नाम : रमा भण्डारी
पेशा : अभियान्ता
कर्णाली व्यक्तित्व नं. : १५
कसैले कुनै एउटा क्षेत्रमा कतिसम्म योगदान दिन सक्छ रु रहर भएसम्म रु आम्दानी भएसम्म ? राम्रो टिम वा योजना तथा कार्यक्रम भएसम्म ? वा लामो लक्ष्य र देश विदेशमा ख्यातीप्राप्त संघ संस्था भएसम्म वा सरकारी जागिर भएसम्म ?
सुर्खेतमा रमा भण्डारीका लागि यी सबै अपवाद हुन् । उनी बालबालिकाको क्षेत्रमा उनीहरुको हक अधिकार र सुरक्षित भविष्यका लागि आफ्नो शरीरमा एक थोपा रगत भएसम्म लडिरहने प्रणअनुसार अभियान्ता बनिरहेकी छन् ।
यो काममा उनको रहर जोडिएको छ । आस्था जोडिएको छ । अवस्था र आर्थिक पाटो पनि जोडिएको छ । तर सबैभन्दा ठूलो कुरा देशका कर्णधार भनिएका बालबालिकाको सुन्दर संसार बनाउने मनैदेखिको इच्छा र सपना जोडिएको छ ।
जसले आफ्नो जीवनको सबैभन्दा रहरलाग्दो उमेर पनि उनले बालबालिकाको हक, अधिकार र सुरक्षित भविष्यमा खर्चिएकी छन् । जसले उनलाई आफ्नो सिंगो जीवन नै बालबालिकाको क्षेत्रमा लगानी गरेको महसुस हुन सक्छ । तर यसमा उनलाई अलिकति पनि गुनासो छैन ।
सानैदेखि सामाजिक काममा सक्रिय भण्डारी नेपालमा द्वन्द्वकाल चर्किदा सबैभन्दा बढी मारमा परेका बालबालिकाको उद्धार, अधिकारको रक्षा र उनीहरुको भविष्यका बारेमा चिन्तित भएर लागेकी थिइन् ।

त्यसपछि निरन्तर उनी बालबालिकाको शिक्षा र अधिकारमा सक्रिय बनिन् । जसले उनलाई बालअधिकारको क्षेत्रमा चर्चित अभियान्ता त बनायो नै । साथै भविष्यका कर्णधारमाथिको लगानी राज्यबाट भन्दा सबैभन्दा पहिले आफैबाट हुनुपर्ने अडान र योजनासहित काममा लागिन् ।
यसले राज्यको ध्यान र उनीहरुको सुरक्षित भविष्यमा कति जिम्मेवार बनायो । त्यो समय र संविधानले देखाएकै छ । तर रमा भण्डारीहरुको चिन्ता र चिन्तन अझै बाँकी छ । अब उनीहरुको भविष्य मात्रै होइन, समय र परिस्थिती हेरेर समयमा उनीहरुको आधारभूत आवश्यकतासँगै सुनिश्चित भविष्यका लागि पनि हरेक नागरिकका छोराछोरीलाई राज्यले बराबरी लगानी गर्नुपर्छ भन्ने आवाजतर्फ पनि केन्द्रित भएको छ ।
जसले ढिलोचाँडो स्थान पाउँछ भन्ने विश्वास उनलाई छ । र, त्यही विश्वासले उनको यात्रा अगाडि बढाइरहेको छ । जसबाट राज्यको सबैभन्दा पछौटे व्यवहार भोगिरहेको कर्णालीका बालबालिकाले थोरै भएपनि राहत पाइरहेका छन् ।