गरिबी, अभाव र समस्या । आधारभूत आवश्यकताका बग्रेल्ती चाङ । शिक्षा भनौँ वा स्वास्थ्य समस्या । यातायात र बिजुलीको समस्या त पञ्चायतकालीन अवस्थाबाटै कर्णाली गुज्रिरहेकै छ । कर्णालीका समस्या नेपालमा भनौँ वा काठमाडौँमा समस्या मात्रै नभई एउटा बिम्ब नै बनेको छ ।
यही बिम्बलाई सरल शब्द, लय र सुरमा सुरिलो स्वरमा गायक सुरज पण्डितले ‘रेलको बाटो’ गीत निर्माण गरे । जसले कर्णालीका हजारौँ, लाखौँ नागरिकको पीडा, बाध्यता र समस्या बोल्यो । काठमाडौँमा रेलको चर्चा चर्काइएका बेला गायक सुरज पण्डितले हुम्लाको मोटर बाटोको कथा मात्रै उप्काएका होइनन्, कर्णालीका समस्या जस्ताको त्यस्तै राखिदिएका हुन् ।
एक चक्की सिटामोल नपाएर कैयौँ नागरिकले ज्यान गुमाएका तथ्य पनि उनले यही गीतमार्फत पस्किए । जसले कर्णालीबाट प्रतिनिधित्व गर्ने हरेक सांसद, सरकारका प्रतिनिधि र राज्यकै शासकलाई झस्काउँछ । लेखराज गिरीले लेखेको ‘रेलको बाटो’ गीतमा ‘हुम्ला कहिले मोटर पुग्ला’ थेगो बढी चर्चित रह्यो । कर्णालीको हुम्लामा अहिलेसम्म पनि मोटर नपुग्दा त्यहाँ मानिसले भोगिरहेको दैनन्दिन समस्या गीत र भिडियोमा ‘फिचरिङ’ छ । अहिले हुम्लामा मोटर पनि पुगिसक्यो । तर कर्णालीको समस्या अझै ज्युका त्युँ छ ।
कर्णालीबारे धेरै गीत बनेका छन् । गाइएका छन् । धेरै गायक तथा कलाकारले पनि कर्णालीको कथा पस्केका छन् । कर्णालीकै कलाकारले पनि कर्णालीको दुःख पोखेकै छन् । तर अहिलेका नयाँ गायकले गाएको यो गीतले भने कर्णाली मात्रै होइन, नेपालका हरेक गाउँ गाउँका पीडा व्यक्त गरिदियो ।
उनले झण्डै १० वर्ष संघर्ष गरेपछि गीत संगीतमा यो गीतले सफलता दिलायो । अनि त्यही सफलताको कसीमा निकाले अर्को गीत, ‘सिंहदरबार’ । उनको यो गीत भने साच्चै मर्मस्पर्शी छ ।
जुम्लाको मालाभिडमा जन्मिएका गायक तथा कलाकार पण्डितको सांगीतिक क्षेत्रमा रेलको बाटो गीत ‘टर्निङ प्वाइन्ट’ हो । तर उनको सुन्नुपर्ने, हेर्नुपर्ने र कर्णालीका शासकलाई झस्काउने गीत ‘सिंहदरबार’ हो । गीतका शब्द र संगीतसँगै भिडियोले कर्णालीको संघीयता कथा बोल्छ ।
काठमाडौँको सिंहदरकार गाउँमा आउँछ भनेका राजनीतिक दलका नेता र शासकले गाउँमा कस्तो सिंहदरकार ल्याए र कसरी नागरिकको सेवामा आफ्नो रजाई गरिरहेका छन् भन्ने कथा यो गीतका शब्द, संगीत र भिडियोमा पस्केका छन् ।
सुरजको शब्दमा ‘सिंहदरबार’ गीत नौ महिना लगाएर लेखिएको हो । त्यसलाई शब्दमा लेख्न जति समय लाग्यो, त्यति त्यसलाई भिडियोमा उतार्न शक्तिशाली कथा रचिएको थियो । गीतको भिडियो भने १० दिनमा खिचिएको हो ।
हुम्ला जाने विमानको टिकट नपाएपछि दार्चुलाको दुबु गाउँमा पुगेर सुटिङ गरिएको सिंहदरबार गीत कर्णालीको एक वर्तमान इतिहास हो । संघीयतापछि कर्णालीका स्थानीय तह र त्यसका जनप्रतिनिधि कसरी निर्दयी नेतामुखी छन् भन्ने पूरा कथा गीत र भिडियोले बोल्छ ।
सुरज आफैँले लेखेको, संगीत भरेको र स्वर दिएको गितको भिडियो लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । गीतको भिडियोमा अस्मिता जुरेलीको अभिनय पनि बेजोड छ । यो गीत काठमाडौँमा धेरै सुनिएको छैन । तर कर्णालीका हरेक घरमा हेरिएको, सुनिएको र दुरुस्त प्रतिबिम्बित भएको गीत हो ।
'रेलको बाटो २' सिरिजका रुपमा ‘सिंहदरबार’ बोलको गीत र भिडियोले देखाउँछ, जुम्लामा जन्मेर काठमाडौँमा एक समय मजदुरीसमेत गरेका सुरज पण्डितले गायक बन्न गरेको संघर्ष र आजको सफलता धेरैका लागि प्रेरणा हो ।
चर्चित म्याराथन धावक हरि रोकायाको जिल्लामा जन्मिएका सुरज पनि म्याराथन धावक हुन् । उनी २०६४ सालदेखि २०६८ सालसम्म म्याराथन धावक बनेर दौडिदैँ स्वर्णपदक जितेका छन् । धनगढीमा भएको राष्ट्रिय प्रतियोगितामा सुरज १० हजार किलोमीटर दौडमा स्वर्ण जित्न सफल भएका हुन् । यस्तै पाँच हजार मीटर दौडमा उनले रजतपदक पनि जितेका छन् ।
तर निकै कमजोर आर्थिक अवस्थाबाट माथि उठेका उनी त्यसपछि शरीरले साथ नदिँदा दौड छाडेर मजदुरी गर्न बाध्य भए । मजदुरीबाट जम्मा गरेको पैँसाले उनले पहिलो गीत गाएका हुन् ।
गायक बन्न गीत गाएपनि नचल्दा उनी जति दुःखी हुन्थे, त्यति नै नयाँ र केही फरक गर्नुपर्ने सिर्जनशील क्षमता पनि सिर्जित हुन्थ्यो । चुनौतिबीच पनि आज उनी जति सफल छन्, त्यति नै खुशी पनि ।
आर्थिक अवस्था कमजोर भएका कारण सांगीतिक क्षेत्रमा निरन्तरता दिन गाह्रो भएपछि उनले २०७५ सालदेखि सरकारी सेवा थालेका हुन् । जसलाई उनी बाध्यता भन्छन् । राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण जितेका वन कार्यालय, काठमाडौँका सरकारी जागिरे सुरज पण्डित कर्णालीका जनताका दुःख आफ्नो गीत र भिडियोमा देखाएर शासक झस्काउने गायक पनि हुन् ।
कर्णालीको प्रतिबिम्ब बनेका गायक सुरज पण्डित एक त्यस्ता कर्णाली हस्ताक्षरित गायक अर्थात ‘सिग्नेचर सिंगर’ हुन्, जसले युगौयुगसम्म पनि कर्णालीको कथा, व्यथा र गाथा कर्णालीका पुस्तौपूस्ताले यही गीत गुन्गुनाएर सम्झिरहनेछन्, सम्झाइरहनेछन् ।
[सम्पादकीय नोट : गायक सुरज पण्डित दोभान मल्टिमिडियाद्धारा सञ्चालित कर्णालीखबरले पहिलोपटक प्रकाशित गरेको ‘कर्णाली १००’ सूचिबाट उत्कृष्ट १० जनाको सूचि ‘कर्णाली हिरो’मा मनोनित व्यक्तित्व हुन् । कर्णाली हिरोका अन्य मनोनित व्यक्तित्व हामी बिस्तारै प्रकाशित गर्दै जानेछौँ । कर्णालीका विभिन्न क्षेत्र तथा संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको भोटिङ प्रमाणीमार्फत एक जना कर्णाली हिरो विजेता घोषणा गर्नेछौँ । आगामी असोज १९ गते घोषणा हुने विजेताले एक लाख रुपैयाँ पुरस्कार र सम्मानपत्र प्राप्त गर्नेछन् ।]