सुर्खेत। दैलेखको ठाटीकाँधमा जारी लेकबेँसी प्रिमियर लिग सिजन–१ अन्तर्गत आइतवार सम्पन्न खेलसँगै लिग चरणका सबै खेलहरू सकिएका छन्।
दिपावलीको अवसरमा दैलेखको ठाटीकाँध गाउँपालिका–६ पाँचलामा लेकबेँसी स्पोर्ट क्लबद्वारा आयोजना गरिएको यो प्रतियोगितामा १६ टिम सहभागी भएका थिए। लिग चरण पूरा हुँदा ८ टिम प्रतियोगिताबाट बाहिरिएका छन् भने ८ टिम क्वार्टरफाइनल चरणमा प्रवेश गरेका छन्।
आयोजकका अनुसार प्रतियोगिताको विजेताले ६१ हजार १११ रुपैयाँ, र उपविजेताले ३१ हजार १११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै, उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई प्लेयर अफ द टुर्नामेन्ट, इमर्जिङ प्लेयर, बेस्ट ब्याट्सम्यान र बेस्ट बलर पुरस्कार प्रदान गरिनेछ । १६ टिमको सहभागितामा सुरुवात भएको लिगको लिग चरणको समाप्तिसँगै क्वार्टरफाइनलका लागि छनोट भएका आठ टिमहरूको घोषणा भएको छ।
आइतवारको खेल र उत्कृष्ट खेलाडीहरू
त्यसमध्ये तेस्रो खेलमा लेकबेँसी स्पोर्ट क्लबका ब्याट्सम्यान दिनेश रावतले उत्कृष्ट प्रदर्शन गर्दै १० छक्का र १ चौकाको मद्दतले ८२ रनको शानदार पारी खेलेका थिए । उनी सोही प्रदर्शनका आधारमा म्यान अफ द म्याच घोषित भएका थिए। उनको टोलीले जौचर डाइनामिक ब्लास्टविरुद्ध प्रभावशाली जित दर्ता गरेको थियो।

अन्य खेलहरूमा पनि उत्कृष्ट प्रदर्शनकर्ताहरू घोषणा गरिएका थिए । पहिलो खेल सन्दीप शाही धौलापडा स्पोर्ट क्लब, दोस्रो खेल लबराज तिरुवा ७३ क्रिकेट क्लब, तेस्रो खेल दिनेश रावत लेकबेँसी स्पोर्ट क्लब, चौथो खेल अनिल कठायत कठायत समाज आग्र, पाँचौँ खेल विष्णु शाही धौलापडा स्पोर्ट क्लब, छैटौँ खेल धोजबहादुर शाही लेकबेँसी स्पोर्ट क्लब ‘ए’, उत्कृष्ट प्रदर्शन गरेका थिए । प्रतियोगिता असोज ३० गतेदेखि सुरु भएको हो।
उद्घाटन समारोहको उद्घाटन कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले गरेका थिए । आयोजक समितिका सदस्य ऐनबहादुर शाहीका अनुसार लिगमा स्थानीय तह लगायत सरकारी सहयोग बिना क्लबहरूको आन्तरिक सहयोग र स्थानीय युवाहरूको सक्रिय सहभागितामा सञ्चालन गरिएको बताए ।
स्थानीय युवामा खेलप्रतिको रुचि अभिवृद्धि गर्ने, खेलकुदलाई अनुशासन र एकताको माध्यम बनाउने तथा प्रतिभावान खेलाडीलाई पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको शाहीले जानकारी दिए ।