काठमाडौँ : नेपाली कांग्रैसको इतिहासमा सबैभन्दा खराब राजनीतिक पृष्ठभूमिबाट पूर्णबहादुर खड्का गुज्रनु परेको छ । उनी कांग्रेस राजनीतिमा सक्रिय भएदेखि तत्कालीन पार्टी सभापति शेरबहादुर देउवाको पक्षमा थिए, छन् र अझै देखिन्छन् ।
जबकी उनको राजनीति लगभग ‘कोल्याप्स’ भइसकेको छ । जेन्जी आन्दोलनपछि देउवाको ढुलमुले राजनीतिको पक्षपाती भएका खड्का त्यहीकारण सम्भावित सभापति र प्रधानमन्त्रीको सम्भावनाबाट सँधैका लागि टाढिनु परेको हो ।
जेन्जी आन्दोलनपछि विशेष महाधिवेशन गरेर गगन थापाले नेपाली कांग्रेसको नेतृत्वदायी सभापति पद हत्याएका थिए । गगन थापा र विश्वप्रकाश शर्मा मिलेर नेपाली कांग्रेसलाई आफ्नो नेतृत्वमा ल्याउँदा देउवा बहिष्कृत भए । अनि देउवाले १५ महाधिवेशन गर्ने घोषणा गरेर सिंगापुर जाँदा पनि कांग्रेसलाई सेफल्याण्डिङ गर्नुका साटो सभापतिकै ‘हार्डलाइनर ग्रेटवाल’ बन्दा पूर्णबहादुरको आफ्नै राजनीति सकिएको हो ।
देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिए । तर उनले कुनै पनि निर्णय सहि रुपमा लिन सकेनन् । जसकारण सहजै कांग्रेसको नेतृत्व युवाहरुको झुकाव रहेका गगनतर्फ गयो । अनि आफ्नो हातमा नेतृत्व हुँदा पनि पूर्णबहादुरले इतिहासकै महान अवसर खेर फाले ।
पुर्णबहादुरको खराब राजनीतिक शैलीले सभापति देउवाको इतिहासकै कलंकित बहिगर्मन पक्का भएको छ । अनि कांग्रेस विभाजनको मुख्य दोष देउवाबाट पनि खड्काको टाउकोमा परेको छ । दुई कार्यकाल सभापति खाएर सहजै बाहिरिन लागेका देउवालाई नेतृत्वको लोभ देखाउँदा उनको राजनीतिक करियर पनि अन्तिम समयमा कांग्रेस विभाजनको कारण बन्यो । जसको मुख्य दोष खड्कामाथि छ ।
आफूलाई कृष्णप्रसाद भट्टराई ‘किसुनजी’को लिगेसी ठान्ने पूर्णबहादुर खड्काको राजनीति कांग्रेसका गुण्डागर्दी नेता खुमबहादुर खड्काको छत्रछायामा हुर्केको थियो । खड्काकै शैलीमा पूर्णबहादुरले सुर्खेत र काठमाडौँमा राजनीति गरे ।
काठमाडौँमा देउवालाई र सुर्खेतमा खड्काले केही गुण्डागर्दी पुष्ठभूमिका युवाहरुलाई आफ्नो छत्रछायामा राखेका थिए, छन् । खुमबहादुर खड्का कांग्रेसमा गुण्डागर्दी संरक्षणकै कारण चर्चित तर विवादित नेता बनेका थिए । भ्रष्टाचार आरोपमा जेल परेपछि खुमबहादुर खड्काको राजनीति सकिएको थियो । गृहमन्त्री हुँदा खुमबहादुरले प्रहरी, सशस्त्र र सेनामा मनलाग्दी भर्ती गरेर गुण्डागर्दी शैली भित्र्याएका थिए ।
किसुनजीलाई राजनीति गुरु ठान्ने पूर्णबहादुर खास रुपमा खुमबहादुर खड्काको स्कलिङमा हुर्किएका नेता हुन् । देउवालाई कांग्रेसको संस्थापन बनाउन पूरै जीवन दाउमा लगाएका पुर्णबहादुर अन्ततः सही निर्णय गर्न नसक्दा इतिहासमा कहिल्यै सम्झिन नसक्ने पात्रका रुपमा नेपाली कांग्रेसका नेतृत्वबाट पन्छिएका छन् ।
उनले केही नेतृत्वदायी भूमिका निर्वाह गर्न सकेको भए प्रधानमन्त्री नभए पनि कांग्रेस पार्टी सभापति बन्न सक्थे । यसका लागि उनले सोझै गगन थापालाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर सभापतिको नेतृत्व लिँदै जेन्जी आन्दोलनपछि कांग्रेस अगाडि बढाउन सक्थे ।
तर देउवाकै निर्देशन मान्ने र अन्तिम समयमा पनि सही निर्णय लिन नसक्दा उनी आगामी दिनमा न प्रधानमन्त्री बन्न सक्ने अवस्था छन् न त पार्टी सभापति नै । १५ औँ महाधिवेशन गरेर गगन थापा कांग्रेस सभापतिमा निर्वाचित भएका छन् । अब आउने चुनावमा उनी कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको निर्विकल्प उम्मेद्वार हुनेछन् ।
अन्तिम समयमा आफ्ना नेतालाई गगन नेतृत्वको महाधिवेशनमा पठाएर पूर्णबहादुरले देउवालाई पनि धोका दिएको टिप्पणी उनकै गुटमा छ । यसका लागि खड्काले सर्वोच्चमा महाधिवेशन रोक्न रिट दिएको बहाना बनाएका छन् । भाई विष्णुबहादुर खड्कालाई गगनकै हस्ताक्षर लिएर सांसद बनाइसकेका पूर्णबहादुर आफ्नै भाईलाई देखाएर सभापति भाई गगनसँग राजनीतिक लाभ लिने मनसायमा छन् ।
यसले उनको स्वार्थ बरिष्ठ नेतामा सीमित हुने भए पनि उनको सक्रिय राजनीतिक यात्रामा भने लगभग ‘पूर्णविराम’ लागिसकेको छ ।