सुर्खेत। डोल्पामा फर्जी मत खसेको भन्दै स्थगित भएको मतगणना अझै सुरु भएको छैन।
काइके गाउँपालिका ४ र ५ को मतगणनाको क्रममा पाँचवटा मतपत्रमा मतदान अधिकृत र मतदाताको हस्ताक्षर नभएको अर्धकट्टीसहितको मतपत्र भेटिएपछि विवाद सुरु भएको थियो।
सातवटा मतपत्रका अर्धकट्टी मात्रै भेटिएका थियो। उक्त मतपत्रमा अनधिकृत व्यक्तिले मतदान गरेको भन्दै नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र एकजना स्वतन्त्र उम्मेदवारले विरोध जनाएपछि मतगणना अन्योल बनेको हो।
उनीहरूले मुख्य निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा पुनः मतदान हुनुपर्ने माग गर्दै उजुरी दिएका छन्।
कर्मचारी संयन्त्रको मिलेमतोमा समग्र जिल्लाभर जालसाजीपूर्ण तवरबाट निर्वाचन भएको दाबी गर्दै उनीहरूले सम्पूर्ण निर्वाचन कार्य बन्द गरी पुन: निर्वाचन हुनुपर्ने माग गरेका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यलयले निवेदनमा माग गरिएबमोजिम नभए सर्वोच्च अदालत जानुपर्ने अवस्था रहेकाले किर्ते र जालसाजीपूर्ण तवरबाट भएको निर्वाचन बदर सम्बन्धमा टुंगो नलागुन्जेल मतगणना कार्य अघि नबढाउन निवेदकहरूले भनेका छन्।
डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले मतगणना सुरु गर्ने विषयमा सर्वदलीय बैठकको प्रयास भइरहेको बताइन्। उनका अनुसार निवेदकहरूले माग गरेबमोजिम मुख्य निर्वाचन अधिकृतले निर्वाचन आयोगबाट राय मागिरहेकाले सर्वदलीय बैठकमा ढिलाइ भइरहेको छ। हालसम्मको मतपरिणामअनुसार नेकपाका धनबहादुर बुढा दुई हजार ९४ मतसहित अग्रस्थानमा छन्।