पले डसेपछि उनको जीवन मृत्युको दोसाँधमा पुग्यो । हतार हतार एम्बुलेन्स बोलाएर अस्पताल लैजान लाग्दा दुर्घटना भयो । उनी स्वयंम बिरामी चढेको एम्बुलेन्स नै दुर्घटना परेपछि यो घटनाले धेरैलाई चिन्ता तुल्यायो ।
गाउँमा उनको घर परिवार र गाउँलेहरु दुःखी भए । सर्पको डसाईबाट केही दिनअघि गाउँमै एक महिलाको मृत्यु भएको थियो । उपचारका लागि अस्पताल पुर्याउँदा पनि उनलाई चिकित्सकले बचाउन सकेनन् । अल्पायुमै ती महिलाको मृत्यु भएपछि सर्पको डसाईमा परेका उनी बाँच्ने वा नबाँच्ने चिन्ता सबैलाई थपियो ।
उनी स्वयंम पनि यो घटनाबाट डराएका थिए । दुर्घटनामा भए पनि उनलाई सामान्य चोट लाग्यो । एम्बुलेन्समा पनि ठूलो क्षति भएन । जसकारण उनी त्यही एम्बुलेन्समा केही ढिला भए पनि प्रदेश अस्पताल वीरेन्द्रनगर पुगे ।
अस्पताल पुर्याएपछि उनलाई तत्कालै इमर्जेन्सीमा लगियो । तुरन्तै डाक्टरहरु आएर उनको चेकजाँच गरे । सर्पको बीष शरीरमा धेरै फैलिन पाएको थिएन वा सर्प धेरै विषालु परेन, डाक्टरले तत्काल उनलाई अवस्था खतरामुक्त रहेको जानकारी दिए ।
उनले केही राहतको श्वास फेरे । उनलाई अस्पताल लिनेहरु पनि आफ्नो बिरामी बाच्ने भएपछि डराउन छाँडे । केही दिन अस्पताल बसे । उपचार चल्यो । यसबीचमा सामाजिक सञ्जालमा उनी सर्पको डसाई र दुर्घटनामा परेर घाइते तथा बिरामी भएको खबर आगोजसरी फैलिएको थियो ।
तर उपचारपछि उनी बिस्तारै निको हुँदै गए । शरीरमा सर्पले छाडेको बीष चिकित्सकले पूर्णरुपमा निष्क्रिय पारेर सञ्चो बनाएपछि उनी डिस्चार्ज भए । उनी डिस्चार्ज भएपछि गाउँमा खुशीको खबर फैलियो ।
अस्पतालबाट घर फर्किन लागेपछि उनको घरमा भव्य स्वागतको तयारी चल्यो । बाजागाजा बोलाइए । भव्य जात्रा आयोजना गरियो । सर्पले डसेपछि धेरै बिरामी अस्पताल नपुग्दै मृत्युवरण गर्न पुग्छन् । उनी हतार हतार अस्पताल पुग्न लाग्दा एम्बुलेन्स नै दुर्घटना भएपछि झन् मृत्युदेखि डराएका थिए ।
एउटा होइन, दुई दुई वटा दुर्घटना पार गरेर सकुशल घर फर्किएपछि उनका घरपरिवार, आफन्त तथा गाउँलेले भव्य बाजागाजासहितको जात्रा गर्दै स्वागतको तयारी गरेका थिए ।
जब उनी गाउँ पुगे, मान्छेहरु जम्मा भएर उनको स्वागतमा लागे । जब घरको आँगनमा पुगे, दर्जनौ बाजाहरुले उनलाई स्वागत गरियो । उनका घरपरिवारले हर्षका आँशु बगाएर अँगालो हाले । टिका लगाए । मृत्युबाट गुज्रिन लागेका उनी नयाँ जीवन लिएर फर्किएपछि विजयको मालाले स्वागत गरियो ।
यस्तो घटना गाउँमा बिरलै भएको थियो । यो घटना र दुर्घटनापछि गाउँलेहरु पनि खुशी भए । कहिले बुढापाकाको मृत्यु हुन्थ्यो नै । कहिले युवा र अधबैशे उमेरकै मानिसहरुले पनि ज्यान गुमाइरहँदा गाउँले चिन्तित थियो । अर्को एउटा घटना र दुर्घटना पनि मृत्युकै कारण बन्ने डर थियो ।
तर डर जितेर नरेन्द्र फर्किए । विजयको टीका, माला र अबिर लगाएर गाउँलेसँग खुशी साटासाट गरे । उनलाई नयाँ जीवनको बधाई दिन उनकै घर पुगेकासँग नरेन्द्रले भन्न बिर्सेनन्, ‘सर्पले टोकेपछि अब मरिन्छ सोचेको थिएँ। कतिबेला बेहोस हुन्छु भन्ने डर थियो । त्यसमाथि एम्बुलेन्स दुर्घटना भयो । अस्पताल नपुगी मर्छु कि लागेको थियो । तर भगवानको कृपाले अस्पतालमा उपचारपछि निको भएर नयाँ जीवन लिएर फर्किए ।’