नाम : राजबहादुर शाही
पद : पहिलो सभामुख, कर्णाली प्रदेश सभा
कर्णाली व्यक्तित्व नं. : ४०
एक समय थियो, कर्णाली नेपालका राज्यहरुमा सबैभन्दा शक्तिशाली थियो । खस राज्यका रुपमा परिचित कर्णालीको परिचय नेपालभर बलशाली थियो ।
तर जब पृथ्वीनारायण शाहले नेपाल एकिकरण गरेर सबै राज्य नेपाल देशमा गाँभे, त्यसपछि कर्णालीको परिचय केवल राजधानीदेखि टाढाको विकटतामा सीमित भयो । जब देशमा संघीयता आयो, त्यसमा पनि कर्णालीले झण्डै परिचान र परिचय गुमाइसकेको थियो ।
तर कर्णालीका जनता र शहिदहरुको रगतले कर्णालीले आफ्नो छुट्टै नाम र पहिचान पायो । त्यो परिचानलाई पनि कुनै एक व्यक्तिले नेतृत्व गर्ने अवसर पाउँछन्, त्यसमध्येको एउटा नाम हो, राजबहादुर शाही । जसले नेपालको संघीयतामा कर्णाली प्रदेशको पहिलो सभामुख हुने अवसर पाएँ ।
नेकपा एमालेको राजनीतिबाट उदाएका शाही लामो समय दैलेखको सेरोफेरोमा राजनीतिमा लागे । जब संघीयताको अभ्यास र कार्यान्वयन सुरु भयो । त्यसपछि उनले सुर्खेत ओर्लिने अवसर पाए ।

निकै मुश्किलले राजनीतिमा टिकेका उनले प्रदेशसभाको पहिलो चुनावमै जित हात पारे । प्रदेशसभा सांसद भएर कर्णाली प्रदेशसभामा प्रवेश पाएका उनले तत्कालीन एमाले र माओवादीको गठबन्धन तथा पार्टी एकताका कारण सभामुख बन्ने अवसर पाए ।
लामो समयदेखि एमाले संस्थापन पक्षमा रहेका शाहीले आफू कर्णाली प्रदेशसभाको पहिलो सभामुख बन्छु भन्ने सोचेकै थिएनन् । तर जब अवसर आयो, उनले त्यसलाई गुमाएनन् ।
अन्ततः कर्णाली प्रदेशको इतिहासमा उनी पहिलो प्रदेश सभामुख बनेर इतिहासका स्वर्णिम पानामा आफ्नो नाम लेखाए । उनको पाँच वर्षे कार्यकालमा प्रदेशसभामा अनेक ताण्डव देखिए । नेपालमै त्यसमा पनि प्रदेशसभामा पहिलोटक, ‘फ्लोर क्रस’ जस्तो दुर्लभ घटना पनि देखियो ।
प्रदेशसभामा आफ्नो सरकार जोगाउन र अर्काको सरकार भत्काउन दलका नेताहरुले हदैँसम्मको नाटक मञ्चन गरे । जसको साक्षी र समकक्षताका रुपमा सभामुख शाही रहे ।