नाम : चक्रबहादुर चन्द
पेशा : चलचित्र र सामाजिक सेवा
पद : संस्थापक, कर्णाली फिल्म फेस्टिभल
कर्णाली व्यक्तित्व नं. : १०
एक समय थियो, नेपालमा शक्तिशाली राज्य कर्णालीकै सिँजा थियो । अनि खाद्यान्न र प्रतिभामा पनि कर्णाली आत्मनिर्भर थियो । तर जब नेपाल एकिकरण भयो, त्यसपछि कर्णालीको परिचय दुःख हेर्ने ठाउँका रुपमा फेरियो ।
नेपाल एकिकरणपछि राजा, राणा, प्रजातन्त्र र लोकतन्त्रसम्म पनि कर्णाली दुःख हेर्ने ठाउँकै रुपमा रह्यो । अनि यो दुःख हेर्ने ठाउँ सयौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाले भजाउनु भजाए । कतिले त्यसबाट डलर झारे । कतिले सहरबजारमा पक्की घर बनाए । तर कर्णाली जहाँको त्यही रह्यो ।
जब संघीयताले जरा हाल्यो । स्थानीयदेखि प्रदेश सरकारहरु बने । अनि स्थानीय प्रतिभाहरु पनि जुर्मराउन थाले । संघीयता एउटा यस्तो अवसर बन्यो, जसले काठमाडौँ बसेकाहरुलाई पनि कर्णाली फर्काएर नयाँ नयाँ काम गर्न प्रेरित ग¥यो ।
कर्णाली फिल्म फेस्टिभल एउटा त्यसमध्येको राम्रो र उदाहरणीय काम हो । अन्तर्राष्ट्रियस्तरकै फिल्म फेस्भिलका रुपमा सुरुवात गरिएपनि यसले कर्णालीको कला, क्षमता र अन्तर्राष्ट्रियस्तरको सम्भावनालाई उजागर गरेको छ ।
जसका संस्थापक हुन्, चक्रबहादुर चन्द । दैलेखमा जन्मेर, सुर्खेतमा पढेर, नेपालगञ्जमा स्थापित भएका चन्द पचिल्लो दुई दशकदेखि काठमाडौँमा चिनिएका थिए ।
सामाजिक अभियान र चलचित्र क्षेत्रमा सक्रिय उनले जब संघीयता फुल्न र फल्न थाल्यो, त्यसपछि काठमाडौँका कामलाई थाँती राखेर कर्णालीलाई उजागर गर्न सुर्खेत झरे । युवा अवस्थामा सुर्खेत क्याम्पस पढेकै ठाउँमा उनले एउटा यस्तो मैदान बनाएका छन्, जहाँ कर्णालीका हजारौ प्रतिभा फुल्न सक्छन् । लाखौँ राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिभाले कर्णालीको महिमा गाउन सक्छन् ।

कर्णालीको प्राकृतिक र सांस्कृतिक महत्व बेग्लै छ । नेपालमा खिचिएको मध्येको उत्कृष्ट फिल्म ‘क्याराभन’देखि पछिल्लो समयको चर्चित अन्तर्राष्ट्रिय फिल्म बनेको ‘साम्बला’सम्म कर्णालीकै माटो डोल्पामा खिचिएका हुन् ।
क्याराभानले नेपाली हिमालय र त्यहाँको जनजीवनको कथा पहिलोपटक अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेको थियो । जसले नेपालको पर्यटन र फिल्म क्षेत्रको प्रचारमा ठूलो योगदान गरेको थियो । पछिल्लो समय कर्णालीकै चर्चित निर्देशक मीन भाम निर्मित ‘साम्बाला’ले पनि कर्णालीको हिमालयन जनजीवन र संस्कृतिलाई अन्तर्राष्ट्रिय बजारमा पदार्पण गरिदियो ।
वर्षौ पहिले नै कर्णालीको अपार सम्भावना भएर पनि ओझेल परेको थियो, कर्णाली । फिल्म क्षेत्रमा त झन् नगन्य उपस्थिती थियो । त्यसमाथि काठमाडौँले त झन् कर्णाली दुःख हेर्ने ठाउँका रुपमा मात्रै प्रचार गरेको थियो । त्यसलाई कहिल्यै क्यानभास र क्यामेराले खिचेर देखाउन मिल्ने फिल्ममा देखाइएन ।
वर्षौअघि निर्माण भएका ‘बन्धकी’ र ‘बाटुली’मै कर्णालीमा खिचिएका चलचित्रको नाम थियो । जो सुर्खेतमै सुटिङ भएका थिए । पछिल्लो समय चर्चित र हिट फिल्म सिरिज ‘प्रेमगित–२’ रारा पुग्यो ।
जसले कर्णालीको लोकेसनसँगै रारातालको प्रचारमा भरपुर सहयोग गरिदियो । रेखा थापा निर्मित तथा निर्देशित ‘मालिका’ जाजरकोटमा पनि छायांकन भयो । प्रदीप खड्का स्टारर ‘प्रकाश’ फिल्म जुम्लामै छायांकन भयो । जसको पहिलो प्रिमियर पनि जुम्लामै भएको थियो ।
यस्तो धेरै फिल्म कर्णालीमा बने । कर्णालीमै खिचिए । कर्णालीकै कथा भनिए । तर पनि चलचित्र प्रदर्शनी, समीक्षा र सम्भावना खोज्ने मैदान तथा कार्यक्रम नभएका कारण त्यसको हिसाबकिताब काठमाडौँसँग खोज्न थालियो ।
जसले हिसाबकिताब त परै जाओस, कर्णालीको अपार सम्भावनालाई पनि आफू अनुकूल प्रचार गर्ने औजार मात्रै बनाइयो । जसकारण चलचित्र निर्मार्तादेखि निर्देशक र कलाकारसम्मको केन्द्रीय विषय स्वार्थ र नाफा मात्रै हुन थालेको वर्षौ भएको थियो ।
जब कर्णालीकै माटोमा जन्मिएर चलचित्र क्षेत्रलाई नजिकबाट चिनेका चक्रबहादुर चन्दले कर्णाली फिल्म फेस्तिभलको सुरुवात गरे, त्यसले कर्णालीको विगतभन्दा आगतलाई कैयाँै गुणामा सम्भावना देखाएका छन् । उनले काठमाडौँ र कर्णालीमा एकसाथ फेस्टिभल गरेर कर्णालीको कला र सिर्जनाको उजागर गरेका छन् । अनि चलचित्र विकास बोर्ड जस्ता केन्द्रीय चलचित्रका नेतृत्वकर्तालाई कर्णालीकै माटोमा राखेर यहाँको सम्भावना उजागर गरेका छन् ।
२०३४ सालमा दैलेखमा जन्मिएर झण्डै तीन दशकसम्म सुर्खेत, नेपालगञ्ज र काठमाडौँमा संघर्ष गरेका चन्दले कर्णाली फिल्म फेस्टिभलमार्फत कर्णालीमा चलचित्र सम्भावना मात्रै होइन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्रकर्मीका लागि एक भरपर्दो सारथी तथा समन्वयकर्ता पनि बनेका छन् ।
चलचित्र क्षेत्रअघि नेपालगञ्ज छँदा जापानीज संस्था काम गरेका उनले लामो समय काठमाडौँको बागमती सफाई अभियानमा जोडिएर अनुभव हासिल गरेका छन् । त्यसपछि उनले मेची महाकालीदेखि दैलेख र सुर्खेतकै विभिन्न क्षेत्रमा सफाई अभियान चलाएका थिए । त्यो अनुभवबाट खारिएर चलचत्रि क्षेत्रमा प्रवेश गरेपछि उनले कर्णाली फिल्म फेस्टिभलको स्थापना गरेका हुन् ।
जसले भर्खर बामे सर्दै गरेका बेला पनि कर्णालीमा थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र निर्माणका लागि भरपर्दो समन्वयकर्ताका रुपमा काम गरिरहेका छन् । अनि कर्णालीका धेरै प्रतिभाहरुलाई चलचित्रमा सजिलै भविष्य बनाउन पनि उनले महत्वपूर्ण भूमिका खेल्नेछन् । यसका लागि चलचित्र बोर्डका अध्यक्ष भुवन केसीदेखि अहिलेका सुपरस्टार प्रदीप खड्कालाई प्रमुख अतिथी बनाएर सुर्खेत, दैलेखदेखि मुगु रारातालसम्मको भ्रमण गराइसकेका छन् । यसको उपलब्धी तत्काल नदेखिएपनि भविष्यमा कर्णालीमा चलचित्र क्षेत्रको सम्भावना सकारात्मक बनाएको छ ।
यस वर्षको फेस्टिभलमा अभिनेता प्रदीप खड्का अभिनीत नयाँ नेपाली चलचित्र ‘२६ करोड’ कर्णालीमा छायांकन गरिने घोषणा गरिएको छ। चन्दसहितको टिमले निर्माण गर्न लागेको उक्त चलचित्रको अहिले कथा लेखनको कार्य भइरहेको छ। ‘प्रेमगीत २’ का लेखक तथा निर्देशक रामशरण पाठक लोकेशन अध्ययनका लागि जुम्ला र डोल्पा भ्रमणमा छन् ।
कर्णाली प्रदेश नेपाली चलचित्रका लागि एक प्रमुख गन्तव्य स्थल बन्दै गएको छ। यस क्षेत्रको प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधतालाई पर्दामा उतार्ने लक्ष्यसहित फेस्टिभलको मुख्य उद्देश्य कर्णालीलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने रहेको छ ।