नाम : नारायण सापकोटा
पेशा : पत्रकारिता
कर्णाली व्यक्तित्व नं. : ५९
विगत २५ वर्षमा भेरी र कर्णाली नदीमा धेरै पानी बग्यो । जसरी समयको वेगसँगै पानी बग्यो, त्यसरी समाजमा अनेक घटनाक्रम घटे । कर्णाली र भेरी नदीको सेरोफेरोमा समयको वेगसँगै बगेको समयको हिसाबकिताब राखिरहेका एक व्यक्ति हुन्, नारायण सापकोटा ।
उनी कर्णालीको इतिहासमा अहिले पनि एक अटुट परिचय बोकेका व्यक्ति हुन् । जसले सुरुवातदेखि अहिलेसम्म पनि व्यवसायिक पत्रकारिता गरिरहेका छन् । यो २५ वर्षमा धेरै मानिसहरु पत्रकारितामा आए । जसरी आए, त्यसरी हराए पनि । यो बीचमा त्यतिबेलाको मध्यपश्चिम र अहिलेको कर्णालीमा धेरै पत्रिका खुले, तर खुलेकामध्ये निकै थोरैले मात्र त्यसलाई निरन्तरता दिए ।
त्यही निरन्तर पत्रकारिताको एक साक्षी हो, लोकमञ्च दैनिक । २०५७ सालदेखि सञ्चालनमा रहेको लोकमञ्च दैनिक अहिले पनि नारायण सापकोटाकै नेतृत्वमा प्रकाशित भइरहेको छ । यो दैनिक स्थापित हुँदा सम्पादकको भूमिकामा रहेका उनी पछिल्लो १५ वर्षदेखि प्रकाशकको भुमिकामा छन् । सुर्खेतमा सबैभन्दा पहिले प्रकाशित भएर निरन्तर सञ्चालित पत्रिका हो, काँक्रेविहार । काँक्रेविहार प्रकाशित भएको केही समयपछि लोकमञ्च दैनिक आएको हो ।
त्यो भन्दा अगाडि बुलबुले पत्र, भेरी सुसेली लगायत दैनिक तथा साप्ताहिक पत्रिका पनि सञ्चालित थिए । तर ती कति पत्रिका केही समय प्रकाशित भएर बन्द भए । अहिले सञ्चालित धेरै दैनिक पनि पटक पटक बन्द भएर फेरि सञ्चालनमा आएका हुन् । तर पनि अनेकौ कष्ट र आर्थिक संकट झेलेरै पनि नारायण सापकोटाले सुर्खेतमा सुरुदेखि सम्प्रेषित लोकमञ्च दैनिकको सास र आश बचाइरहेका छन् ।
डिजिटल दूनियाँको मारमा प्रिन्ट मिडिया प्रताडित भएपनि उनले प्रेस भनेकै पत्रिका हो भन्ने सिद्धान्त आत्मसात गरिरहेका छन् । आफू पहिलो सम्पादक भएर बसेपछि उनलाई सहयोग गर्न धेरै सम्पादक आए । धेरै रिपोर्टर आए । यसबीचमा हकर कति आए । सिजनल रिपोर्टर कति आए । त्यसको हिसाबकिताब उनले राख्न भ्याएका छैनन् । तर उनी आफू सम्पादक भएरै बसेकाले होला, अहिलेसम्म सुर्खेतमा धेरै पत्रकार र सम्पादक भने उत्पादन गरिसकेका छन् ।

कति सम्प्दाक अहिले राष्ट्रिय मिडियाका संवाददाता छन् । कति प्रदेश ब्युरो हेर्छन् । कतिले पत्रकारिता पेशा नै छाडिसके । आफूँसँगै सुरु गरेर पत्रिका चलाएका धेरैले पत्रिका नै बेचेर अहिले पत्रकारकै नेता पनि भइसके । तर नारायण सापकोटा अहिले पनि त्यही भूमिकामा छन्, अर्थात लोकमञ्च दैनिकको प्रकाशक सम्पादक ।
सुर्खेत वीरेन्द्रनगरमै जन्मेका उनी पञ्चायतकाल, बहुदल, माओवादीको जनयुद्ध, लोकतन्त्रको आन्दोलन मात्रै होइन, गणतन्त्र र संघीयताका सबैभन्दा भरपर्दा साक्ष्ी हुन् । सुर्खेतमा पत्रकारिता, पत्रिका प्रकाशन र राजनीतिमा पनि सक्रिय रहेका उनी सुर्खेत क्याम्पसमा उपप्राध्यापकका पनि कार्यरत छन् ।
तर उनको साझा परिचय भने लोकमञ्च दैनिक हो । जो पछिल्लो २६ वर्षदेखि निरन्तर प्रकाशकीय तथा सम्पादकीय भूमिकामा रहेका एक्ला पत्रकार हुन् । एक सामाजिक अगुवा हुनुको हिसाबले उनले कर्णालीको राजनीतिक, आर्थिक, सामाजिक तथा शैक्षिक क्षेत्रको परिवर्तन नजिकबाट नियालेका छन् । त्यति मात्रै होइन, उनले कर्णालीका पर्यटकीय सम्पदा र जो कोही नयाँ व्यक्तित्वलाई पनि आफ्नो पत्रिकामा महत्वपूर्ण स्थान दिँदैँ आएका छन् ।
कर्णालीको इतिहासमा धेरै घटनाक्रमको साक्षीका रुपमा रहेका सापकोटा स्वतन्त्र र सुरुदेखिकै व्यवसायिक पत्रकारिताका एक महत्वपूर्ण प्रेरणा हुन् । अहिले धेरै युवा पत्रकार आत्मनिर्भर तथा व्यवसायिक पत्रकारिता गरिरहेपनि त्यसलाई टिकाइराख्न फलामको चिउरा चपाएसरह संघर्ष गरिरहेका छन् ।
उनीहरुको संघर्षलाई ढाडस दिने व्यक्तिका रुपमा सापकोटा परिचित छन् । किनभने सुरुवात जोसूकैले गर्न सक्छ, तर निन्तरता दिन आवश्यक धैर्यता, समस्या, त्यसको समाधान र सँधै आफैप्रति आत्मविश्वास लिएर अगाडि बढ्ने प्रेरणा दिने उचाईँ र सफलतासम्म सबै पुग्दैनन् ।