नाम : पदम रोकाया
पद : अध्यक्ष, कर्णाली कलाकार समाज
कर्णाली व्यक्तित्व नं. : १६
भनिन्छ, संघर्ष र सफलताको शिखर चुम्न काठमाडौँ टेक्नैपर्छ । जो टेक्छ, उसले आकाशमा बादलमाथिको उडान भर्छ । अनि हिजोसम्म आफ्नो गाउँ तथा जिल्लामा चिनिएको प्रतिभा राष्ट्रिय चर्चाको विषय बन्छ । देशले चिन्छ । विदेशले चिन्छ । हिजोको दिनमा सानोबाट ठूलो मान्छे बन्न काठमाडौँको नाइट बस चढ्थे । अनि काठमाडौँ पुगेर संघर्ष गर्दै सफलता पाएपछि राष्ट्रिय पत्रिका, रेडियो, अनलाइन र टेलिभिजनका पर्दा र पेजमा ठूलो हेडलाइन बनेर चर्चित हुन्थे ।
तर अहिले समय फेरिएको छ । सामाजिक सञ्जाल फेसबूक, युुटयुब र टिकटकले गाउँ गाउँबाटै भाइरल भएर देश विदेशमा चिनिन्छन् । तर त्यसरी चिनिएका र भाइरल भएकाहरु पनि अन्ततः काठमाडौँकै यात्रा तय गरेर जीवनको नयाँ लक्ष्य हासिल गर्न लाग्छन् ।
तर यसरी समयक्रमसँगै काठमाडौँ पुगेका धेरै जना कलाकार त बन्छन् । तर आफ्नै गाउँठाउँबाट पाउनुपर्ने प्रोत्साहन पाउँदैनन् । अनि विस्तारै सफलताको भोकले जति धेरै पिरोल्छ, आफ्नै क्षेत्रका सर्जक तथा श्रष्टा र श्रद्धाको बेवास्ताले उपेक्षमा पर्छन् ।
तर काठमाडौँमा यस्ता धेरै कलाकार तथा सर्जकहरुको भीडमा एउटा यस्तो नाम छ, जसले कर्णालीबाट उठेर सिंगो देशभर रारा र कर्णाली जोड्ने काम गरिरहेको छ । जसको नाम हो, पदम रोकाया । कर्णाली कलाकार समाजका अध्यक्षसमते रहेका रोकाया गीतकार, संगीतकार र गायकसमेत हुन् । समग्रमा उनी एक यस्ता सर्जक हुन्, जसले कर्णालीलाई काठमाडौँसँग निरन्तर जोड्ने काम गीत संगीतमार्फत गरिरहँदा केन्द्रविन्दुमा रारा राखेका छन् । जसले कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा ताललाई काठमाडौँमा पर्याप्त मात्रामा प्रचार गर्न महत्वपूर्ण सहयोग गरेका छन् ।
जुम्लाको कनकासुन्दरी गाउँपालिका ७ रोकायावाडामा जन्मिएर काठमाडौँमा लामो समयदेखि संघर्ष गर्दै विस्तारै सफलता हासिल गरेका रोकायाले काठमाडौँमा कर्णाली, देशकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक रारा र कर्णालीकै कलाकारको सक्दो प्रोत्साहन र पुरस्कृत गर्ने काम गरिरहेका छन् ।
देशभरकै कलाकारलाई उनीहरुको क्षमता, प्रतिभा र प्रदर्शनका आधारमा पुरस्कृत गरिरहँदा देशकै प्रमुख सम्मानित व्यक्तित्व राष्ट्रपतिसम्मलाई रारा र कर्णालीसँग जोड्ने काम गरिरहेका छन् । पछिल्लोपटक उनले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै प्रमुख अतिथी बनाएर काठमाडाँैको राष्ट्रिय सभागृहमा रारा राष्ट्रिय म्युजिक अवार्ड कार्यक्रम गरेका थिए । जसले राष्ट्रिय व्यक्तित्वलाई मञ्चमा राखेर रारा तथा कर्णालीको प्रचार गर्न ठूलो योगदान गरेको छ ।
उनको वर्षौदेखिको संघर्ष र मेहनत राज्यको नजरमा कति परेको छ, त्यो त स्वयंम उनलाई पनि थाहा छैन, तर उनले सबैलाई संयोजन गरेर जसरी रारा, कर्णाली र कर्णालीका नागरिकलाई काठमाडौँमा जोडेर एकता कायम गरेका छन्, त्यो प्रशसंनीय मात्रै होइन, लाखौँमा निकै कम मानिसले गर्न सक्ने काम गरेका छन् ।
लामो समयदेखि गीत संगीतमा समर्पित उनी सर्जकका हिसाबले जति सिर्जनात्मक छन्, त्यत्तिकै कला र कलाकारलाई कर्णालीसँग जोड्न पनि क्रियाशील छन् । यसले इतिहासदेखि वर्तमान पुस्तासम्मका सबैलाई कर्णाली–काठमाडौँ र रारालाई जोड्न अमूल्य भूमिका खेलेको छ ।

उनले आफ्नै गाउँघरको ‘जुम्ला कालिकोट’ गीत बजारमा ल्याउँदा नेपाली लोक तथा दोहोरी गीतमा पाइला टेकेका थिए । आफ्नै शब्द रचना, संगीत र स्वर पनि दिएका उनले यसबाट कर्णालीको प्रचार गर्न योगदान दिएका छन् ।
यस्तै उनका ‘माया गर्ने जीवन साथी’, ‘तिमीदेखि टाढा’, ‘जिन्दगीमा तिमी थियौ’, ‘मेरो दिलको राजा’, ‘तिम्ले घृणा गरे पनि’, ‘मुटुभित्र, धोका दिने धोकेबाज’, ‘मेरी मायालु कर्णाली’ लगायत गीत पनि बजारमा चर्चित मानिन्छन् ।
युवा उमेरमै समाजमा उल्लेखनीय योगदान गरेका कारण उनी नेपाल सरकारको राष्ट्रिय पुरस्कार २०७५ द्वारा सम्मानित भइसकेका छन् । यस्तै म्युजिक खबर युवा प्रतिभा सम्मान २०७४, नेसनल पावर न्युज म्युजिक अवार्ड सन् २०१८, राष्ट्रिय संगीतकर्मी म्युजिक अवार्ड २०७५, रारा साहित्य प्रतिष्ठान स्रटा सम्मान २०७६ उनले जितेका सम्मान तथा पुरस्कार हुन् ।
१६ वर्षको उमेरदेखि गीत संगीत क्षेत्रमा सक्रिय उनी कर्णालीलाई निरन्तर काठमाडौँसँग जोडेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चित बनाउन आफ्नो क्षमताले भ्याएसम्म लागि परेका छन् ।