सुर्खेत : कर्णालीको सरकारी स्कूलमा एक अनौठो रेकर्ड बनेको छ । सुर्खेत उपत्यकाको चर्चित जन माध्यामिक विद्यालय, वीरेन्द्रनगरमा कक्षा १२ मा विज्ञान संकाय पढिरहेका ९६ प्रतिशत विद्यार्थी भौतिकशास्त्र विषयमा उत्तीर्ण भएका छन् ।
कक्षा ११ र १२ लाई प्लसटू भनिन्छ । प्लसटूमा विज्ञान संकाय लिएर पढ्ने विद्यार्थीले भौतिकशास्त्र (फिजिक्स), रसायनशास्त्र (केमेस्ट्री) र जीवशास्त्र (बाइलोजी) विषय पढ्नुपर्छ । यी तीनवटा विषयमा सबैभन्दा जटिल मानिने विषय भौतिकशास्त्र अथवा फिजिक्स हो । कक्षा ११ मा गणित विषय अनिवार्य हुन्छ भने कक्षा १२ मा अनिवार्य तथा अतिरिक्त विषयका रुपमा पनि गणित पढाई हुन्छ ।
कक्षा ११ र १२ मा भौतिकशास्त्र धेरै जटिल मानिने विषय हो । किनकी कक्षा १० सम्म विज्ञान विषय हलुका रुपमा पढाइन्छ । र, धेरै सैद्धान्तिक र प्रयोगात्मक कक्षाहरु हुँदैनन् । तर प्लसटू पढिरहेका विद्यार्थीले पहिलोपटक निकै जटिल विषयका रुपमा भौतिकशास्त्र, रसायनशास्त्र र जीवशास्त्र पढ्नुपर्छ ।
यी तीन वटा विषयमा भौतिकशास्त्र जटिल मानिनुको कारण राम्ररी बुझाएर पढाउने शिक्षकको अभाव मुख्य कारण हो । तर पछिल्लो समय स्थानीय शिक्षकले पनि विज्ञान संकायमा उच्च शिक्षा हासिल गरेर गाउँ तथा जिल्लामै फर्किएर पढाउन थालेपछि विद्यार्थीहरु पनि राम्रो अंक ल्याएर उत्तीर्ण हुन थालेका छन् ।
जसको ज्वलन्त उदाहरण बनेका छन्, सुर्खेत जनमाविका भौतिकशास्त्र पढाउने शिक्षक गजेन्द्र पुन । उनी सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नं. १३ गुमीमा जन्मिएका हुन् । उनले गाउँकै आनन्द माध्यामिक विद्यालयमा कक्षा १० सम्म पढेका हुन् ।
गाउँबाट उत्कृष्ट अंक ल्याएर त्यतिबेलाको एसएलसी सकेपछि उनी जिल्ला सदरमुकाम हुँदै काठमाडौँ पढ्न गए । काठमाडौँबाट विज्ञान संकायको भौतिकशास्त्र विषयमा स्नात्तकोत्तर गरेपछि उनी सुर्खेत फर्केर अध्यापनमा लागेका हुन् । सुर्खेतको सबैभन्दा उत्कृष्ट जनमाविमा भौतिकशास्त्र पढाउन थालेका उनले यस वर्ष अनौठो कीर्तिमान राखेका हुन् ।
यस वर्ष अर्थात २०८२ सालको कक्षा १२ को नतिजा सार्वजनिक हुँदा जनमाविमा विज्ञान संकाय पढिरहेका ११८ जनामध्ये ११४ जना उत्तीर्ण भएका हुन् । उनले पढाएका ९६ प्रतिशत उत्तीर्ण भएका हुन् । जम्मा चार जना विद्यार्थी मात्रै अनुत्तीर्ण भएका छन् ।
सुर्खेतमा पहिलोपटक जनमाविले नै विज्ञान संकाय पढाउन थालेको हो । ‘पब्लिक साइन्स क्याम्पस’को नामबाट जनमाविले विज्ञान विषय पढाउन सुरु गरेको थियो । केही वर्ष अघि सरकारले कक्षा ११ र १२ लाई प्लसटू विधामा राखेर आइएस्सी हटाएको थियो ।
सम्भवतः क्याम्पस खुलेदेखि अहिलेसम्म आइएस्सी वा प्लसटूमा फिजिक्समा ९६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको यो पहिलोपटक हुन सक्छ । क्याम्पस खुलेदेखि तारणीप्रसाद यादव, कृष्ण चपाई, विद्या थापा, मीन गौतम लगायतका शिक्षकले भौतिकशास्त्र पढाउँदै आएका थिए । पछिल्लो समय नयाँ शिक्षकहरु आउने क्रममा गजेन्द्र पुनले भौतिकशास्त्र पढाइरहेका थिए । सुरुका वर्षमा केही राम्रो नतिजा नआएपनि यस वर्षको नतिजाले जनमावि र शिक्षक पुनको मात्रै नभई कर्णालीको सरकारी स्कूलमा खासगरी विज्ञान संकायमा ‘गेमचेन्जर’का रुपमा यो नतिजा आएको हो ।
उनको सफलताको यो सूचना तथा जानकारी नेपालको चर्चित ‘रुटिन अफ नेपाल बन्द’ फेसबुक पेजले सार्वजनिक गरेको हो । उनको फोटोसहित मदन आचार्यले यो जानकारी तयार पारेर पेजमा प्रकाशित गरेका थिए ।
यो सूचना अहिले आगोजसरी फैलिएर ‘भाइरल’ भइरहेको छ । यो समाचार तयार पार्दासम्म यो पेजमा २९ हजार जनाले गजेन्द्र सरको यो सफलताको सूचना तथा जानकारी लाइक गरेका छन् भने एक हजार बढीले कमेन्ट गरेका छन् । यस्तै २५० जनाभन्दा धेरैले यो सूचना तथा जानकारी शेयर गरेका छन् । नेपालका अन्य चर्चित पेज तथा व्यक्तिले पनि यो सूचना तथा जानकारी शेयर गरेका छन् ।
सुर्खेतमा प्लसटूमा भौतिकशास्त्र पढाउने लोकप्रिय शिक्षक अनिल गुरुङ हुन् । उनी राष्ट्रिय माध्यामिक विद्यालय नेवारेमा पढाउँछन् । तर जनमाविबाट गजेन्द्र पुनले रचेको यो इतिहास र पाएको सफलताले नयाँ मानक बनाउने पक्का छ । लामो समयदेखि पढाउँदै आएका उनी यस वर्ष नयाँ सफलता पाएपछि खुशी हुँदै उनले ‘रुटिन अफ नेपाल बन्द’ पेजमै प्रतिक्रिया दिदैँ भनेका छन्, ‘हामी सबैले मिहेनत गर्ने हो भने, आफ्नै ठान्ने हो भने सार्वजनिक विद्यालयहरुबाट निजि विद्यालय भन्दा राम्रो नतिजा निकाल्न सकिन्छ । यो नतिजा निकाल्नका लागि १२ वर्षको शैक्षिक अनुभव, विद्यालयको व्यवस्थापन र सबैभन्दा विद्यार्थीहरुको मेहनत हो ।’
सुर्खेतमा जनमावि र राष्ट्रिय माध्यामिक विद्यालय नेवारेमा विज्ञान संकाय विषय पढाई हुन्छ । तर पछिल्लो समय यी दुई सरकारी स्कूलमा विद्यार्थी राजनीति धेरै हुने भएर डिस्टर्ब हुने भन्दै विद्यार्थी इगरब्रिज लगायत निजी विद्यालयमा भर्ना हुने गरेका थिए ।
तर जनमाविमा पढाउने शिक्षक पुनको लगानी र मेहनतले नयाँ सफलता तथा उपलब्धी सार्वजनिक भएपछि कर्णालीका विभिन्न जिल्लाबाट विज्ञान संकाय पढ्न सुर्खेत आउने विद्यार्थी फेरि एकपटक जनमावि र नेवारे स्कुलमै भर्ना हुने सम्भावना धेरै बढेर गएको छ ।
जसका लागि शिक्षक अनिल गुरुङसँगै गजेन्द्र पुन ‘गेमचेन्जर’ बनिरहेका छन् । गत वर्ष पनि जनमाविमा कक्षा १२ का भौतिकशास्त्र पढ्ने ९२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । यो विज्ञान संकाय पढ्ने विद्यार्थीको लागि असाधारण सफलतादर हो ।