नाम : टीकाराम आचार्य
पद : संस्थापक, समाज जागरण केन्द्र (स्याक) नेपाल
कर्णाली व्यक्तित्व नं. : २०
राज्यबाट सँधै पछाडि परेको कर्णाली गैरसरकारी संघ संस्थाका लागि उर्वर भूमि हो । झट्ट सुन्दा यो तितो लागेपनि यतार्थ हो । सरकारले गर्न नसकेका काम, सरकारकै अनुमति लिएर सञ्चालन भएका सयौँ संघ संस्थाले कर्णालीमा गर्दै आएका छन् ।
बहुदलपछि स्थापित भएका, द्वन्द्वकालमा झाँगिएका र लोकतन्त्रमा अथाह नाम र दाम कमाएर गणतन्त्र हराएका संघ संस्थाहरुको सूचि जति लामो छ, कथा त्यति डरलाग्दो छ । यही डरका बाबजुद पनि निरन्तर आफ्नो काममा तल्लीन एउटा संस्था छ, जसले कर्णालीका धेरै आयाममा लगातार काम गरिरहेको छ ।
जसको नाम हो, समाज जागरण केन्द्र (स्याक) नेपाल । सुर्खेतमा केन्द्रीय कार्यालय खोलेर कर्णालीका धेरै जिल्लामा कार्यक्रम विस्तार गरेर काम गरिरहेको संस्थाले हजारौँलाई रोजगारी दिएको छ । अनि त्यत्तिकै संख्यामा यसले प्रतिभाहरु पनि उजागार गरेको छ ।
सुरुमा बालबालिकाको क्षेत्रमा काम गरेको स्याकले विस्तारै शिक्षा, समाज, महिला तथा उद्यमी र सञ्चारमाध्यमका क्षेत्रमा पनि काम गरेको छ । एक समय कर्णालीमा भयावह बनेको एचआईभी भाइरसविरुद्ध जनचेतना फैलाएको स्याक पछिल्लो समय शिक्षा र उद्यमी क्षेत्रमा क्रियाशील छ ।

संस्थालाई दशकौदेखि सही नेतृत्व गरिरहेका टीकाराम आचार्य स्याकका संस्थापक हुन् । उनकै सुझबुझपूर्ण नेतृत्व र क्रियाशीलता संस्था फैलिँदै र झाँगिदै गएको छ । कर्णालीका विविध आयाममा काम गरिरहेको यो संस्थाले पछिल्लो समय स्थानीय र प्रदेश सरकारसँग मिलेर धेरै काम गरिरहेको पाइन्छ ।
सबैलाई साथमा लिएर हिड्न सक्ने र जस्तोसूकै परिस्थितीमा पनि सहयात्रीहरुको सम्बन्ध बचाइराख्ने स्वभावका आचार्य कर्णालीका एक अगुवा सामाजिक व्यक्तित्व हुन् । जो बोलीमा भन्दा धेरै कर्म र क्रियाशीलतामा विश्वास गर्छन् ।
जसका कारण आज स्याक नेपालले सञ्चालन गरेका कार्यक्रमबाट प्रोत्साहित भएर धेरै युवाहरु कर्णालीको समाजदेखि राजनीतिसम्म सक्रिय छन् । यसको श्रेय कँही न कँही स्याक नेपाललाई पनि जान्छ । जो यस कामका लागि प्रभावित छैनन्, अझै समुन्नत र सुन्दर समाज निर्माणका लागि अझै उत्प्रेरित भएर काम गरिरहेका छन् ।