नाम : रचना सुनार
पेशा : सामाजिक अभियान
कर्णाली व्यक्तित्व नं : २८
एक समय थियो, कर्णाली सामाजिक रुपमा जति पिछडिएको थियो । त्यो भन्दा धेरै जातीय र लैंगिक विभेदले ग्रसित थियो । छोरालाई स्कुल पठाउने र छोरीलाई घाँस दाउरा गर्न वन जंगल पठाउने सामाजिक सोचका कारण धेरै दिदीबहिनीले पढ्न पाएनन् । जसकारण कर्णालीमा जताततै विभेद हावी थियो ।
छोरीका लागि शिक्षामा जति विभेद थियो, त्यो भन्दा बढी आफू जन्मेको घरमा बस्न नपाउने विभेद अत्याचारै थियो । पहिलो रजस्वला भएकी छोरीका लागि आमाबुवा र आफन्त नै बिहेका लागि दुलाहा खोजिदिन्थे । छोरीको इच्छा र चाहना के छ ? त्यो कहिल्यै सोधिएन, कहिल्यै बुझ्ने प्रयास भएन । पढाई ठीकठाक चलिरहेकै भएपनि चटक्कै पढाई छाडेर आमाबुवा जबर्जस्ती छोरीलाई बालविवाह गरेर पोइलीघर पठाँउथे ।
कर्णालीमा यो जति भयावह रोग अरु थिएन । तर जब सुर्खेतकी रचना सुनारले यो भयावह अवस्था आफ्नै आखाँ अगाडि दिनदिनै देख्न थालिइन् । उनी चिच्याइनन् मात्रै आगो ओकल्न थालिन । सुरुमा आफन्तकै दिदीबहिनीको बिहे देखेकी उनले जब आफ्नै बिहेको पालो आयो भन्दै आमाबुवाबाट थामिनसक्नु दबाब झेल्न थालिन्, अनि विष्फोट भइन् ।
कुनै हालतमा बिहे नगर्ने अडान लिएर उनले गाउँटोलकै सबै बालबालिका जम्मा गरेर बालविवाहविरुद्ध अभियान नै चलाइन् । स्कूल पढ्ने बेला बिहे गर्न नहुने र जबर्जस्ती बिहे गरे बालविवाहविरुद्ध कानूनी उपचार खोज्ने चेतावनी दिन थालेपछि धेरै बालविवाह उनकै कारण रोकिए ।
जब उनी ठूली हुँदै गइन् । उनको स्वर झन् चर्किन थाल्यो । गाउँघरका आफन्त र छरछिमेकी तर्सिन थाले । उनलाई देख्नेबित्तिकै बालविवाहको कुरा उनीहरुको घर परिवारबाटै हरायो । अनि उनका सहकर्मी साथी र कलिला बहिनीले पढ्न पाए । त्यसपछि उनी स्थानीय बालक्लब तथा संघ संस्थामा जोडिन थालिन् ।
उनको क्षमता देखेर दलित कल्याण समाज संस्थाले पढ्नका लागि छात्रवृत्ति दियो । उनलाई पढ्न सहज भयो । अनि अभियान चर्काउन पनि सफल भइन् । उनको अभियानले सुर्खेतका स्थानीय सबै सरकारी तथा गैरसरकारी संघ संस्थाले राम्रै मूल्यांकन गरिरहेका थिए ।
त्यसपछि उनी सुर्खेत बाहिरका कार्यक्रममा पनि महत्वका साथ सहभागी हुने अवसर पाइन् । त्यसमध्ये धेरैजसो काठमाडौँका कार्यक्रममा उनी सहभागी भइन् । खासगरी महिला र बालबालिकाका विषयमा हुने कार्यक्रममा उनलाई सहभागिताका लागि बोलाइन्थ्यो । जहाँ पुगेपछि आफ्ना भोगाई र अभियानको सार्थकताको बेलिबिस्तार लगाउँथिन । त्यसपछि उनलाई अन्तर्राष्ट्रिय कार्यक्रममा पनि जाने अवसर मिल्यो ।
त्यसमध्ये सन् २०१५ मा उनी कार्यक्रमको क्रममा नर्वेको ओस्लो जाने अवसर पाइन । नर्वेको स्ट्रोमा फाउन्डेसन संस्थाले युवाहरुको भोगाई र अनुभव आदानप्रदान कार्यक्रम राखेको थियो । जहाँ उनले आफ्ना पनि भोगाई र अनुभव बाड्ने अवसर पाइन ।

त्यहाँ उनले राखेका विचार र विषय अन्तर्राष्ट्रिय मिडियाका हेडलाइन बने । जहाँ उनले ‘बालिका कसैको पत्नी होइनन्’ भन्दै राखेको विचार र त्यसले नेपाली समाजमा गाडेको जराका कान्ला कान्ला खोतलिन् । उनको त्यो विचारले अन्तर्राष्ट्रिय मिडियाका हेडलाइन तरंगित बनायो ।
त्सपछि उनले नेपालमा प्रभावशाली अभियान्ताको परिचय बनाइन् । सुर्खेत वीरेन्द्रनगर नगरपालिका १ मसेरी टोलमा बुवा लालसिंह र आमा पार्वतीको कोखमा जन्मिएकी उनले पछिल्लो समय बालिकाको शिक्षा र अधिकार तथा गुणस्तरीय शिक्षाका क्षेत्रमा काम गर्दै आएकी छन् ।
कर्णालीमा कार्यक्रम चलाइरहेका विभिन्न संघ संस्थामा काम गरिसकेकी उनले कोपिला भ्याली सेवा समाज स्कूलमा पनि पढाइन् । पछिल्लो समय उनी बालबालिकाको आधारभूत शिक्षा र गुणस्तर वृद्धिका लागि सञ्चालित एउटा स्कूलको नेतृत्वमा छिन् ।
विगतमा सुर्खेत आसपासका क्षेत्रमा शोभा विश्वकर्मा, पवित्रा शाही, रत्ना विश्वकर्मा, शान्ता विश्वकर्मा लगायतले बालविवाहविरुद्ध लामो अभियान छेडेका थिए । त्यही पदचाप पछ्याउँदै सुर्खेती समाजमा बलियो गरी खुट्टा टेकेकी रचनाले भविष्यका कर्णधार मानिने धेरै बालबालिकाको सुन्दर संसार बनाउन आफ्नो जीवन समर्पित गरेकी छन् ।
रचना आफ्नै कर्म र कर्णालीको समाजमा परिवर्तनका पाइला चाल्दै अनलाइनखबरको ‘चालिस मुनिका चालिस’ नामक प्रभावशाली ४० युवामा पर्न सफल भएकी अभियान्तासमेत हुन् ।