नाम : म्यागी डोयन
पेशा : समाजसेवा
पद : सिएनएन हिरो
कर्णाली व्यक्तित्व नं. : २४
एक अमेरिकन युवती । जो १८ वर्षको उमेरमा घुम्नका लागि भारत पुगेकी थिइन् । भारतमा उनले सुनिन, उत्तरी देश नेपाल भारतभन्दा राम्रो छ । जसलाई भारतमा हिमालयको देश भनिन्छ । उनले हिमालै हिमालको देश हेर्न भनेर नेपाल आएकी थिइन् ।
नेपाल आइपुगिन् । काठमाडौँ टेक्दा नै उनले थाहा पाएकी थिइन्, जुन देशमा सुन्दरताको अनेक परिभाषा छ । तर सानैदेखि उनमा केही गर्न मन थियो । अरुलाई सहयोग गर्न मन थियो । आफ्नो सानो सहयोगले कसैको जीवनमा थोरै भएपनि परिवर्तन हेर्न मन थियो ।
उनले सोधीखोजी गरिन् । केहीले शेर्पाहरुको समस्या सुनाए । केहीले भने कर्णालीको दुःख सम्झाए । जहाँ साना असहाय बालबालिका पढ्ने पाउने अधिकारबाटै बञ्चित भइरहेको कुराले उनको बेचैनी बढ्यो । उनी सोझै सुर्खेत हानिइन् ।
अमेरिकाको सुविधासम्पन्न न्युजर्सीको घरबाट उनी घुम्न भारत पुगेकी थिइन् । तर भारतबाट नेपाल पुगेर अझै केही दिन कर्णाली बस्ने कुराले उनका अभिभावक चिन्तित थिए । उनले सुर्खेतमा जब अभिभावक नभएका बालबालिकाको विचल्ली देखिइन्, अनि मनमा एउटा कठोर निर्णय लिइन् । उनीहरुको आमा बनेर शिक्षा दिलाउँछु भन्ने प्रण गरिन् ।
उनीसँग अमेरिकामा सानैदेखि बचत गरिराखेको पाँच हजार अमेरिकी डलर थियो । त्यतिबेलाको त्यो पाँच हजार डलरमा नेपालको झण्डै ६ लाख रुपैयाँले धेरै कुरा आउँथ्यो । उनले तत्कालै सुर्खेतको भैरवस्थानमा थोरै जग्गा किनिन् ।
बालबालिका पढ्ने स्कुल खोलियो । अनि नाम राखियो, कोपिला भ्याली सेवा समाज । स–साना बालबालिका जो आफेँमा कोपिला हुन्, उनीहरुलाई हुर्काउने, बढाउने र पढाउने काम कोपिला भ्याली सेवा समाजले सुरु गर्यो । र, बिस्तारै बढ्दै र फैलिदै गयो । सबै आर्थिक भार म्यागीले उठाइन । दुःख कष्ट आयो । तर हार खाइनन् ।
आफूसँग सम्पर्कमा भएका नेपालीसँग मिलेर स्कुल खोलेपछि त्यसका लागि चाहिने सबै पैँसा आफूले दिलाउने भनिन् । अनि अमेरिका फर्केर उनले खोलिन्, ‘ब्लिंकनाउ फाउण्डेसन’ संस्था ।

यो त्यही संस्था हो, जसले अमेरिकामा १ डलर संकलन गरेर कर्णालीको सुर्खेतमा रहेका सयौँ बालबालिका पढायो । असहाय, टुहुरा बालबालिकाका लागि म्यागी आमा बनिन् । कर्णालीमा खोजी खोजी टुहुरा बालबालिकालाई निःशुल्क खान र बस्न दिई कक्षा १० सम्म पढाइन् । बाँसकै कटेरोमा उनले धेरै बालबालिकाको भविष्य उज्यालो बनाइन् ।
१८ वर्षकी एक अमेरिकन युवतीले सुर्खेतको माटोमा जे रोपिन्, जे गरिन्, जे दिइन्, त्यो सित्तिमित्ती कसैले बुझेन । धेरैले केवल डलरको खेती सम्झे । तर जब त्यहाँ पढेका बालबालिकाको भविष्य उज्ज्वल हुन थाल्यो, त्यसपछि उनको प्रभाव र कामले चौतर्फी चर्चा पाउन थाल्यो । चर्चा सुर्खेत, कर्णाली, काठमाडौँ हुँदै उनकै देश अमेरिका पुग्यो ।
अन्ततः अमेरिकाको चर्चित शक्तिशाली मिडिया सिएनएनले विश्वभरबाट १० जना ‘सिएनएन हिरो’को सूचिमा म्यागीलाई पनि सूचिबद्ध गर्यो । सन् २०१५ मा उनको कामले जति चर्चा पाएको थियो । त्यसले समाजसेवाको दूनियाँमा सगरमाथा चढ्यो । अनि उनलाई अनलाइन भोटिङ गर्नेको संख्या ह्वात्तै बढ्यो । अमेरिकामा जन्मेर कर्णालीको माटोमा कर्म गरेकी म्यागीले सोच्दै नसोचेको सफलता त्यतिबेला पाइन्, जब उनले ‘सिएनएन हिरो’ पुरस्कार जितिन् ।
जुन सोच उनको दिमागमा कहिल्यै आएको थिएन । तर कर्णालीमा गरेको कर्मले उनलाई सोच्दै नसोचेको सफलता दिलायो । न्युयोर्कमा सिएनएन हिरो अवार्ड पाएपछि म्यागीले भनेकी थिइन्, ‘सन् २००६ मा १८ वर्षको उमेरमा मैले एक पागलले जसरी जे निर्णय गरेर उनीहरुको भविष्य बनाउन सहयोग गरे । त्यो सम्झिदा आफैँलाई अचम्म लाग्छ । जसले मेरो काम र अभियानमा साथ दिए, उनीहरु सबैलाई धन्यवाद । यो पुरस्कारले ती बालबालिकाको भविष्य बनाउन ठूलो सहयोग पुग्नेछ ।’
वास्तवमा जहाँ जन्मेपनि मान्छेले गर्ने कर्मले नै उसलाई महान बनाउने हो । कर्णालीका लागि त्यसको साक्षी प्रमाण हुन्, म्यागी डोयन । उनले कर्णालीमा जे गरिन्, त्यसले पूरै दूनियाँलाई प्रेरित गरेको छ। कर्णाली उनीप्रति सँधै गौरवान्वित हुनेछ ।