नाम : सुरेन्द्र सुमन सिंह
पेशा : पत्रकार तथा युट्युवर
कर्णाली व्यक्तित्व नं : १९
एक समय थियो, नेपाल र कर्णालीलाई विश्वभर चिनाउने काम भूगोलशास्त्री टोनी हेगनले गरेका थिए । नेपालमा खानी तथा बहुमूल्य वस्तुको खोजीका लागि नेपाल खाएका उनले नेपाल घुमेको फोटो तथा भिडियो खिचेर प्रकाशित गर्दा संसारको ध्यान नेपालतिर तानिएको थियो ।
सयौँ वर्ष अगाडि टोनी हेगनले खिचेका केही तस्बिर र भिडियो कर्णालीतिरका पनि थिए । जसले गर्दा नेपाल तानिएको धेरैको ध्यान कर्णालीतिर पनि सोझियो । अनि केही अन्तर्राष्ट्रिय चर्चा पायो । तर अहिले समय फेरिएको छ । कुनै ठाउँ वा क्षेत्रको फोटो खिच्न विदेशी आइरहनु पर्दैन् ।
अनि विदेशीले खिचेका फोटो तथा भिडियोले मात्रै नेपाल चिनिएको छैन । अहिले जसको हातमा मोबाइल वा क्यामेरा छ, उसले राम्रो ढंग पुर्याएर फोटो र भिडियो खिचेको छ भने संसारलाई पनि देखाइरहेको छ । अर्थात संसारकै ध्यान खिचिरहेको छ । आफ्नै हातको मोबाइल र क्यामेराले कर्णालीकै फोटो र भिडियो खिचेर कर्णालीबाटै संसारलाई देखाइरहेका व्यवसायिक पत्रकार तथा युट्युबर हुन्, सुरेन्द्र सुमन सिंह ।
जाजरकोट स्थायी घर भएका सुरेन्द्र पेशाले पत्रकार हुन् । उनले झण्डै डेढ दशक सक्रिय पत्रकारिता गरेका छन् । जाजरकोटमा किशोर अवस्थादेखि रेडियोबाट पत्रकारिता सुरु गरेका उनले काठमाडौँको मूल धारमा टिकेर कान्तिपुरसम्मको यात्रा तय गरेका छन् ।
पत्रकारिताबाट केही नाम, केही दाम र तमाम परिचय बनाएका उनी नेपालमा पनि युट्युब ट्रेन्ड बढेपछि कर्णाली फर्केर डिजिटल यात्रा सुरु गरेका हुन् । जतिबेला कर्णाली हेर्न, खिच्न र कर्णालीको सोधखोज गर्न काठमाडौँ वा विदेशबाट आउने प्रचलन हावी थियो ।
तर सुरेन्द्र सुमनले जाजरकोटबाटै कर्णाली हेर्ने दृष्टिकोण बदलेर राखिदिए । उनले सुरुमा जाजरकोटकै राम्रा र रमाइला ठाउँका दृश्य खिचेर युट्युवमा राखे । जसलाई नेपाल तथा विदेशमा राम्रोसँग हेरियो । उनलाई प्रोत्साहन मिल्यो ।
त्यसपछि उनले सुन्दर पर्यटकीय क्षेत्रका फोटो तथा भिडियो पनि राखे । जसले झन् राम्रो भ्युज पायो । त्यसपछि जोशिएका उनले जाजरकोट आसपास र अन्य जिल्लाका पनि सुन्दर ठाउँहरुको भिडियो राख्न थाले । त्यसपछि भ्युज मात्रै होइन, युट्युबबाट पैँसा नै आउन थाल्यो ।
यसका लागि झण्डै तीन चार वर्ष बिताइसक्दा उनले सरकारी जागिर खाइसकेका थिए । सानैदेखि रुचिको क्षेत्र पत्रकारिता रोजेपनि उनले आर्थिक स्थायित्वका लागि सरकारी जागिर खानुपर्ने बाध्यतामा परेका थिए । तर मुख्य कुरो पैँसा र रुचिको क्षेत्र पनि घरमै बसी बसी गर्न पाइने भएपछि उनले कन्टेन्ट क्रियटर नै पेशा बनाए ।

जसकारण उनका सयौँ भिडियो आज नेपालभन्दा धेरै विदेशमा हेरिन्छ । अनि विदेशीबाटै उनले राम्रो प्रोत्साहन र प्रतिक्रिया पाइरहेका छन् । जहाँ उनले कर्णालीको परिचय फेरेका छन् । कर्णालीको दृश्य बदलेका छन् ।
कर्णालीलाई हेर्ने नेपाली र विदेशीको दृष्टिकोण नै फेरिदिने काम गरेका छन् । तर पनि उनी यसको प्रचार सामाजिक सञ्जालमा गर्दैनन् । सामाजिक सञ्जालको सबैभन्दा बलियो प्लेटफर्म बनेको युट्युबकारिता उनले फेसबुकबाट प्रचार गरेको देखिदैन । आक्कलझुक्कल फोटो बाहेक उनी फेसबुकमा खासै पोस्ट गर्दैनन् । तर उनका धेरैजसो भिडियोले भने युट्युवमा तहल्का मच्चाइरहेको देखिन्छ ।
व्यवसायिक रुपमै युट्युबर बनेका उनी अहिले धेरैजसो कर्णालीका युवाका लागि प्रेरणा बनिरहेका छन् । मूलधारकै पत्रकारिता छाडेर आफ्नै गाउँघर फर्केर पनि नमुनायोग्य डिजिटल पत्रकारितामार्फत कर्णालीका सुन्दर दृश्य संसारसामु देखाइरहेका उनी जति व्यवसायिक छन्, त्यो भन्दा धेरै उच्च नैतिकवान र प्राकृतिक छन् ।
उनी कसैको आलोचना र प्रशंसामा समय खर्च गरेको देखिदैनन् । राम्रोलाई राम्रो भन्न ढिलो नगर्ने उनी गलत कामलाई कहिल्यै पनि सही भन्न सक्दैनन् । सिधा कुरा गर्ने उनको स्वभाव जति स्पष्ट छ, त्यसले उनको व्यवसायिक जीवन त्यति नै उत्कृष्ट बनाएको छ ।