काठमाडौँ : दोभान मल्टिमिडियाद्धारा सञ्चालित कर्णालीखबर डटकमले कर्णालीमा पहिलोपटक प्रकाशित गरेको कर्णालीका १०० व्यक्तित्व अर्थात ‘कर्णाली १००’बाट उत्कृष्ट १० जना ‘कर्णाली हिरो’ छनौट सूचि भोलिदेखि सार्वजनिक गर्ने भएको छ ।
भदौँ ४ गते अर्थात आज कर्णाली प्रदेश स्थापना दिवसको अवसरमा कर्णालीका १०० व्यक्तित्व सूचिमध्येबाट १० जना ‘कर्णाली हिरो’ छनौट भोलिदेखि गरिने भएको हो । सूचिमा विभिन्न पेशा तथा क्षेत्रबाट १० जना मनोनित भएकाको नाम सार्वजनिक गरिनेछ । भोलिदेखि हरेक दिन गरेर क्रमशः १० जना ‘कर्णाली हिरो’ मनोनित भएकाहरुको नाम सार्वजनिक गरिने भएको हो ।
जसमा कर्णालीमा जन्मेर, संघर्ष गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चम्किएका नाम समावेश छन् । १० जना ‘कर्णाली हिरो’मध्येबाट विभिन्न व्यक्ति तथा संघ संस्थाका प्रमुख एवं प्रतिनिधिको भोटमार्फत विजेता घोषणा गरिनेछ ।
‘कर्णाली हिरो’ विजेताको घोषणा आगामी असोज १९ गते कर्णालीखबर स्थापना दिनमा हुनेछ । विजेताले एक लाख रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र पाउनेछ । कर्णालीका उत्कृष्ट १० व्यक्तित्व ‘कर्णाली हिरो’को सूचि सार्वजनिक गर्नुअघि कर्णालीका सर्वमान्य व्यक्तित्व अर्थात ‘कर्णाली लिजेन्ड’ घोषणा गरिनेछ ।
कर्णालीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा चिनाएका वरिष्ठ तथा विशेष सम्मानित व्यक्तित्वलाई कर्णालीखबरले पहिलोपटक ‘कर्णाली लिजेन्ड’ घोषणा गर्दै सम्मान प्रदान गर्न लागेको हो । ‘कर्णाली लिजेन्ड’मा तीन जनाको नाम समावेश हुनेछ ।
‘कर्णाली हिरो’ मनोनितका मुख्य मापदण्ड
पहिलोपटक कर्णालीखबरले सार्वजनिक गर्न लागेको ‘कर्णाली हिरो’ मनोनित गर्दा मुख्य १० वटा मापदण्डलाई आधार मानिनेछ । विभिन्न पेशा तथा क्षेत्रमा रहेर कर्णालीमा उत्कृष्ट योगदान दिएका व्यक्तिहरु कर्णाली हिरोमा मनोनित गरिनेछ । जो यसअघि ‘कर्णाली १००’ सूचिमा समेटिएका व्यक्तित्व हुनेछन् ।
आफ्नो पेशा तथा क्षेत्रमा उत्कृष्ट बनेका, अरुका लागि प्रेरणाका स्रोत बनेका र आम कर्णाली प्रदेश र बाहिर पनि राष्ट्रिय रुपमै रोलमोडल रहेका व्यक्तित्व ‘कर्णाली हिरो’मा मनोनित हुनेछन् । जसका मुख्य १० वटा मापदण्ड यसप्रकार तय गरिएका छन्ः
१. आफ्नो पेशा तथा क्षेत्रमा उत्कृष्ट बनेका । उत्कृष्ट रुपमा योगदान दिएर कर्णालीभित्र र बाहिर चिनिएका ।
२. आफ्नै घर, समाजदेखि सुरुवात गरेर राष्ट्रिय तथा अन्तराष्ट्रिय मिडिया तथा मञ्चहरुमा पुगेर आफूलाई प्रमाणित गरेका ।
३. आफ्नै आत्मविश्वास, क्षमता, सिर्जनशिलता र संघर्षले उठेका, जुटेका, संघर्षले खारिएर नयाँ व्यक्तित्व र परिचय बनाएका ।
४. कर्णालीलाई केन्द्रबिन्दुमा राखेर काम गरेका, योगदान दिएका र कर्णालीबाटै चिनिएका व्यक्तित्व ।
५. युवा उमेरमै आफूलाई अब्बल प्रमाणित गरेका । अरुले सोचेका तर उनीहरुले सोचेर पनि काम गरेरै प्रमाणित भएका ।
६. आफ्नै बलमा, सिर्जनशिलता र संघर्षमा आफ्नै परिचय र व्यक्तित्व बनाएका ।
७. कर्णालीमा जन्मेर, कर्णालीबाटै संघर्ष गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त भएका व्यक्तित्व ।
८. आफ्नो क्षमताले कर्णालीको ब्राण्ड बनेका, कर्णालीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा उदीयमान प्रतिभा बनाएका ।
९. कर्णालीमा जन्मे, हुर्केका र संघर्ष गरेका भएपनि राष्ट्रिय रुपमा धेरै मानिसहरुमाझ चिनिएका र नयाँ युवाहरुका लागि रोलमोडल बनेका ।
१०. जसले गाउँघर, समाज, राज्य र सरकारलाई दोष दिएर होइन, परिवर्तन आफैबाट सुरुवात गरेर प्रमाणित गरेका व्यक्तित्व ।
‘कर्णाली हिरो’ विजेताका लागि क–कसले भोट हाल्न पाउनेछ ?
कर्णालीखबरले हरेक दिन गरेर १० जनाको ‘कर्णाली हिरो’ सूचि सार्वजनिक गर्नेछ । जसमा विभिन्न क्षेत्रका व्यक्तित्व समेटिनेछन् । अहिले १० वटा विधामा १० जना व्यक्तित्वलाई ‘कर्णाली हिरो’का लागि मनोनित गर्न लागिएको हो ।
यो पछिल्लो तीन वर्षदेखि उनीहरुको काम, जिम्मेवारी र उदीयमान व्यक्तित्वको मूल्यांकन गर्दै नाम सार्वजनिक गर्न लागिएको हो । नाम सार्वजनिक गरिएपछि उनीहरुमध्येबाट एक जना विजेता घोषणा गरिनेछ । जसको छनौट भोटिङबाट हुनेछ ।
यसमा विभिन्न क्षेत्रका व्यक्तित्वको भोट लिइनेछ । कर्णालीमा रहेका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि र बौद्धिक व्यक्तित्वको भोटिङमार्फत विजेताको घोषणा गरिनेछ । कर्णालीका १० वटै जिल्लाको प्रतिनिधित्व रहने गरि विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको भोट विजेता घोषणाका लागि निर्णायक हुनेछ ।
‘कर्णाली हिरो’मा मनोनित १० जनाको सूचि सार्वजनिक गरेपछि विजेताका लागि भोट गर्न पाउने संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको सूचि प्रकाशित गरिनेछ । जसमा कर्णालीका मुख्यमन्त्रीदेखि मन्त्री, स्थानीय सरकार प्रमुख तथा कर्णालीका बौद्धिक व्यक्तित्व, सामाजिक व्यक्तित्व, पत्रकार, लेखक तथा कलाकारहरुको भोट लिएर विजेता घोषणा गरिनेछ ।
विजेताको घोषणा आगामी असोज १९ गते हुनेछ ।