सुर्खेत। अविरल वर्षासँगै डोल्पा जिल्लाको काइके गाउँपालिका–४ रिवा गाउँमा गएको लेदोसहितको पहिरोले ठूलो क्षति पुर्याएको छ।
गएराति करिब १२:३० बजेतिर बस्तीभन्दा माथिबाट आएको पहिरोले ८ घर पूर्ण रूपमा पुरिएको छ भने ५३ घरमा विभिन्न स्तरको क्षति पुगेको छ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी रुकबहादुर खड्काका अनुसार पहिरोले १२ घरमा मध्यम र बाँकीमा सामान्य क्षति पुर्याएको छ। यस्तै, पहिरोले एक विद्यालय भवनलाई पनि पूर्ण रूपमा ध्वस्त बनाएको छ।
डीएसपी खड्काले पहिरो करिब ५०० मिटर माथिबाट आएको र मोटरबाटो खन्ने क्रममा निस्किएको माटो र ढुंगासहितको लेदो बगेर बस्तीमा पसेको बताए। बस्तीमा पहिरो पस्न थालेपछि त्यहाँका बासिन्दाहरूले खहरे खोलाबाट आएको ठूलो गडगडाहट सुनेर खतरा बुझेका र समयमै भाग्न सफल भएकाले मानवीय क्षति भने नभएको जनाइएको छ।
घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धार तथा राहतमा खटिएको छ। सशस्त्र प्रहरीका सईको नेतृत्वमा ११ जनाको टोली पहिरो प्रभावित क्षेत्रमा परिचालित भएको छ।
उद्धार टोलीले स्थानीयलाई सुरक्षित स्थानमा सार्न, घरभित्रका सामग्री निकाल्न र तत्काल राहत दिन सहयोग गरिरहेको छ। काइके गाउँपालिकाका अध्यक्ष अंगद कुमार राना पनि खाद्यान्न र आवासको व्यवस्था मिलाउन घटनास्थल पुगेका छन्।
स्थानीयको अनुसार पहिरोले बास गर्न नमिल्ने अवस्थामा पुर्याएका धेरैजसो घरहरूमा लेदो पसिसकेको छ, जसले गर्दा बासिन्दाहरू विस्थापित भएका छन्। घटनास्थल जिल्ला सदरमुकाम दुनैबाट करिब ६–७ घण्टाको पैदल दूरीमा पर्दछ।
खड्काका अनुसार बर्खामा सक्रिय हुने तीनवटा खहरे खोलाबाट पहिरो आउन सुरु भएसँगै ठूलो आवाजमा माटो र ढुंगा बग्न थालेपछि स्थानीयले खतराको पूर्वसंकेत पाएर ज्यान जोगाउन सफल भएका थिए।