पछिल्लो समय नेपालमा जन्मदर घटिरहेको छ । उमेरमै विवाह गर्ने प्रचलन पनि घट्दो छ । जन्मदर, विवाह प्रचलन मात्रै होइन, नेपाल बस्ने युवा र मानिसहरुको संख्या पनि घट्दो छ । जसको मूल कारण हो, देशको अस्तव्यस्तता अनि असुरक्षित भविष्य ।
आफूलाई पाल्न, आफ्नो परिवार पाल्न र त्यो जिम्मेवारी निर्वाह गर्न मानिस सकेसम्म नेपाली समाज र देशबाट टाढिदै गएको छ । तर कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक युवा छन्, जसले आफ्नो होइन, आफ्नो घर परिवार मात्रै होइन, झण्डै १३० जना वादी समुदायको बालबालिकाको भविष्य बनाउन आफ्नो पुरै जीवन समर्पित गरेका छन् ।
दैलेखमा जन्मेर सुर्खेतमा एक हिम्मत र साहस जुटाएर पछिल्लो समय कर्णालीबाट नेपालभर चर्चामा रहेका व्यक्तित्व हुन्, हिक्मत वादी । आफ्नो लागि नभएर वादी समुदायको बालबालिकाका लागि उज्यालो छर्ने काम गरिरहेका छन्, हिक्मतले ।
दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिकामा जन्मेका हिक्मत सुर्खेतमा ११० जना र काठमाडौँमा २० जना गरेर १३० जना वादी समुदायका बालबालिकाको नयाँ भविष्य बनाउन लागिरहेका छन् । उनले ती बालबालिकालाई उनीहरुको घर आगँनबाट सुर्खेत ल्याएर राम्रो व्यवस्थापनसहित पढाइरहेका छन् ।
वादी समुदायको अधिकार सुनिश्चत गर्न उनी थुप्रैपटक लड्दै आएका छन् । उनको लडाइ रोकिएको छैन । अहिले पनि उनले सुर्खेतमा वादी सरोकार मञ्च नामक संस्था खोलेर वादी समुदायका बालबालिकाको लागि उज्यालो भविष्य बनाउने काममा तल्लीन छन् ।
नदी किनारामा बसेर आफ्नो जिविकोपार्जन गर्ने वादी समुदाय नेपाली समाजमा सीमान्तकृत बस्तीका रुपमा परिचित छन् । वादी समुदायका बालबालिकाहरुको शिक्षा, स्वास्थ्य, गाँस, बास र कपासका लागि अहोरात्र लागि परेका छन् ।
हिक्मतले वादी समुदायको बालबालिकाको भविष्य निर्माणका लागि आफ्नो धेरैथोक बिर्सेका छन् । युवा उमेरमै उनले सकारात्मक सोच र समाजसेवाको थालनी गरेर अहिले सुर्खेत, काठमाडौँ हुँदै अन्तर्राष्ट्रियस्तरमा संघर्ष, सफलता र एक अटूट साहसको कथा भनिरहेका छन् ।
एक गैरसरकारी संस्थाका रुपमा वादी सरोकार मञ्चमा उनले थुप्रै वादी समुदायका बालबालिकाको नयाँ भविष्यको गाथा कोरेका छन् । पछिल्लो एक दशकदेखि समाजसेवामा तल्लीन उनलाई शिक्षाको उज्यालो छर्नु नै मानससेवाको सबैभन्दा शक्तिशाली समाजसेवा हो भन्ने पनि प्रमाणित गरेका छन् ।
नेपालमा राजी समुदाय, माझी समुदाय, चेपाङ समुदाय, राउटे समुदायमा राज्यकै लगानी छ । तर वादी समुदायमा भने अहिले पनि गैरसरकारी संघ संस्था र विदेशी दाताकै भर छ । राज्यले उनीहरुलाई समाजको डिलमा ल्याउन खोजेपनि नदी तथा खोला किनारकै मानिसको रुपमा अर्थ्याइरहेको छ ।
राज्यको यही विभेदकारी व्यवस्था र सोचविरुद्ध लामो लडाईमा छन्, हिक्मत । जसले सुर्खेत वादी समुदायको साथमा आन्दोलन स्थापित गरेका छन् । कर्णाली र काठमाडौँमा वादी समुदायको मुद्दा सिंहदरबारको ढोकासम्म पुर्याएका छन् । अनि पछिल्ला केही वर्ष थोरै भएपनि वादी समुदायका लागि राज्यको लगानी भित्र्याएका छन् ।
राज्यले गर्नुपर्ने कामको सुरुवात हिक्मतले गरेका छन् । त्यसमा पनि आधारभूत अधिकारबाट बञ्चित वादी समुदायका बालबालिकाको शिक्षाको उज्यालो छर्ने काम हिक्मत आफ्नै हिम्मतले गरिरहेका छन् ।
उनको यही कर्मले हिक्मतलाई अमेरिकाको शक्तिशाली र प्रतिष्ठित ‘सीएनएन हिरो’को बलियो दाबेदारका रुपमा उभ्याएको छ । समय लाग्ला । संघर्ष अझै थपिएला । परिस्थिती कष्ठकर होला । तर जसै दिन बित्दै जाँदा वादी समुदायको भविष्य चम्किदै जान्छ, हिक्मतको मुहारको खुशी बढ्दै जानेछ । अनि उनलाई सुर्खेत, कर्णाली र काठमाडौँमै मात्र होइन, अन्तर्राष्ट्रियस्तरमा एक शिक्षाका उज्यालो अभियान्ताका रुपमा संसारले चिन्नेछ ।
शिक्षा, सचेतना र सामाजिक सेवामा समर्पित भएकै कारण सीएनएन हिरो अवार्डबाट यसअघि अनुराधा कोइराला, पुष्पा बस्नेत र सुर्खेतमै स्थापित अमेरिकी नागरिक म्यागी डोयन पुरस्कृत भएर संसारभर चिनिएका छन् । वादी समुदायका एक उज्यालो र भविष्य निर्माता हिक्मत पनि यही बाटोमा अग्रसर छन् ।
[सम्पादकीय नोट : हिक्मत वादी दोभान मल्टिमिडियाद्धारा सञ्चालित कर्णालीखबरले पहिलोपटक प्रकाशित गरेको ‘कर्णाली १००’ सूचिबाट उत्कृष्ट १० जनाको सूचि ‘कर्णाली हिरो’मा मनोनित व्यक्तित्व हुन् । कर्णाली हिरोका अन्य मनोनित व्यक्तित्व हामी बिस्तारै प्रकाशित गर्दै जानेछौँ । कर्णालीका विभिन्न क्षेत्र तथा संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको भोटिङ प्रमाणीमार्फत एक जना कर्णाली हिरो विजेता घोषणा गर्नेछौँ । आगामी असोज १९ गते घोषणा हुने विजेताले एक लाख रुपैयाँ पुरस्कार र सम्मानपत्र प्राप्त गर्नेछन् ।]