नाम : विमला केसी
पेशा : राजनीति
कर्णाली व्यक्तित्व नं. : ५३
धेरैलाई थाहा छ, कर्णाली प्रदेश सरकारका पहिलो मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुन् । र, यो पनि धेरैलाई थाहा हुनुपर्छ, कर्णालीको पहिलो प्रदेश सरकारमा विमला केसी पहिलो महिला मन्त्री हुन् ।
उनी २०७४ सालमा गठित कर्णाली प्रदेश सरकारमा माओवादी केन्द्रबाट कृषि, भूमि तथा सहकारी मन्त्री बनेकी थिइन् । माओवादी केन्द्रको नेतृत्वमा बनेको सरकारमा उनी मन्त्रीसँगै सरकारकी प्रवक्तासमेत थिइन् । पहिलो महिला मन्त्रीका रुपमा इतिहास बनाउँदा उनले कर्णाली प्रदेश सरकारमा प्रभाव पनि जमाएकी थिइन् ।
केन्द्रमा जनार्दन शर्माको साथ सहयोगसमेत पाएकी उनले जुन इतिहास बनाइन्, त्यो इतिहाससँगै कर्णालीमा माओवादी केन्द्रबाट शक्तिशाली अध्यक्ष बन्ने इतिहास पनि रचेकी थिइन् ।
अहिले पनि उनी माओवादी केन्द्र कर्णाली प्रदेशकी अध्यक्ष हुन् । माओवादी केन्द्रले २०५१ सालमा जनयुद्ध थाल्दा महिला मोर्चाको नेतृत्व गर्दै जनमुक्ति सेना, कार्यकर्ता बन्दै त्यही बलमा स्थापित गणतन्त्रमा उनी कर्णाली प्रदेशको पहिलो महिला मन्त्री बन्न सफल भएकी हुन् ।

त्यसअघि खासै चर्चा र मिडियाको हेडलाइन नपाएकी उनले पहिलो महिला मन्त्री बनेदेखि निरन्तर चर्चा र शक्तिकेन्द्रमा आफूलाई राख्न सफल भएकी छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेत भएपनि उनले आफ्नो इतिहास लेखेदेखि कर्णालीको राजनीतिक केन्द्र रुकुम पश्चिमलाई बनाउँदै आएकी छन् ।
रुकुम पश्चिमबाटै उनी पहिलो महिला मन्त्री बन्दा गोपाल शर्मा अर्थमन्त्री तथा राजकुमार शर्मा कर्णालीको तेस्रो मुख्यमन्त्री बनेका थिए । केन्द्रमा जनार्दन शर्माको प्रभावका कारण पनि कर्णालीमा विमला केसीको राजनीतिक उचाई र गहिरो प्रभाव बढ्दै गएको छ ।
एउटा इतिहास निर्माण गर्न जनयुद्धमा होमिनेदेखि गणतन्त्रमा पहिलो महिला मन्त्री बनेर कर्णालीमा इतिहास र राजनीतिक प्रभाव बनाएकी विमला केसीलाई हामीले कर्णाली चिन्ने र चिनाउने कर्णालीखबरको स्थापना दिवस विशेष अवसरमा कर्णालीका १०० व्यक्तित्व सूचिमा समेटेका छौँ ।