डोल्पा। विकट हिमाली जिल्ला उपल्लो डोल्पामा प्रमुख जिल्ला अधिकारीसहितको टोलीले एक सातासम्म सेवा प्रवाह तथा विकास अवस्थाको अवलोकन गरेको छ।
जनगुनासो संकलन, स्थानीय माग बुझ्ने, सीमापार सुरक्षाको स्थलगत जानकारी लिने र नागरिकता तथा परिचयपत्र वितरणको अवस्था बुझ्ने उद्देश्यका साथ टोलीले गाउँपालिका क्षेत्रमा भ्रमण गरेको हो।
टोलीमा प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत, प्रहरी नायब उपरीक्षक रुकबहादुर खड्का, डोल्पो बुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइबेल गुरुङ, उपाध्यक्ष पेम्बा धोर्चे गुरुङ, प्रशासकीय अधिकृत मनबहादुर थापा, शिक्षा शाखा प्रमुख निर्मोद केसी लगायत सहभागी थिए।
टोलीले नेपाल–चीन सीमावर्ती मोरिम्ला नाकाको निरीक्षण गर्दै १५ नम्बर सीमास्तम्भको अवस्था हेरेको थियो। नाका क्षेत्रका सीमापास वितरणसँगै तीनवटा पालिकामा राष्ट्रिय परिचयपत्र वितरणको अवस्था समेत बुझिएको प्रमुख जिल्ला अधिकारी महतले जानकारी दिए।
"राज्यको उपस्थिति कति प्रभावकारी छ भन्ने बुझ्नका लागि यो भ्रमण निकै उपयोगी रह्यो। जनताका गुनासा र आवश्यकतालाई केन्द्रमा राखेर नीति निर्माणमा टेवा पुग्नेछ," उनले भने।
टोलीले एक साताको अवधिमा १५४ वटा सीमापास वितरण गरेको छ। सीमापार व्यापारका लागि मोरिम्ला नाका प्रत्येक वर्ष १५ देखि ३० दिन खुला हुने गर्छ। यस अवधिमा यार्चागुम्बा, लत्ताकपडा र उपभोग्य सामग्रीको व्यापार हुन्छ।
भ्रमण टोलीसँग स्थानीयवासीहरूले पाँचबुँदे मागसमेत राखेका थिए— सीमा सुरक्षा बल स्थायी रूपमा राखिनु पर्ने, लासिक्याप–सिसोल सडक निर्माण अघि बढाउनुपर्ने, इलाका प्रशासन कार्यालय स्थापना गरिनुपर्ने, मोरिम्ला नाका कानुनी ढंगले सञ्चालन हुनुपर्ने र फोरजी इन्टरनेट सेवा विस्तारको पहल गर्नुपर्ने।
डीएसपी खड्काले सीमावर्ती प्रहरी चौकीहरूको निरीक्षण पनि गरिएको जानकारी दिए। "सुरक्षाकर्मीहरूका समस्या, पूर्वाधारको आवश्यकता र सिमाना सुरक्षाको अवस्थाबारे प्रत्यक्ष जानकारी लिने अवसर मिल्यो," उनले भने।