नाम : कृष्ण कँडेल
पेशा : कला तथा सञ्चार
कर्णाली व्यक्तित्व नं. : ६
नेपाली टेलिभिजनहरुमा दैनिक सयौँ कार्यक्रमहरु प्रसारण हुन्छन् । कतिपय नयाँ अनि कतिपय पुराना कार्यक्रम । कतिपय चर्चित हुन्छन्, कतिपय चर्चित भएर पनि गुमनाम । अर्थात केही समय सफलताको शिखर पुगेर ओरालो लाग्दै हराउँछन् ।
तर एउटा यस्तो कार्यक्रम छ, जसले दशकौदेखि दर्शक श्रोताको मनमा ठाउँ ओगटिरहेको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका दर्शकहरुमा उनको कार्यक्रम चर्चित छ । लोकगित, लोकदोहोरी र पश्चिमकै भाका देउडा उनका कार्यक्रमका ब्यानर गीत हुन् ।
उनको कार्यक्रमले धेरै कलाकार जन्माएको छ । काठमाडौँमा संघर्ष गरेकालाई सफलताको सिँढी चढाएको छ । अनि सिँढी चढेर माथिल्लो उचाईमा पुगेकालाई फेरि एकपटक दर्शक श्रोतासँग जोडेर ‘नोस्टाल्जिक’ बनाएको छ ।
कति उदाउँदा र कति उदाएर पनि चर्चित भएर गुमनाम भएका कलाकारलाई उनी कार्यक्रममा ठाउँ दिन्छन्, नयाँ र पुरानो नाउँ दिन्छन् । अनि फेरि एकपटक दर्शकश्रोतासँग भेट्टाउँछन् । झट्ट हेर्दा र सुन्दा यो सामान्य लाग्न सक्छ । तर यसले नेपाली लोकसंगीतमा धेरै ठूलो अर्थ र परिभाषा दिएको छ ।
किनकी नेपाली परिवेशमा लोक तथा दोहोरी गीतलाई नम्बर एक बनाइराख्न इन्द्रेणीको ठूलो भूमिका छ । ‘अग्रजलाई सम्मान र अनुजलाई प्रोत्साहन’ भन्ने नाराका साथ चलिरहेको ‘इन्द्रेणी’ कार्यक्रममा दर्जनौ गीत संगीतका व्यक्तिले रोजगारी र प्रतिभा उजागर गर्ने ठाउँ पाएका छन् ।
कतिपय कलाकार त इन्द्रेणी कार्यक्रममा गीत गाएपछि चर्चित बनेका छन् । कतिपय राम्रो कलाकार पनि दर्शक श्रोताबाट टाँढिदा इन्द्रेणीका कारण फेरि चर्चित भएका छन् । अनि कतिपय चाँही भर्खरको उदाउँदो करियरलाई इन्द्रेणीसँग जोडिएर उभिँदा नयाँ उचाईमा पुगेका छन् ।
भलै ती सबै एकनाशका छैनन् । तर इन्द्रेणी कार्यक्रम र त्यसका सञ्चालकको शैली भने एकैनाशको छ । आजभन्दा झण्डै डेढ दशकपहिलेदेखि चलिरहेको कार्यक्रम र कार्यक्रमको सञ्चालक एउटै छन् । इन्द्रेणी कार्यक्रमको अर्को नाम पनि हो, कृष्ण कँडेल । जो बहुचर्चित छन् ।
ती बहुचर्चित व्यक्तित्व कर्णालीको माटोमा जन्मिएका हुन् भन्दा धेरैलाई त्यतिबेला पत्यार लाग्दैन्थ्यो । रोग, भोक र शोकले थलिएको कर्णालीमा जन्मिएर आफूँसँगै धेरैलाई चर्चा र सफलताको शिखर पु¥याउने प्रतिभा वर्षौदेखि काठमाडौँमा जति चर्चित छन्, त्यति नै अरुका लागि प्रेरणादायी पनि छन् ।

सुर्खेतको पञ्चपुरी नगरपालिका सालकोट पलैँटेमा जन्मिएका कृष्ण कँडेलले जीवनको सुरुवात सरकारी जागिरेबाट गरेका थिए । उनी नेपाल आर्मीका रिटायर्ड हुन् । रिटायर्डपछिको जीवन उनले लोकसंगीतमा समर्पण मात्रै गरेनन् । लोक तथा दोहोरी गीत संगीतबाटै उनले नाम कमाएका छन् । दाम कमाएका छन् । र, नेपाली समाजमा गाह्रो अफ्ठेरो परेका धेरैका लागि सहयोगी बनेका छन् ।
कर्णाली र सुदूरपश्चिमका धेरै प्रतिभाहरुका लागि उनी एक भगवानरुपी अभिभावक बनेका छन् । किनकी अझै पनि काठमाडौँमा पश्चिमेली भाका र संस्कृति पछौटे मानिन्छ । अहिले संख्या र विशेषताका हिसाबले धेरै कलाकार चर्चित भएपनि सुरुमा भने पश्चिमेली कलाकारलाई स्थापित हुन फलामका चिउरा चपाउने अवस्था थियो ।
त्यो बेलादेखि नै कृष्ण कँडेल चर्चा र प्रतिभा प्रष्फूटनका लागि नभई नहुने नाम बनिसकेको थियो । सुरुका दिनमा एबिसी टेलिभिजन र पछिल्लो समय हिमालय टेलिभिजनबाट सञ्चालन भइरहेको इन्द्रेणी कार्यक्रम नेपालका लगभग धेरैजसो दर्शकका लागि मनोरञ्जनको सबैभन्दा सहज लाग्ने कार्यक्रम हो ।
आफैँ अर्थात एक्लैले कार्यक्रम सञ्चालन गर्ने कँडेलका कारण पनि इन्द्रेणी चर्चित र महत्वपूर्ण बनेको छ । पछिल्लो समय नेपाली चलचित्र तथा गीत संगीत प्रवद्र्धनका लागि मुख्य थलो नै इन्द्रेणी कार्यक्रम बनेको छ । उनको प्रभाव र धेरै दर्शकको ‘अट्याचमेन्ट’ बुझेका सर्जक सोझै आफ्नो चलचित्र तथा गीत संगीत प्रोमोसनका लागि इन्द्रेणीमा पुग्ने गरेका छन् ।
बेला बेला विवादमा आउने उनी न्युन व्यक्तिका लागि बदनाम सुनिएपनि कहिल्यै गुमनाम नहुने र चर्चित रहेरै बहुचर्चित बनेका व्यक्तित्व हुन् । हरेक मान्छेका आ–आफ्ना कमजोरी हुन्छन् । उनका पनि केही कमजोरी छन् । तर कमजोरी ढाकेरै वा ढाँटेरै उनले आफ्नो चर्चालाई देशदेखि विदेशसम्म फैलाइरहेका छन् । जसकारण उनले सहयोगको हात फैलाउँदा लाखौँ करोडौँ पनि हप्ता दशदिनमै जम्मा गर्न सक्ने क्षमता राख्छन् ।
यति चर्चित व्यक्तित्व कर्णालीको माटोमा जन्मिएको भन्दा काठमाडौँमा धेरैलाई पत्यार लाग्दैन, तर कर्णालीले कुनै दिन मूल्यांकन गर्दा उनी एक यस्ता प्रतिभाशाली र बहुचर्चित व्यक्तित्व हुन्, जसको वरपर यति लामो समय र एउटै क्षेत्रबाट कसैले पनि त्यो उचाईमा टिकिरहन मुश्किलै पर्छ । ।