डोल्पा। डोल्पामा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार धनबहादुर बुढा विजयी भएका छन् ।
प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनमा ६ हजार ८ सय २ मत ल्याएर बुढा विजयी भएका हुन् ।
उनी नेकपा एमालेका उम्मेदवार लंकबहादुर रोकायसँग १ हजार ४ सय ६ मतान्तरले विजयी भएका हुन् ।
पहिलो पटक प्रतिनिधि सभा सदस्य निर्वाचनमा होमिएका उम्मेदवार रोकाय ५ हजार ३ सय ९६ मत ल्याएर पराजित भएका छन् । त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर बुढाले २ हजार ९ सय ४७ मत प्राप्त गरेर तेस्रो भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देव सिंह ऐडीले १ सय ८१, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार हरि प्रसाद डाँगीले ९२ , स्वतन्त्र उम्मेदवार ओमेन्द्र बहादुर केसीले ५४ मत प्राप्त गरेका छन् ।
त्यसैगरि प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार विकास बुढाले २१, उज्यालो नेपाल पार्टीका उम्मेदवार दिल बहादुर विष्टले ११ मत र मितेरी पार्टी नेपालकी उम्मेदवार जुनु भन्डारीले २ मत प्राप्त गरेकी छन् ।
विजयी उम्मेदवार बुढा यसपटकलाई लगातार चौथो डोल्पाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । यसपटक डोल्पामा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका सह-महामन्त्री सहोदर दाइ कर्ण बहादुर बुढालाई पनि पराजित गरेर उनले चौथो जित निकालेका हुन् ।
धनबहादुर बुढा बिजय भइसके पनि औपचारिक रुपमा घोषणा भने गर्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।