नाम : रमेश सापकोटा
पेशा : सार्वजनिक यातायात क्षेत्र
कर्णाली व्यक्तित्व नं. : ७
देश लोकतन्त्र र गणतन्त्रको मध्यभागमा थियो । राजाको हुकुमी शासन ढलाएर दलहरुको सत्ता फर्काएको लोकतन्त्र अनि त्यसलाई पनि एकत्रित गरेर नयाँ नेपाल बनाउने गणतन्त्र ल्याउनै लागेका बेला देश सिण्डिकेटले चलिरहेको थियो । त्यो बेलाको सिण्डिकेटको नेतृत्व नेपाली कांग्रेस र एमाले नेताहरुको संंरक्षणमा गुण्डागर्दी गरिरहेका यातायात व्यवसायीहरुले गरेका थिए ।
सिण्डिकेट कतिसम्म थियो भने तोकिएको भाडा यात्रुबाट उठाउने अनि अर्को कुनै बस र व्यवसायीलाई रुटमा आउनै नदिने । नयाँ प्रतिष्पर्धी आउनै नदिने खासगरी कांग्रेसनिकट बस व्ययवसायीहरुको सिण्डिकेट थियो ।
सकेसम्म आफैँ गुण्डागर्दी गर्ने नभए गुण्डाहरु लगाएर भएपनि यातायात व्यवसायीको विरुद्ध बोल्ने र नयाँ प्रतिष्पर्धा गर्नेलाई तह लगाइन्थ्यो । देश दलका नेताहरुले गुण्डागर्दी लगाएर चलाइरहेका हुन्थ्ये ।
कर्णालीमा त्यतिबेला मध्यपश्चिम यातायात व्यवसायीको रजगज थियो । सिण्डिकेट उत्कर्षमा पुगेका बेला मान्छेको मात्रै होइन, यात्रीले बोकेका सामानहरुको भाडा पनि महंगै तिर्नुपरेको थियो ।
त्यसबेलाको मध्यपश्चिम विकास क्षेत्रमा केवल मध्यपश्चिम यातायात व्यवसायीको मात्रै बोलवाला थियो । त्यही बेला जब कर्णालीमा सुर्खेत काँक्रेविहार नाममा गाडी चल्न थाले, मध्यपश्चिम यातायातको सिण्डिकेट तोडियो । मध्यपश्चिम यातायातका गाडीसँग जब काँक्रेविहारका बसहरुले प्रतिष्पर्धा गर्न थाले, यात्रुको भाडा घट्यो । अनि यात्रुहरुको आकर्षण काँक्रेविहारमा थपियो ।
यसले काँक्रेविहार यातायातका सञ्चालक र व्यवसायीमा प्रोत्साहन थपियो । अनि काठमाडौँसहितका प्राय रुटहरुमा नयाँ बसहरु थपियो । यसले यात्रुहरुलाई धेरै तान्यो । विशेषगरी काठमाडौँ जाने यात्रुहरुले जब नयाँ र ठूला बसहरु चढ्न थाले । साच्चै काठमाडौँको यात्रा सामान्यबाट लक्जरी बन्न थाल्यो । यसको सुरुवात काँक्रेविहार यातायातले गरेको थियो ।

जसको नेतृत्वमा थिए, रमेश सापकोटा । तत्कालीन समयमा सुर्खेत काँक्रेविहार यातायात व्यवसायी संघको सचिव भएर काम गरेका उनले यात्रुको राहतलाई ध्यानमा राखेर धेरै रुटहरुमा नयाँ बस थप्न थाँले । यो अभ्यासले कैयौँ गाडी चालकहरुलाई पनि मालिक बनायो ।
कम्पनी नै जमानी बसेर धेरै गाडी चालकहरुले नयाँ बस किनेर कर्णालीका यात्रुहरुको सारथी बन्न थालेका थिए । एकपटक त झण्डै १५ देखि २० जना बस चालकहरुलाई कम्पनीले नै नयाँ बस किनेर मालिक बनाएको थियो । यसले सुर्खेत काँक्रेविहारलाई नयाँ अनुभव र सफला दिलायो ।
यात्रुसँग महंगो भाडा मात्रै होइन, महंगो शुल्क तिर्नुपरे पनि उचित सेवा सुविधा दिनुपर्छ भन्ने सोचबाट सापकोटा सञ्चालित थियो । जसले गर्दा कर्णालीको सार्वजनिक यातायात क्षेत्रमा क्रान्ति नै ल्यायो ।
यता बस व्यवसायीहरु नयाँ बस ल्याएर खुशी हुँदा यात्रुहरु पनि नयाँ र राम्रा बस चढ्न पाँउथे । मध्यपश्चिम पनि त्यतिबेला पनि बाध्यतात्मक पुराना गाडीबाट नयाँ बसहरुमा सिफ्ट भएको थियो । काँक्रेविहार यातायात प्रतिष्पर्धामा नआउँदो हो त मध्यपश्चिमले पुरानै गाडी चलाएर यात्रुबाट महंगो भाडा लिएर सिण्डिकेट लादिरहने निश्चित थियो ।
तर जब कर्णालीमा काँक्रेविहार यातायात आयो, सार्वजनिक यातायातमा क्रान्ति नै ल्याएको थियो । जुन आजसम्म पनि जारी छ । आज पनि थुप्रै नयाँ बस व्यवसायीहरुले नयाँ र ठूला गाडीसँगै विद्युतीय गाडीमार्फत सेवा दिइरहेका छन् । जसको श्रेय काँक्रेविहार र रमेश सापकोटालाई स्वतः जान्छ ।