नाम : नरेश भण्डारी
पेशा : राजनीति
कर्णाली व्यक्तित्व नं. : ५०
भनिन्छ, हजार जनता मुर्ख भएर केही हुँदैन । तर एउटा नेता मुर्ख भयो भने उसले सारा जनता मात्रै होइन्, पुरै देश बर्बाद गर्न सक्छ । जसको ज्वलन्त उदाहरण हुन्, हिटलर । जसले आफ्नो मुर्खताकै कारण जर्मनी मात्रै होइन, दोस्रो विश्वयुद्ध उत्पन्न गराएर पूरा विश्वलाई तहसनहस गरे ।
त्यसकारण लाखौ जनता असल, स्वभिमानी र समृद्ध हुनलाई एउटा नेता राम्रो चाहिन्छ । कर्णालीमा त्यस्तो एउटा गुण भएका नेतामा गनिन्छन्, नरेश भण्डारी । जुम्लामा जन्मिएर कर्णाली कायाकल्प गर्ने सपना पालेका माओवादी पार्टी तथा जनयुद्धबाट उदाएका नेता हुन्, नरेश भण्डारी ।
जसले कर्णालीको क्षमता र वास्तविक शक्ति चिनेका छन् । कर्णाली प्रदेशका पहिलो गृहमन्त्रीसमेत बनेका भण्डारी मुख्यमन्त्रीका आकांक्षी थिए । तर केन्द्रीय नेताहरुको स्वार्थ र गुटगत राजनीतिका कारण उनी मुख्यमन्त्री हुन सकेनन् । जसकारण अहिले पनि केन्द्रजस्तै कर्णाली अस्थिर राजनीतिको चपेटामा छ । र, एक भिजिनरी नेताको अभावमा आन्तरिक तथा अस्थिर राजनीतिको भुमरीमा परेको छ ।
कर्णालीको माटो चिनेका र संसारभर चिनाउन सक्ने नेताका रुपमा भण्डारीलाई चित्रण गरिन्छ । यद्यपी उनको शासकीय शैली र शक्तिको परीक्षण हुन बाँकी छ । उनले बुनेका सपना कति सार्थक, यथार्थपरक र समृद्धिमुखी छन्, त्यसको पनि हिसाबकिताब हुन बाँकी छ । तर उनमा कर्णाली विकास तथा समृद्ध बनाउने तीव्र आकांक्षा र हुटहुटी छ ।
कर्णालीमा आन्तरिक स्रोत साधनको परिचालनदेखि कर्णालीको विकास, निर्माण तथा सुशासनका लागि आफैले शुरुवात गर्न सकिन्छ भन्ने उदाहरण उनले पेश गरेका छन् ।

उनले कर्णालीमा पर्वतीय विश्वविद्यालयदेखि कर्णालीका जनतामा रहेको आधारभूत शीप र पुख्यौली पेशालाई आधुनिकीकरण गर्नुपर्छ भनेर अभियान नै चलाउँदै स्वतन्त्र रुपमा विधेयक निर्माण गर्नुले पनि त्यसलाई संकेत गर्छ ।
नयाँ संविधान, संघीयता र गणतन्त्रका लागि जनयुद्धमा होमिएका जुम्लाका नेता भण्डारीले पार्टीको नेतृत्वमार्फत त्यो जनतामा दिलाउन आफ्नो योगदान दिन सफल भए, तर त्यसैको जगमा स्थापित उपलब्धी आज माओवादी नेतृत्वको सत्ता राजनीतिले संकटमा पारेपनि उनमा कर्णालीको जनताका लागि केही दूरगामी र तात्तिक भिन्नता ल्याउने काम गर्ने आँट देखिन्छ ।
कर्णालीमा लगातार तीन दशकको राजनीति गरेर संविधानसभा सदस्य, प्रतिनिधिसभा सदस्य र कर्णाली प्रदेशको पहिलो गृहमन्त्रीसमेत भइसकेका उनी अब मुख्यमन्त्री हुन बाँकी छ ।
यदि उनको यो परीक्षण उनको प्रमुख कार्यकारी पदमा पुगेर कार्यान्वयन भएमा यसले कर्णालीले पनि सुशासन र समृद्धि पाउँछ भन्ने आशा कायम राख्दै कर्णालीखबर स्थापनाको विशेष अवसरमा हामीले उनलाई कर्णालीका १०० व्यक्तित्व सूचिमा समेटेका छौँ ।