काठमाडौँ : जेन्जी आन्दोलनले एमालेको राजनीतिमा धेरैथोक ब्रेक लगाइदियो । एमाले नेतृत्वको सरकार ढल्यो । ओलीको प्रधानमन्त्री पद गुम्यो । एमालेका धेरै मन्त्रीहरुको पद चोइटियो । प्रतिनिधिसभा विघटन हुँदा धेरै सांसदहरुको पनि पद रातारात गयो ।
ओली एमाले अध्यक्ष र प्रधानन्त्री हुँदा परिपक्व नेतृत्वका रुपमा आन्दोलन सम्हाल्न नसक्दा देशले ठूलो क्षति व्यहोरेको जगजाहेर छ । तर आन्दोलन, चुनाव र जताततै युवाको आगमन हुँदा ओलीले एमाले अध्यक्ष पद छाड्न नमान्दा अहिले एमालेकै कतिपय नेताहरुको राजनीतिक भविष्य संकटमा परेको छ ।
एकातिर युवा नै युवाहरुले भरिएको रवि लामिछाने र बालेनको प्रभाव छ । कसैले नसोचेको रास्वपाले दुईतिहाई बहुमत ल्याएर बालेनलाई प्रधानमन्त्री बनायो । बालेनलाई प्रधानमन्त्री बनाउन एमाले अध्यक्ष ओलीको ‘साइट इफेक्ट एट्टिच्युड’ जिम्मेवार छ ।
अब यस्तो अवस्थामा ओली आफू अध्यक्षमा टिकिरहन हरेक उपाय अपनाइरहेका छन् । उपाध्यक्ष तथा महासचिवले साथ नदिने र राजीनामा माग्न थालेपछि उनी एक्लै बैठक चलाइरहेका छन् । प्रतिवेदन बुझ्न मानेका छैनन् । पार्टी पुनर्गठन चाहेका छैनन् । सकेसम्म पेलेरै अघि बढ्न खोजिरहेका छन् ।
सचिवालय बैठक, केन्द्रीय समिति बैठक, पोलिटब्युरो लगायत बैठकमा आफ्नो प्रभाव जोगाउन खोजिरहेका छन् ।
यस्तो केन्द्रीय समिति बैठक चलिरहँदा ओलीले अनौठो दृश्य मञ्चन गरे । उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले अध्यक्ष पदबाट राजीनामा दिएर पार्टी पुनर्गठन गर्न दबाब दिएपछि ओलीले एक्लै बैठक चलाए ।
एक्लै बैठक सञ्चालन गर्ने, एक्लै अध्यक्षता गर्ने, एक्लै एजेन्डा प्रस्तुत गर्न थालेपछि नेताहरुले विरोध गरे । विरोध गर्नेमा कृष्णगोपाल श्रेष्ठ, योगेश भट्टराई र यामलाल कँडेल थिए । तर उनीहरुलाई ओलीले बोल्नै दिएनन् ।
कर्णालीका पूर्वमुख्यमन्त्रीसमेत रहेका कँडेलले के मनलाग्दी गरेको भन्दै प्रश्न गरेपछि उल्टै पार्टी छाडेर जान ओलीले चेतवानी दिएको चर्चा अहिले मूलधारका मिडियामा छ । यामलाललाई सुरुदेखि कर्नरमा पारेका ओलीले अन्तिम समयमा कुनै विकल्प नरहेपछि मुख्यमन्त्री बनाएका थिए ।
उनी गएकै महाधिवेशनबाट एमाले सचिव पनि बनेका थिए । अहिले आफू प्रतिकूल रुपमा उभिएपछि कँडेललाई पार्टी छाडेर जान चेतावनी दिएको खबरले झन् चर्चा चुलिएको छ । ओलीले यामलाललाई लामो समयदेखि गुमरामहमा राखेर एमालेको राजनीति गरिरहेका थिए ।
यामलाल पनि मुख्यमन्त्री बन्न ओलीको साथ नभई नहुने भएपछि मात्रै उनको गुटमा पुगेका थिए । विगतमा दुवै नेताले आफ्नो स्वार्थ पूरा गर्दा समय फेरिएसँगै आफ्नो कित्तामा उभिएका छन् । ओलीकै कारण कर्णालीमा यामलालको मुख्यमन्त्री पद पनि गुमेको सत्य हो ।
यस्तो अवस्थामा ओली र यामलालको पार्टी बैठकमै चर्काचर्की पर्नु नौलो होइन । तर ओलीको यही अडान कायम रहे र उनलाई पार्टी अध्यक्षबाट हटाउन नसकिए आउँदा चुनावमा नेताहरुको राजनीतिक करियर जोगाउनै सकस छ ।
जेन्जी आन्दोलनले पुराना नेताहरुको राजनीतिक भविष्य र भरोसा चौपट पारेको छ । नागरिक तथा मतदाताले पनि युवा र पढेलेखेका युवालाई नै मतदान गर्न थालेका छन् । यस्तो अवस्थामा जेन्जी आन्दोलन निम्त्याएको र ठूलो जनधनको क्षति गराउने मुख्य जिम्मेवार ठानिएका ओलीको बहिगर्मन नभए एमाले पार्टीका नेताहरुको राजनीतिक भविष्य झन् संकटमा धकेलिने पक्का छ ।