नाम : खड्ग विश्वकर्मा (विवश)
पद : अध्यक्ष, चौकुने गाउँपालिका, सुर्खेत
कर्णाली व्यक्तित्व नं : २५
ज्यानको बाजी राखेर गणतन्त्र, नयाँ संविधान र संघीयताका लागि जनयुद्ध लडेका धेरै छन् । नेकपा माओवादी पार्टीमा लागेर क्रान्तिका लागि ज्यानको बली चढाएका कति शहिद परिवार र कति घाइते पनि छन् । तर जनयुद्ध लडेर, क्रान्तिको विगूल फुकेर गणतन्त्र ल्याइसकेपछि आफ्नै गाउँघर फर्केर जनताकै सेवामा समर्पित भएर सादा जीवन बाँचिरहेका योद्धा कमै भेटिन्छन् ।
देशको राज्य व्यवस्था मात्रै होइन, सामाजिक रुपमा सबै प्रकारका विभेदको पनि अन्त्य गर्नका लागि हतियार उठाएका धेरै योद्धा अहिले कतै आफै परिवर्तन भए भने कतै अब परिवर्तन गर्न सकिदैन भनेर थाकेर पनि बसेका छन् ।
कोही त घर परिवारको गर्जो टार्न घर छाडेर परदेशिएका छन् । हिजो जसको बलमा जनयुद्ध लडेर गणतन्त्र ल्याएर सिंहदरबारसम्म चप्पल पड्काएर पुगेका नेताहरु अहिले पक्की पक्की घरमा बसेर चिल्ला गाडी चढ्छन् । तर जनयुद्ध लडेर गणतन्त्र मात्रै होइन, आफ्नै गाउँघरमा सिंहदरबार ल्याएर पनि जनताकै सेवामा समर्पित एक स्थानीय सरकार प्रमुख छन्, जो करोडौँ बजेटको विकासमा पनि मोटरसाइकल चढ्दै जनताको घरदैलो पुगिरहेका छन् ।
उनी हुन्, खड्ग विश्वकर्मा ‘विवश’ । उनको माओवादी भूमिगत हुँदादेखिको नाम हो, विवश । त्यही नामले उनी पश्चिम सुर्खेतमा चर्चित मात्रै छैनन्, स्थानीय तहको चुनाव लडेर जनताबाट निर्वाचित भएर चौकुने गाउँपालिकाको अध्यक्ष छन् । चुनाव जितेलगत्तै उनले ठूलो विजयी ¥याली निकालेनन् । कुनै ठूलो आमसाभा गरेनन् । ठूला नेताका घर घर पुगेर चाकरी पनि गरेनन् । जुन मोटरसाइकलमा उनी वर्षौदेखि हिँडिरहेका थिए, त्यही मोटरसाइकलमा यात्रा गर्दै मतदाताको घरदैलोमा पुगेर चाहिएको सेवा र विकास दिने बचन दिए ।

अनि सुरुवात गरे, पूर्व गाउँपालिका अध्यक्षले चढिरहेको महंगो गाडीलाई गाउँमा रहेका वृद्धवृद्धा बिरामी भए तत्काल अस्पताल लैजानका लागि एम्बुलेन्सका रुपमा सञ्चालन गरे । वर्षौदेखि धुलाम्मे सडक ग्राभेल र पीच गर्न सम्बन्धित निकाय धाएको धायै छन् । त्यही धुलोमा धुलाम्मे भएर मोटरसाइकलमै यात्रा गरिरहेका उनी हिजो पनि जनतासँगै थिए, आज पनि जनतासँगै छन् ।
उनको सादगी र सरलतालाई लिएर चर्चा जति हुन्छ, त्यति आलोचना हुन्छ । तर अरुले के भन्छन्, उनलाई मलतब छैन । किनकी उनी त्यस्तो गाउँपालिकाका अध्यक्ष हुन्, जहाँ ६० प्रतिशत दलित समुदायको बाहुल्यता छ । अनि जसोतसो विद्यालय शिक्षा पढेपनि उच्च शिक्षा पढ्ने बेला रोजगारीका लागि भारत जानुपर्ने बाध्यतामा रहेका नागरिकको अवस्था बदल्न उनी नागरिकको अनुसार जीवनशैली बाँचिरहेका छन् ।
ता कि उनीहरुसँगै बसेर परिवर्तन र विकासको खाका कोर्न सकियोस् । आज नेताभन्नेबित्तिकै महंगो गाडी, वरिपरी पार्टी कार्यकर्ताको भीड र सरकारी सेवा सुविधा सबै खाएर सरकारी ढुकुटी रित्याउने जनप्रतिनिधिका रुपमा बदनाम छन् । तर विवश एक यस्ता अपवाद हुन्, जो आज जनताका जनप्रतिनिधि नै बनेर जनताकै सेवामा जनताकै घरदैलोमा हिँडिरहेका छन् । साच्चै उनले २१ औँ शताब्दीमा संघीय गणतन्त्र नेपालको जनतावादी नेता तथा सेवकका रुपमा आफ्नो परिचय नेपालभर फैलाइरहेका छन् ।