नाम : देवीराम रोकाया
पेशा : पर्यटन व्यवसाय
कर्णाली व्यक्तित्व नं. : ४३
रारा ताल कर्णालीको पर्यटनको सगरमाथा हो । अर्थात कर्णालीमा जति पर्यटक आउँछन्, त्यसको प्रमुख आकर्षणमा रारा पर्छ । राजा महेन्द्रले तत्कालीन समयमा रारा भ्रमण गरेपछि मोहित भएर ‘स्वर्गकी अप्सरा’को नाम दिदैँ रारा तालबारे कविता लेखेका थिए ।
राजा महेन्द्रको भ्रमणपछि ‘स्वर्गकी अप्सरा’ नामले झन् चर्चित बनेको रारा तालको सजावट र प्रवद्र्धनमा त्यसपछि स्थानीय बासिन्दासमेत लागेका थिए । रारामा पर्यटक भरिन थालेपछि उनीहरुको व्यवस्थित बसोबासमा लागेका स्थानीय बासिन्दामध्ये एक हुन्, देवीराम रोकाया ।
जसले कर्णालीको पर्यटनको केन्द्रबिन्दु रारालाई अन्तर्राष्ट्रिय गन्तव्य बनाउन स्थानीय बासिन्दा हुँदै व्यवसायीसम्मको यात्रा तय गरेका छन् । अनि राराको व्यवस्थापन, व्यवसायीको हकहित र थप प्रवद्र्धनका लागि रारादेखि राजधानी काठमाडौँसम्मको यात्रा पनि तय गरेका हुन् ।
राराकै नामबाट ट्राभल कम्पनी खोलेर पर्यटक कर्णाली घुमाइरहेका रोकायाले राराको मुर्माटपमा रारा इको भिलेज रिसोर्ट पनि खोलेका छन् । कर्णाली पुग्ने पर्यटकका माग र मुद्दाका विषयमा पटक पटक केन्द्रीय राजनीतिज्ञदेखि नेपाल पर्यटन बोर्ड र पर्यटन मन्त्रालयमा पटक पटक धर्ना दिएका उनी अहिले पनि कर्णालीको पर्यटन विकासका लागि लागिरहेका एक महत्वपूर्ण अभियान्ता हुन् ।

पछिल्लो समय कर्णालीमा पर्यटन व्यवसायी बढिरहँदा उनीहरुलाई मार्गनिर्देशनदेखि एकत्रित गर्ने काम पनि रोकायाले गरिरहेका छन् । कर्णाली पर्यटन व्यवसायी परिषद् गठन गरेर त्यसको नेतृत्व गरिरहेका रोकायाले रारा र कर्णालीको पर्यटन विकासको लागि निजी क्षेत्रले गर्नुपर्ने काम र प्रयासका विषयमा लामै सूचि बनाएर लागिरहेका छन् ।
कर्णालीको पर्यटन विकासका लागि सरकारी, निजी क्षेत्र र सरोकारवालाको महत्वपूर्ण भुमिका रहनुपर्ने भएपनि त्यसका लागि साझा प्रयास हुन सकेको छैन । रोकाया तीनै पक्षलाई एक ठाउँमा राखेर धेरैपटक बहस तथा छलफल गर्दै कर्णालीको पर्यटन विकासमा मिसन र भिजन बोकेर लागिरहेका सक्रिय अभियान्ताका रुपमा परिचित छन् ।
पछिल्लो समय उनलाई कर्णाली प्रदेश सरकारले कर्णालीको पर्यटन विकासका लागि आवश्यक संस्थागत संरचना विकास गर्न कर्णाली पर्यटन परिषद् समितिको सदस्यमा मनोनित गरेको छ ।
पछिल्लो समय जलवायु परिवर्तनका कारण कर्णालीको पर्यटनमा गम्भीर असर परिरहेका बेला रोकाया त्यसका लागि सरकार तथा निजी क्षेत्रबाट गर्नुपर्ने कामका विषयमा पनि सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउँदै आएका छन् ।