नाम : पुष्पा घर्ती
पेशा : राजनीति
पद : पहिलो उपसभामुख, कर्णाली प्रदेशसभा
कर्णाली व्यक्तित्व नं. : ११
परिवर्तन कति सजिलो छ ? धेरैलाई लाग्न सक्छ, यो सजिलो छ । तर धेरैलाई थाहा नहुन सक्छ, परिवर्तन जति सजिलो छ, त्यो ल्याउन र कार्यान्वयन गर्न संसारको सबैभन्दा जटिल काम हो ।
मानिसहरु आफ्नो बानी व्यहोरा त परिवर्तन गर्न हप्तौ वा महिनौ लगाएर पूरा अनुशासन पालना गर्न सक्दैनन् भने सामाजिक, आर्थिक वा राजनीतिक परिवर्तन कहाँ सजिलो हुन सक्छ र ?
तर जटिल ठानिएको काम वा परिवर्तन पनि कोही कसैले गर्छ । सुरुवात गर्छ । योजना बनाउँछ । ढिलै भएपनि कार्यान्वयन गर्छ । कोही कसैको सुरुवात वा योगदानले धेरै जीवनमा ठूलो परिवर्तन ल्याउँछ ।
भलै, त्यो व्यक्तिगत मात्रै हुँदैन । तर घरको चुलोचौकोबाट बन्दुकको नालमा टेकेर यो देशको राज्यव्यवस्था फेर्दै संघीय गणतन्त्र नेपालमा कर्णाली प्रदेशको पहिलो उपसभामुख बनेकी पुष्पा घर्ती परिवर्तनकी एक साहसी साक्षी हुन् ।
जसले बाल्यकाल घाँस दाउरा र चुलोचौकोमा बित्यो । किशोर अवस्थामा स्कुल गइन् । युवा उमेरमा तत्कालीन माओवादीको जनयुद्धमा हिँडिन् । युद्धकालमै जनमुक्ति सेनाका कमाण्डर नरबहादुर बिष्टसँग बिहे गरिन् । जो पहिलो संविधानसभा सदस्य हुन् र अहिले राष्ट्रियसभा सदस्य छन् ।
युद्धकाल, शान्तिवार्ता हुँदै संघीय गणतन्त्र आएपछि उनी कर्णाली प्रदेशको पहिलो उपसभामुख बनिन् । उनीसँगै क्रान्ति थालेका अरुले इतिहास रचे । सबैको आ–आफ्ने कथा छ । व्यथा छ । बेग्लै संघर्ष छ ।

तर एक गाउँबाट अवोध बालिका हुँदा उनले आजको इतिहास र उपलब्धीको एक साक्षी हुन्छु भन्ने सोचेकी थिइनन् । जब उनले त्यो सोचेकै थिइनन् । तब उनी परिवर्तनको आन्दोलनमा सरिक भएकी थिइन् ।
त्यो परिवर्तन मनमा सोचेर हुने थिएन । कसैसँग जोडिएर वा संगठन बनाएर पनि सम्भव थिएन । बन्दुकको नालबाट परिवर्तन ल्याउने त्यो बेलाको अभियान भनौँ वा सकंल्प । त्यसले आजको दिनमा नयाँ संविधान, संघीय व्यवस्था र गणतन्त्र मात्रै ल्याएको होइन ।
यसले महिलाहरुको अवस्था र अवसरका नयाँ ढोकाहरु सिर्जना गरेको हो । चुलो चौकामा सीमित राख्ने पुरुषप्रधान समाजको दासत्व अन्त्य भएको हो । महिलालाई ३३ प्रतिशत सुनिश्चित गरेर समान नभएपनि समावेशी बाध्यकारी व्यवस्थाको सुनिश्चित गरेको हो ।
उनले उठाएको बन्दुकको नाल, विद्रोहको आवाज र आगो ओकल्ने क्रान्ति कम्तीमा आज लाखाँै नेपाली र महिलाहरुका लागि उपयोगी बनेको छ । उनीहरुले आज कम्तीमा आफ्नो अधिकार आफैँले उपयोग गर्न पाएका छन् । सायद त्यही अधिकार पाएरै घर्ती कर्णाली प्रदेशसभाको पहिलो उपसभामुख बनेर इतिहास कोर्न सफल भएकी हुन् ।